काठमाडौं, २०८२ माघ १६ गते । ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष मणिराज सिंह, संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा शिखर कवि शैलेन्द्र साकार र कथाकार पुष्कर लोहनीको समुपस्थितिमा साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान समर्पण कार्यक्रम अनामनगरस्थित डालो रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो ।
आफ्नो स्वास्थ्य बिलकुल प्रतिकूल भएतापनि यसरी निरन्तर ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहले श्रृङ्खलाबद्ध रूपमा कविता वाचन कार्यक्रमसहित स्रष्टा सम्मान गर्दै आउनु भएकोमा सबै वक्ताहरूले उहाँको साहित्यिक योगदानको प्रशंसा गर्नुभएको थियो ।
यसै अवसरमा कविता, गीत, गजल र लघुकथा वाचनका साथै, लेखक–कवि राकेश कुमार झा (रसिक) को कवितासङ्ग्रह ‘म पनि लेख्न सक्छु’ को लोकार्पण गरिएको थियो ।

उक्त अवसरमा विश्वकवी तुलसी दिवसले स्रष्टाहरू उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे, नीलम कार्की निहारीकलाई ‘ज्योति साहित्य सम्मान’ द्वारा सम्मानित गर्नुभयो भने महेशराज खरेल, श्याम श्रेष्ठ, राजेश मान के सी, राकेश कुमार झा ’रसिक’ र प्रेमकृष्ण श्रेष्ठलाई ‘ज्योति प्रतिभा सम्मान’ द्वारा सम्मान गरियो । यसैक्रममा ‘ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान’ द्वारा साहित्यकारहरू कल्पना मरासिनी र योगाज राजन ’कविराज’ लाई प्रतिष्ठानले सम्मानित गर्यो ।
कार्यक्रममा कवि जाँयस जया र विभा झाले लोकार्पित पुस्तकबाट कविता वाचन र पत्रकार पूजन मिश्रले गजल वाचन गर्नुभएको थियो । प्रतिष्ठानको उक्त २२५औँ शृङ्खलामा अतिथि स्रष्टाहरूलाई अध्यक्ष मणिराज सिंहले टोकन आफ लोभ प्रदान गरी कार्यक्रम समापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: