२०८२ फागुन १, काठमाडौं । नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका एकाउन्न संस्थाको साझा मञ्च “साहित्यिक संस्था समन्वय समिति”ले आज नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा ९१ वर्षीय वरिष्ठ कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन गरिएको छ ।
सो समितिका अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई कद बराबरको अभिनन्दनपत्र समर्पण गरिएको थियो । श्रेष्ठलाई दोसल्ला, दूबो, फूल र रुद्राक्षको माला, टोपी, टीका, सगुन र फूल वर्षासहित अभिनन्दन गरिएको थियो ।
समारोहमा श्रेष्ठलाई प्रदान गरिएको अभिनन्दनपत्र समितिका सचिव एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”ले विशेष मन्तव्यसहित वाचन गर्नुभएको थियो भने अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै श्रेष्ठले साहित्य सिर्जना, प्रजातान्त्रिक आन्दोलन र देशको विषम परिस्थितिको बेलामा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

अभिनन्दित श्रेष्ठकी श्रीमती आख्यानकार जलेश्वरी श्रेष्ठलाई पनि सम्मान गरिएको सो समारोहमा समितिका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो । उहाँले २०१० को पूर्वार्द्धदेखि कविता सिर्जनामा संलग्न भएर सात दशक लामो यात्रामा कवि द्वारिका श्रेष्ठको आफ्नै विशिष्ट पहिचान बनाउनुका साथै महत्त्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो ।
सो अवसरमा अभिनन्दित वरिष्ठ कवि द्वारिका श्रेष्ठले साहित्यकारहरूलाई स्थान दिएर अघि बढाउने साहित्यिक पत्रकारितालाई संरक्षण गर्ने काम अझै हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले साहित्यको विकास र विस्तारमा राजनीतिक नेता, नेतृत्व र दलहरू उदासीन रहेको धारणा पनि राख्नुभएको थियो ।
समारोहमा धन्यवाद ज्ञापन तथा सभा विसर्जन गर्दै समितिका सदस्य एवं साहित्यकार मोमिलाले आफ्नै विशिष्ट शिल्प लिएर देखापर्नुभएका कवि द्वारिका श्रेष्ठको नेपाली कविताको प्रयोगवादी धारका क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको उल्लेख गर्नुभयो ।
समारोहमा कवि गीता कार्कीले श्रेष्ठको एउटा कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कवि मन्जिला अनिलले गर्नुभएको थियो ।
कार्यक्रममा एकाउन्न संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार, कलाकारसहितको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्: