समाज र प्रकृतिमा उजागर भैनसकेका विषयहरूलाई म आफ्नो लेखनको विषय बनाउँछु ।

१८ माघ २०८२

जीवन र जगत् विशेष कुराकानी
डा. दामोदर पुडासैनी किशोर

वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर पिता हरिप्रसाद पुडासैनी र माता तुलसा पुडासैनीबाट काठमाडौंको जितपुर फेदीमा जन्म भएको हो । बाल उमेरदेखि नै सिर्जनशील डा.पुडासैनीका एघार कविता सङ्ग्रह, सात नियात्रा, एक दर्शन सङ्ग्रह र एक आर्थिक व्यवस्थापन विषयका गरी बीसवटा पुस्तकहरू प्रकाशित भैसकेका छन् । उहाँका कयौं कृतिहरू प्रकाशनको क्रममा पनि रहेका छन् । डा.दामोदर पुडासैनी लेखापरीक्षण (अडिटिङ) विषयमा विद्यावारिधि (पीएच.डी) पूरा गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ । त्यसबाहेक उहाँले व्यवस्थापन सङ्काय अन्तर्गत एम.बी.ए. र एम.पी.ए. गरी दुई विषयमा मास्टर डिग्री र कानुन सङ्काय अन्तर्गत एल.एल.बी. पनि पूरा गर्नु भएको छ । डा.दामोदर पुडासैनीले सरकारी सेवालाई नै आफ्‌नो पेशाका रूपमा स्वीकार्नुभयो । झण्डै चवालीस वर्ष सरकारी सेवा गरी देश र जनताको हितमा काम गर्नुभएको डा. पुडासैनीले नेपाल सरकारको उच्च तह नायव महालेखापरीक्षक पदमा रहेर पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा निकै ख्याति कमाउनुभयो । उहाँले तीन वर्ष त्रिभुवन विश्वविद्यालयको आर्थिक व्यवस्थापन विज्ञको रूपमा काम गरी ठूलो सुधार गर्नुभयो । उहाँलाई निर्भिक प्रशासक, निष्ठावान् आर्थिक व्यवस्थापक र चाकडी, चाप्लुसीभन्दा टाढै रहने कर्मचारीको रूपमा सबैले चिन्दछन् । नेपालका सतहत्तर जिल्ला र विश्वका अमेरिका, बेलायत, रूस, जापान, फ्रान्स, इजिप्ट, बेल्जियम, जर्मनी, दि नेदरल्याण्डस, स्वीटजरल्याण्ड, साउदी अरेबिया, जोर्डन, कतार, युनाइटेड अरब इमिरेट्स्, थाइल्याण्ड, पाकिस्तान, श्रीलङ्का, म्यान्मार, भारत, बङ्गलादेश, चीन, सिंगापुर, मलेशिया, ओमान, नर्वे, उत्तर कोरिया, साइप्रस, इजरायल लगायत ५२ भन्दा बढी देशको भ्रमण गरेर उहाँले अनेकौं कृतिहरू प्रकाशित गर्नुभएको छ । दुई दर्जनभन्दा बढी संघसंस्थामा संरक्षक, सल्लाहकार र अन्य पदाधिकारीको रूपमा क्रियाशील डा.पुडासैनीले स्वदेश तथा विदेशबाट चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । विभिन्न विश्वविध्यालयका झण्डै दुई दर्जन छात्र छात्राले उहाँका कृतिहरूमा केन्द्रित भएर शोध पूरा गरेका छन् । उहाँले लेख्नुभएका कृतिहरू नेपालका विभिन्न विद्यालय तथा विश्वविद्यालय अन्तर्गतका निकायहरूको पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउँदै आएको पाइन्छ । उहाँलाई ‘सिर्जनाका उच्च टाकुरा’ सम्मानसहित सम्मानित पनि गरिएको छ । यिनै विद्वान व्यक्तित्व डा.दामोदर पुडासैनीसँग जीवन र जगत् सम्बन्धमा ज्योतिकुञ्ज एकेडेमी, छहरे, थानसिङ, नुवाकोटका छात्राहरू सलिना श्रेष्ठ (कक्षा : ८), कुसुम बस्याल (कक्षा : १०) र साधना डंगोल (कक्षा : १०) ले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

१. नाम ?
उत्तर : डा. दामोदर पुडासैनी किशोर’ ।

२. जन्म ?
उत्तर : जन्म भनेको संसारमा प्रवेश हुनु हो । मेरो जन्म विक्रम संवत् २०१९ साल जेठ १८ गते विहीबार भएको थियो ।

३. स्थान ? जन्मदाको साइतको प्रभाव जिन्दगीमा कस्तो परेको छ जस्तो लाग्छ ?
उत्तर : मेरो जन्मस्थान तत्कालीन जितपुर फेदी गाउँ पञ्चायत वार्ड नं.२ गहिरी गाउँ हो । हाल यो काठमाडौं जिल्लाको तारकेश्वर नगर पालिका वडा नं. ३ मा पर्दछ । जन्मनुमा साइतभन्दा पनि संयोगको महत्वपूर्ण भूमिका हुन्छ । प्रकृतिमा घटिरहने अनेकौं घटनाक्रमको सुमधुर र महत्वपूर्ण संयोगले जन्म हुन्छ । जन्मनु आफैमा एउरा महत्वपूर्ण संयोग हो । यही संयोगको असर जीवनमा महत्वपूर्ण हिस्साको रूपमा अघि बढिरहन्छ । त्यस बाहेक अरू बाह्य र आन्तरिक वातावरणले पनि असर गर्दछ नै ।

४. हालको बसाइ ?
उत्तर : हाल म टोखा नगरपालिका वडा नं.९ ग्वङ्गःबुँ, नयाँ बसपार्कमा बस्दछु ।

५. आमा/बुबा ? कस्तो रहयो उहाँहरूको हेरचाह, पालनपोषण ?
उत्तर : आमा तुलसा पुडासैनी र बुबा हरिप्रसाद पुडासैनीको कान्छो छोराको रूपमा मेरो जन्म भएको थियो । उहाँहरू दुवै कृषि पेशामा आवद्ध हुनुहुन्थ्यो । आम कृषकहरूले झैँ उहाँहरूले पनि मलाई हेरचाह र पालनपोषण गर्नुभयो ।

६. जहानको परिचय ? कस्तो रहयो उहाँको साथ सहयोग ?
उत्तर : पार्वती पुडासैनी मेरी पत्नी हुन् । उनको साथ र सहयोगकै कारण मेरो जीवन निरन्तर कुशलता पूर्वक अघिबढ्न सकेको छ ।

७. छोरा/छोरी कति के गर्दैछन् उनीहरू ?
उत्तर : प्रवेश पुडासैनी छोरा र प्रसून पुडासैनी छोरी गरी दुई छोराछोरी छन् हाम्रा । छोरा प्रवेश अमेरिकाको प्रसिद्ध कम्पनी फेडेक्समा मेनेजरको रूपमा कार्यरत छन् । बुहारी सुरुची पनि अमेरिकाकै हस्पिटलमा व्यवस्थापकको रूपमा कार्यरत छिन् । छोरी डा.प्रसून पुडासैनी र ज्वाइँ डा.विमन्सु प्याकुरेल अमेरिकाको मेलवाकी रिजनल हस्पिटलमा फिजिसियन/कन्सल्टेण्ट डक्टरको रूपमा कार्यरत छन् ।

८. शिक्षा ?
उत्तर : म लेखापरीक्षण विषयमा विद्यावारिधि (पीएच.डी.) पूरा गर्ने पहिलो नेपाली हुँ । त्यसअघि मैले व्यवस्थापन सङ्काय अन्तर्गत एम.बी.ए. र एम.पी.ए. गरी दुई विषममा मास्टर डिग्री पूरा गरेको छु । कानुन विषयमा एल.एल.बी. पनि मैले पूरा गरेको छु ।

९. पेशा ?
उत्तर : मैले जीवनको महत्वपूर्ण कालखण्ड सरकारी जागिरेको रूपमा बिताएँ । लोकसेवा आयोगकै परीक्षाहरू पास गरेर म नेपाल सरकारको उच्च तह– नायव महालेखा परीक्षक पदमा कार्य गरेपछि सेना निवृत्त भएको हुँ ।

१०. रुचि ?
उत्तर :
साहित्य सिर्जना गर्ने, साहित्यिक कृतिहरू अध्ययन गर्ने, विचार विमर्श गर्ने र नयाँ नयाँ ठाउँको भ्रमण गर्ने र नयाँ मान्छेहरूसँग भेटघाट गरेर उनीहरूको जीवनवृत्त खोतल्ने कार्यमा मेरो रुचि छ ।

११. वाल्यकालको स्वभाव कस्तो थियो ? बाल्यकाल सुख, दुःख कसरी वित्यो ?
उत्तर :
वाल्यकालमा म एकदम अन्तर्मुखी स्वभावको थिएँ । अरूसँग अनावश्यक छलफल, वादविवाद पटक्कै गर्दिनथेँ । आवश्यक मात्राभन्दा बढी कसैसँग बोल्दिनथेँ ं। सबैसँग मिल्थेँ । एक्लै बस्ने र लेखपढ गर्ने स्वभाव थियो । बाल्यकाल सुख भनेर असाध्यै सुख पनि होइन, दुःख भनेर असाध्यै दुःख पनि होइन मध्यम ढङ्गमा बित्यो ।

प्रश्न १२. युवा उमेरको सोच कस्तो रहयो ? युवा उमेरमा सुख दुःख, संघर्ष कतिको गर्नु पन्यो ?
उत्तर :
मैले जहिले पनि मिहिनेत गरेर केही नयाँ काम गर्नुपर्छ भन्ने सोच राख्दै आएको छु । युवा उमेरमा पनि म संघर्षबाट सफलता पाउन चाहने व्यक्तिको रूपमा अघि बढेँ । युवा उमेरमा जागिर खाने, शैक्षिक विकासमा अघि बढ्ने र घरायसी काम एवं कृषिकर्ममा समेत लागेको हुनाले संघर्र्ष निकै गर्नुपर्‍यो । तर, त्यसले सफलताको मार्गमा हिंड्न सजिलो पनि गरायो ।

१३. वयस्क उमेरको व्यवहारमा के परिवर्तन आयो ?
उत्तर :
जुनसुकै उमेरमा पनि मैले संघर्षलाई प्राथमिकता दिइरहेँ । युवाबाट वयस्क उमेरमा पुग्दा मैले विश्वका अनेकौं दार्शनिकहरूका दर्शनका कृतिहरू अध्ययन गरें । त्यसले मलाई जीवनका हरेक पक्षलाई दार्शनिक कोणबाट नियाल्ने र कृतिहरूको रचना गर्दा दार्शनिक पक्ष सबल बनाउँने क्षमता प्राप्त भयो ।

१४. अहिले के गर्दै हुनुहुन्छ ? दिनहरू कसरी वितेका छन् ?
उत्तर :
साहित्यिक कृतिहरू लेख्ने र स्वदेशी एवं विदेशी लेखकहरूका पुस्तकहरू अध्ययन गर्ने कार्यमा मेरा अहिलेका दिनहरू वितिरहेछन् ।

१५. साहित्यिक लेखन कहिलेदेखि शुरु गर्नुभयो ?
उत्तर :
सात वर्षको उमेरदेखिनै मैले कविता लेख्न थालिसकेको थिएँ ।

१६. पहिलो रचना के थियो ?
उत्तर :
मेरो पहिलो रचना ‘वसन्त’ शीर्षकको कविता थियो ।

१७. पहिलो कृति के थियो ?
उत्तर :
मेरो पहिलो कृति ‘आफन्तका अनुहारहरू’ शीर्षकको कविता सङ्ग्रह हो । यो कृति तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट वि.सं.२०४८ सालमा प्रकाशित भएको थियो ।

१८. लेखनका विषयहरू कसरी छनौट गर्नुहुन्छ ?
उत्तर :
समाज र प्रकृतिमा चलिरहेका तर उजागर भैनसकेका विषयहरूलाई म आफ्नो लेखनका विषय बनाउँन चाहन्छु ।

१९. तपाईको लेख्ने समय कुन हो ?
उत्तर :
खासै यही भन्ने छैन । फुर्सद पाउनासाथ र लेख्नको लागि मन उत्सुक हुनासाथ म केही न केही लेख्ने गर्दछु ।

२०. लेखनलाई कस्ता कुराले सुन्दर बनाउँछ ?
उत्तर :
जुनसुकै विधामा लेखे पनि मान्छेको मन तान्नसक्ने नयाँ शैली र पाठकले थाहा नपाएका नवीन विषय समावेश गर्न सकियो भन्ने लेखन सुन्दर बन्दछ ।

२१. अहिले के लेख्दै हुनुहुन्छ ?
उत्तर :
अहिले भर्खरै मैले ‘मनालाप’ विधाको एउटा कृति लेखिसकेँ । यो नेपालको लागि अलि नयाँ विधा पनि हो । त्यसबाहेक केही कविता सङ्ग्रहहरू र केही नियात्रा सङ्ग्रहहरू पूरा गर्ने क्रममा छु ।

२२. साहित्य किन लेख्नु पर्छ ?
उत्तर :
समाज र प्रकृतिमा लुकेका घटना, परिघटना र तिनका असर उजागर गर्न साहित्य लेख्नुपर्दछ । साहित्य लेख्नु भनेको समाजलाई सौन्दर्यतिर मोड्ने आफ्नो दायित्व पूरा गर्नु पनि हो ।

२३. साहित्यले व्यक्ति र समाजलाई दिने कुरा के हो ?
उत्तर :
संसार परिवर्तनशील छ, समाज परिवर्तनशील छ । राम्रो साहित्यले व्यक्ति र समाजलाई प्रकृति, जीव, वनस्पति र मान्छेका बारेमा सही ज्ञान दिएर उचित ढङ्गले परिवर्तनशील बाटोमा अघिबढ्न मद्दत पुर्‍याउँछ ।

२४. अबको साहित्यिक योजना के छ ?
उत्तर :
साहित्य सिर्जनामा निरन्तर लागिरहने मेरो प्रण छ । प्रकाशनका क्रममा रहेका केही कृतिहरू प्रकाशित गर्दै जाने र निकट भविष्यमै एउरा उपन्यास र केही नियात्रा कृतिहरू लेख्ने मेरो योजना छ ।

२५. आफ्नो आफैलाई बढी मन परेको कृति कुन हो ?
उत्तर :
मेरा हरेक कृतिहरू जन्माउँदा मैले फरक फरक विशेषतायुक्त बनाउँने प्रयास गरेको छु । त्यसै भएर कुनै एउटा भन्दापनि आफ्ना सबै कृतिहरू मन पर्दछन् मलाई ।

२६. घरको काम कत्तिको गर्नुहुन्छ ?
उत्तर :
म घरको काम गर्न रमाउँछु । म फुर्सद मिल्ने बित्तिकै घर सरसफाई, घर व्यवस्थापन, बगैँचामा व्यस्थापन र भान्छामा काम गर्न रुचाउँछु ।

२७. जाँगर लाग्ने काम कुन हो ?
उत्तर :
समयको सान्दर्भिकता र कामको महत्व हेरेर काममा हात हाल्न जाँगर चल्दछ । परिस्थिति अनुसार काममा जाँगर लाग्ने हो, यो र ऊ भन्ने छैन । समाज र प्रकृति विरुद्धको काम गर्न भने मनाई जाँगर लाग्दैन ।

२८. कस्तो काम गर्न अल्छी लाग्दछ ?
उत्तर :
समाजको अहित हुने, विज्ञानको उपलब्धी विरुद्धका र अन्धविश्वासले ढाकिएका काम गर्न अल्छी लाग्दछ ।

२९. खाना के मीठो लाग्दछ ?
उत्तर :
साधारण दाल, भात, तरकारी मीठो लाग्दछ । हिँडो, रोटी, दही, दूध पनि मन पर्दछ । खानामा यही मात्र मीठो भन्ने छैन ।

३०. लाउन कस्तो मन पर्छ ? मनले चाहेजस्तो खान, लाउन नपाएको कुनै क्षण छ ?
उत्तर :
पोशाकमा पनि मलाई त्यति धेरै चासो छैन । सफा र शरीर सुहाउँदो पोशाक पहिरन मन लाग्दछ । जीवनका कुनै कुनै क्षणमा आप्‌mना चाहना अनुसार खान, लाउन नपाएको पनि थियो । त्यस्तो क्षणमा चाहनालाई नै खुम्च्याइयो । क्षमता र इच्छाबीचमा सामञ्जस्यता कायम गरियो ।

३१. घुम्न कस्तो ठाउँ मन पर्छ ? कतिको घुमफिर गर्नुहुन्छ ?
उत्तर :
आफू नपुगेको जस्तो सुकै ठाउँमा घुम्न मन पर्छ । पहिले पुगिसकेका तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण एवं भौतिक विकासले भरिपूर्ण ठाउँहरूको पनि भ्रमण गर्न मन पर्दछ । मेरा केही महत्वपूर्ण सोख मध्ये घुमफिर पनि एक हो । म नियात्राकार भएकोले स्वदेशका हिमाली, पहाडी र तराईका विभिन्न भागहरू र विदेशका धेरै देशहरू घुम्ने रुचि छ र घुम्दै आएको पनि छु ।

३२. साथी – सङगीहरू कस्ता मन पर्छन् ? कतिको भेटघाट, सरसङ्गत गरिन्छ ?
उत्तर :
निस्वार्थी, सहयोगी र मिलनसार साथी– सङ्गीहरू मन पर्छन् । जीवनमा सङ्गत धेरैसँग भयो तर साथी थोरै छन् । भएका साथीहरूसँग बेला बेलामा भेटघाट र सम्पर्क हुन्छ ।

३३. सारमा मान्छेको जीवन के रहेछ ? जीवनप्रति सन्तोष के मा ?
उत्तर :
जीवन भनेको गतिशीलताको प्रमाण हो । जीवन भनेको ज्युँदो हुनुको प्रमाण पनि हो । जीवन भएर नै संसारसँग सम्बन्ध पनि छ । यो जीवन पाउँनु एउटा ठूलो उपलब्धी हो मान्छेको । संसार बुझ्न, संसारसँग सम्बन्ध स्थापित गर्न र संसार र जीवनको आनन्द लिन पाउँनुको मूख्य कारण नै यही जीवन भएर नै त हो नि !

३४. यो जगत्‌लाई कसरी बुझ्नु भएको छ ?
उत्तर :
प्रकृतिको एउटा विशेष परिस्थितिबाट यो जगत् निर्माण भएको छ । सूर्य, चन्द्र, पृथ्वी, तारा सबै प्रकृतिको एउटा विशेष परिस्थितिबाट निर्माण भएका हुन् । मान्छे पनि प्रकृतिकै एउरा विशेष परिस्थितिले उत्पत्ति भएको हो ।

३५, जन्म के रहेछ ?
उत्तर :
एउटा संयोग हो जन्म । कसैले चाहेर मात्र कसैको जन्म हुँदैन । कसैको इच्छा अनुसार आफ्ना बाबुआमा पाएको होइन । कसैको इच्छाले मात्र छोराछोरी जन्मेको पनि होइन । यो त केवल प्राकृतिक संयोग मात्र हो ।

३६. मृत्यु के हो ?
उत्तर :
जीवनको अन्त्य मृत्यु हो । मृत्यु, सम्पूर्ण जीवनको ठूलो दुर्घटना पनि हो । मृत्यु भइसकेपछि जीवन छैन । जीवन अपरिहार्य छैन, मृत्यु अवश्यम्भावी छ ।

३७. लक्ष्य कस्तो राख्नुपर्छ ?
उत्तर :
कुनै विन्दुमा पुग्न पूर्वानुमान र कार्य योजनासहितको कोशेढुङ्गाको निर्धारण नै लक्ष्य हो । जीवन र जगत्‌लाई अझ उज्यालो, समृद्ध, स्वस्थ बनाउँने ढङ्गको लक्ष्य राख्नुपर्दछ ।

३८. प्रेम के हो ? असल प्रेम कसरी गर्नुपर्दछ ?
उत्तर :
प्रेम एक अर्काप्रति आकर्षण हो । प्रेममा ’प्रेम’ बाहेक अरू स्वार्थ भएन भने त्यो असल प्रेम हुन्छ ।

३९. दुःख के रहेछ ? दुःखबाट कसरी छुटकारा पाउँन सकिन्छ ?
उत्तर :
अभाव, असन्तोष, अतृप्तिका कारण सिर्जना हुने पीडा नै दुःख हो । मान्छेका इच्छा–आकाङ्क्षाको पूर्तिले दुःख हट्न सक्छ । तर, बढ्दो महत्वाकाङ्क्षाले पनि कहिलेकाहीँ दुःख सिर्जना गर्दछ ।

४०. सुख भनेको के हो ? जीवनमा कसरी सुख पाउँन सकिन्छ ?
उत्तर :
सुख भनेको सन्तोष हो । समृद्धिले सन्तोष बढाउँछ । तर, सन्तोष मान्न सकिएन भने जतिसुकै समृृद्धिले पनि सुख दिन सक्तैन ।

४१. हाँसोलाई कसरी बुझ्नुहुन्छ ? सुख दुःखमा कत्तिको हाँस्नुहुन्छ ?
उत्तर :
खुसी, आनन्द, हल्कापन वा मनोरञ्जनको अनुभूति व्यक्त गर्ने मानवीय प्रतिकृया नै हाँसो हो । हाँसो कहिलेकाहींँ संसारसँग विद्रोह व्यक्त गर्न पनि प्रयोग गरिन्छ । जीवनका सुख दुःखमा हाँसो नजिक राख्नुपर्छ भन्ने पक्षमा म छु ।

४२. खुशी के हो र खुशी कसरी प्राप्त हुन्छ ?
उत्तर :
जीवनलाई स्वीकार गरेको शान्त अवस्था खुशी हो । चाहना अनुसारको प्राप्तिले खुशी प्राप्त हुन सक्छ । केही कुरालाई स्वीकार गर्नु, आप्‌mना उपलब्धीलाई मान्नु, सम्बन्धले सुमधुर अवस्था ल्याउँनुले खुशी प्राप्त हुन्छ । मनको अवस्थाले नै खुशी निम्त्याउँछ ।

४३. रुवाइलाई कसरी लिनुहुन्छ ? जीवनमा कत्तिको रुनु परेको छ ?
उत्तर :
जीवन भनेकै सुख दुःख भएकाले मान्छे पीडामा या खुशीमा स्वभाविक रूपमा रुन्छ नै । साह्रै पीडा हुँदा वा बेस्सरी खुशी हुँदा पटक पटक रोएको छु ।

प्रश्न ४४. विश्वास भनेको के हो ? कस्तालाई कसरी विश्वास गर्ने ?
उत्तर :
विश्वास भनेको आफूलाई पूरा जानकारी नभए पनि पटक पटक देखिएको सत्य र अनुभूतिमा आधारित भरोसा हो । सबैलाई विश्वास गर्न सकिँदैन । जसको काम र बोली मिन्छ, जसले कठिन समयमा पनि साथ छोड्दैन, जसले असहज भएपनि सत्य बोल्छ, जसले मेरो डर, कमजोरी र मौनतालाई सम्मान गर्छ, जसले मौका मिल्दा पनि गलत बाटो लिँदैन, त्यस्तालाई विश्वास गर्नु उपयुक्त हुन्छ ।

४५. डर के हो ? के कुरामा बढी डर लाग्छ ?
उत्तर :
सम्भावित खतरा, हानि वा अनिश्चितताप्रति मन र शरीरको स्वभाविक प्रकृया नै डर हो । सत्य त्याग्नेहरू, नैतिक पतन भएकाहरू, विवेक नभएकाहरू, सिर्जनशीलताका विरुद्ध चल्नेहरूसँग मलाई डर लाग्छ ।

४६. समय के हो ? समयलाई कसरी बुझ्ने ?
उत्तर :
समय निरन्तर प्रवाह हो । यो क्षण क्षणको उत्पत्ति र नाश पनि हो । गति र परिवर्तनको मापन पनि हो समय । विगत सम्झना हो, भविष्य कल्पना हो, वर्तमान वास्तविक हो भनेर समयलाई बुक्न सकिन्छ ।

४७. सम्पति के हो ? जीवनमा धन सम्पत्ति किन चाहिन्छ ?
उत्तर :
मान्छेले श्रम, सीप, समय र बुद्धिबाट सङ्कलन गरेको भौतिक वा अभौतिक साधन नै संपत्ति हो । जीवनका आधारभूत आवश्यकता पूरा गर्न, स्वतन्त्रता र मर्यादाको लागि, शिक्षा, सिर्जना, सेवा र दान जस्ता क्षेत्रमा सम्भावना सिर्जना गर्न, परिवार, सन्तान र समाजको जिम्मेवारी पूरा गर्न सम्पतिको आवश्यकता पर्दछ ।

४८. तपाईको बलियो पक्ष के हो ?
उत्तर :
म आफू, परिवार, समाज र देशप्रति इमानदार छु । कसैसँग नाजायज फाइदा लिने मेरो बानी छैन । जीवनमा आइपर्ने हरेक सङ्कटहरूलाई पार गर्न संघर्ष गर्ने क्षमता म जुटाउँछु । मानव मात्रको हीत हुने कार्यमा सधैं म डटेर खट्छु । मेरा बलिया पक्षहरू यिनै हुन् ।

४९. कमजोर पक्ष चाहिँ के हो ?
उत्तर :
कहिलेकाहीँ मीठो बोलेर मेरो विश्वास लिएर कसै कसैले ठग्छन् । सामान्य रूपमै कसैको विश्वास गर्नु मेरो कमजोर पक्ष हो ।

५०. जीवनका गुनासाहरू के छन् ?
उत्तर :
जीवनलाई मैले उत्सवको रूपमा लिएको छु । त्यसैले कुनै गुनासाहरू छैनन् ।

५१. समग्रमा आजसम्म तपाईको जीवन कस्तो रहयो ?
उत्तर :
अनेकौँ संघर्ष, कयौँ हण्डर, कयौँ दुःख, कयौँ पीडा खपेर यहाँसम्म आइपुगेको छु । अहिले लाग्छ– ती सबै अप्ठ्याराहरूले मेरो जीवन सुन्दर र सफा बनाउँन मद्दत गरे ।

५२. आफ्नै बारे भन्नुपर्दा, राम्रो/नराम्रो, असल/खराब, सहयोगी/असहयोगी कस्तो हुनुहुन्छ ?
उत्तर :
म सबैसँग इमान्दारपूर्वक व्यवहार गर्छु त्यसैले इमान्दार छु । त्यसैले म असल मान्छे हुँ जस्तो लाग्दछ । म सकेसम्म सबैलाई सहयोग गर्दछु, कसैलाई पनि अहित हुने काम नगरूँ जस्तो लाग्छ ।

५३. गीत के हो ? गाउँन आउँछ ?
उत्तर :
लय, शब्द र सङ्गीतको संयोजनमा व्यक्त गरिएको भावना, अनुभूति र विचारलाई गीत भनिन्छ । गीत मनको भाषा हो । शब्द, लय, सङ्गीत र स्वर गीतका मुख्य तत्व हुन् । प्रेम, पीडा, खुशी, विछोड, विद्रोह र आशामा भावनालाई शब्दले धान्न नसकेपछि गीत जन्मिन्छ । गीत हृदयले संझिएको जीवन पनि हो । म सिद्धहस्त गायक त होइन, तर बेला बेलामा गाउँने गर्दछु ।

५४. सङ्गीत के हो ? बाजाहरू बजाउँन आउँछ ?
उत्तर :
ध्वनि र मौनताको अनुशासित सौन्दर्य नै सङ्गीत हो । यसले मन, शरीर र चेतनालाई छुन्छ । सङ्गीतमा ध्वनि हुन्छ, लय हुन्छ र भावना चिन्ने राग वा स्वर हुन्छ । मलाई निकै कम बाजाहरू मात्र बजाउने ज्ञान छ ।

५५, नृत्य के हो ? नाच्न कतिको आउँछ ?
उत्तर :
मान्छेका शरीरका चाल, भावभङ्गी र लयात्मक गतिहरूलाई सङ्गीत वा तालसँग मिलाएर अभिव्यक्त गर्ने कलात्मक भाषा नृत्य हो । शब्दले नबोलेरै शरीरले भावना, कथा, संस्कार र सौन्दर्य अभिव्यक्त गर्ने माध्यम नै नृत्य हो । म प्रायः नाच्न रुचाउँछु ।

५६. जीवनमा खेलकुद, व्यायाम किन आवश्यक छ ?
उत्तर :
शारीरिक र मानसिक स्वस्थता र समृद्ध अवस्थाको लागि जीवनमा खेलकुद र व्यायाम आवश्यक छ ।

५७. जात्रामात्रा, मेलापर्व कतिको जान हुन्छ ? के यी कुरा जीवनमा आवश्यक छन् ?
उत्तर :
समय र परिस्थिति मिल्यो भने म जात्रामात्रा र मेलापर्वमा जान्छु । मनोरञ्जनको लागि मात्र नभै कला र संस्कृति बुभ्‌mन पनि त्यस्ता ठाउँमा जान जरुरी छ ।

५८. धर्म के हो ? व्रत किन बस्ने ? पूजा किन गर्ने ? व्रत बस्ने, पूजाआजा कत्तिको गर्नुहुन्छ ?
उत्तर :
धर्म भनेको मान्छेले आफू, समाज र संसारसँग सन्तुलनमा बस्न अपनाउने, नैतिक, आत्मिक र व्यवहारिक मार्ग हो । धर्म भनेको जीवन यापन गर्दा अपनाउने एक किसिमको नियम हो । व्रत भनेको कसैलाई खुशी पार्न भोकभोकै बस्नु मात्र होइन, शरीरलाई अनुशासित र मनलाई शुद्ध बनाउँन निश्चित समय खाना नखाई बस्ने अभ्यास हो ।
पूजा भनेको कसैप्रति समर्पित भएर कृतज्ञता, एकाग्रता र विनम्रता प्रस्तुत गर्नु हो । म सानो उमेरमा व्रत बस्थेँ, पूजाआजा पनि गर्थें । अचेल त्यो क्रम हटेको छ ।

५९. समाजप्रति के कुरामा खुशी र के कुरामा दुःखी ?
उत्तर :
समाज छ र त हरेक मान्छे खुशीसाथं अघिबढ्न पाएको छ । समाजभित्र कसैकसैले बेइमानी र वदनियतपूर्वक काम गर्दा भने दुःख लाग्छ ।

६०. देशको राजनीतिप्रति के कुरामा प्रशंसा र के कुरामा घृणा छ ?
उत्तर :
देशलाई व्यवस्थित ढङ्गले अघिबढाउँन संविधान, ऐन, कानुन निर्माण भएका छन् त्यो खुशी लाग्छ । तर, त्यस्ता ऐन, कानुन विपरीत कयौं नेताहरूले व्यक्तिगत स्वार्थमा कार्य गरेको देख्दा भने घृणा लाग्छ ।

६१. जीवनमा राम्रो काम के गरेँ जस्तो लाग्छ ?
उत्तर :
जीवनमा सधैं इमान्दार र निष्ठापूर्वक अघिबढ्ने प्रयास गरेँ । यो नै राम्रो काम गरेँ जस्तो लाग्छ ।

६२. मैले यो काम नगर्नुपर्थ्यो, त्यो गरेँ, भन्ने कुनै काम छ ?
उत्तर :
त्यस्तो कुनै काम छैन । मैले केही नराम्रो काम गरेँ जस्तो लाग्दैन ।

६३. समाजलाई के दिएँ जस्तो लाग्छ ?
उत्तर :
सबै भन्दा ठूलो कुरा म सधैं समाजमा इमान्दार, संघर्षशील र आत्मविश्वासका साथ अघिबढें । सरकारी सेवा, समाज सेवा, साहित्य सिर्जना जस्ता माध्यमबाट मैले समाजलाई महत्वपूर्ण योगदान गरेँ जस्तो लाग्दछ ।

६४. समाजबाट मैले के पाएँ भन्ने ठान्नुहुन्छ ?
उत्तर :
समाजले मलाई सधैं माया र इज्जत दिएको छ । यो नै जीवनको ठूलो उपलब्धी हो ।

६५. जीवनले के कुरा गुमायो जस्तो लाग्छ ?
उत्तर :
मलाई जीवनप्रति त्यस्तो कुनै गुनासो छैन । मेरो मतलव जीवनबाट मैले धेरै कुरा पाएको छु, केही पनि गुमाएको छु जस्तो लाग्दैन ।

६६. आजसम्म जीवनलो कमाएको कुरा के हो ?
उत्तर :
जीवन निर्वाहको लागि आवश्यक सबै न्यूनतम स्रोत, साधन सबै उपलब्ध छन् । समाज, देश र बाह्य राष्ट्रबाट इज्जत र सम्मान पाइरहेको छु । यो नै जीवनको उपलब्धी हो ।

६७. समाज करतो बन्नुपर्छ ? कुनै सुझाव/भनाइ छ ?
उत्तर :
समाज इमान्दार, समृद्ध र सुसंस्कारी बनोस् भन्ने लाग्दछ ।

६८. हामीले सोध्न छुटाएका तर भन्न बाँकी केही कुरा छन् कि ?
उत्तर :
प्रायः धेरै कुरा आएका छन् । प्रश्नहरू त अरू धेरै बाँकी छन् । अर्को भेटमा गरौंला नि थप भलाकुसारी !

प्रतिक्रिया दिनुहोस्: