काठमाडौँ, २०८२ माघ २४ गते । हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सञ्चालन हुँदै आएको मासिक शृङ्खला तथा कवि गोष्ठीको २८८ ओँ भाग समाप्त भएको छ । यस उपलक्षमा नगद दश हजारसहित अभिनव मणिराम चालिसे शिक्षा तथा समाज सेवा पुरस्कारबाट दीपककुमार भन्डारी सम्मानित हुनुभएको छ ।
यसै गरी गृहिणी तथा शिक्षिका आत्मकथा लेखन प्रतियोगितामा पुरस्कृतहरूलाई पुरस्कार वितरणको साथै गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित कविता सङ्ग्रह ‘अभिव्यञ्जना र प्रत्यभिव्यञ्जना’ को लोकार्पण गरियो । उक्त दुवै कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल हुनुहुन्थ्यो ।
प्रमुख अतिथि नगर प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिका देशमै उदाहरणीय बन्दै साहित्योत्थानको गतिविधिमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा कविता वाचन गर्नेहरूमा बद्री सुवेदी, सुरेशचन्द्र घिमिरे, टाकुर खतिवडा, दिवाकर नेउपाने, सरिता दुलाल घिमिरे, कीर्ते पौडेल, बाजुराम पौडेल, घनश्याम प्रसाई, परशुराम पराजुलीआदि २५ जनाभन्दा बढी रहनुभएको थियो ।
उपाध्यक्ष विमल अर्यालको समापतित्व, शारदा पराजुलीको उद्घोषकत्व र बी.पी. इलामेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: