कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको पहिलो संरक्षक सदस्य वरिष्ठ कलाकार ( चराविद) तथा साहित्यकार हेम पौडेलको दोस्रो स्मृति दिवसको अवसरमा माघ १८ गते आइतबार त्रिभुवन विश्व विद्यालय प्राकृतिक बिज्ञान सङ्ग्रहालय र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त आयोजनामा सम्मान अर्पण, चित्रकला हस्तान्तरण र कविता वाचन कार्यक्रम सप्पन्न भयो ।
सङ्ग्रहालयका प्रमुख डा.ईशान गौतमको सभापतित्व,वरिष्ठ कलाकार के. के. कर्माचार्यको प्रमुख र त्रिविवि विज्ञान तथा प्रविधि विभागका डिन प्राडा शङ्करप्रसाद खनालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा पन्छी तथा वन्यजन्तु संरक्षणविद डा हेमसागर बराललाई पच्चीस हजार नगदसहित त्रिविवि प्राकृतिक विज्ञान सङ्ग्रहालय हेमगङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान अर्पण गरियो । सो अवसरमा प्राकृतिक विज्ञान सङ्ग्रहालयमा अध्ययनको लागि हेम पौडेलद्वारा सृजना गरिएको बीस थान कला चित्र हेमपत्नी गङ्गा कर्माचार्य पौडेलले सङ्ग्रहालय प्रमुख डा. ईशान गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमका सभापति गौतम, प्रमुख अतिथि कर्माचार्य, विशिष्ट अतिथि खनाल,सम्मानित व्यक्तित्व बराल, वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, कबाका प्रबन्धक तथा हेमपत्नी वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल, कबाका प्रकाशक, सम्पादक निबन्ध आचार्यले सम्बोधन गर्दै कलाकार तथा साहित्यकार हेम पौडेलको व्यक्तित्व र कृतित्व माथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा गङ्गा कर्माचार्य पौडेल,डा. ईशान गौतम, विमला शाक्य, अनिता ढकाल र रेणुका भट्टराईले हेम पौडेलले लेख्नुभएको चराहरु सम्बन्धि कविता वाचन गर्नुभएको थियो । प्राकृतिकविज्ञान सङ्ग्रहालय वनस्पति शास्त्रका उपप्राध्यापक विमला शाक्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सङ्ग्रहालयका पदाधिकारीहरु, पौडेलका परिवारहरु र साहित्य तथा कला(चित्रकारिता) क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
दुईवटा साहित्यिक कृति प्रकाशन गर्नुभएका पौडेलका सयौंको सङ्ख्यामा चरा सम्बन्धि चित्रहरु छन् । पौडेलको २०८० साल माघ १७ गते ८३ वर्षको उमेरमा निधन भएको थियो। वहाँको पार्थिव शरीर अन्त्यष्टी नगरी त्रिविवि शिक्षण अस्पतालमा विद्यार्थीहरुको अध्ययनको लागि दान दिइएको थियो । पुरस्कारको लागि पौडेल परिवारले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्: