काठमाडौं, फागुन ३ गते । टुक्का साहित्य समाजको आयोजनामा शनिबार पुतलीसडक स्थित ग्रिनलिफ फुडल्याण्ड क्याफेमा एक विशेष समारोहका बीच तीनवटा टुक्का कविता सङ्ग्रहको लोकार्पण सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्य तथा टुक्का साहित्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेको सभापतित्वमा साहित्यकार प्रमोद नेपालको चौथो कृति रश्मीपुञ्जका साथ साथै भारत नेपालमा छत्तीस जना नारी स्रष्टाको संयुक्त सङ्ग्रह नारी टुक्का कविता र भारतका टुक्काकार रतन पाण्डे पारतनका कृति टुक्काको मुक्का लोकार्पण गरिएको हो ।
रश्मिपुञ्ज लगायतका उपयुक्त कृतिहरू प्रमुख अतिथि बाबा बस्नेत, साहित्यकारहरु रामप्रसाद पन्त, किरण आचार्य, अरुण नदी खत्री, राजेशराज गड्तौला, दार्जिलिङकी साहित्यकार हनाह क्षेत्रीले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।
सो समारोहमा टुक्का कविता लेखन अभियानमा विशिष्ट योगदान पुर्याउनु भए वापत रश्मिपुञ्ज कृतिका सर्जक प्रमोद नेपाललाई टुक्का साहित्य समृद्धि सम्मान– २०८२ समर्पण गरिएको थियो । त्यसै गरी नारी टुक्का कविता संयुक्त सङ्ग्रहको आयोजक दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीलाई अन्तर्राष्ट्रिय स्तरमा सर्जकहरूलाई एकताको सूत्रमा आबद्ध गरे वापत टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान– २०८२ प्रदान गरिएको थियो ।
प्रमुख अतिथि बाबा बस्नेतले टुक्का कविताले पाठक वर्गको मन जितिरहेको भन्दै प्रज्ञा प्रतिष्ठान यस्ता विधाको प्रवद्र्धनमा सकारात्मक रहेको बताउनु भयो । विशिष्ट अतिथि रामप्रसाद पन्तले प्रमोद नेपालको रश्मिपुञ्ज कृतिमाथि प्रकाश पार्दै टुक्का जस्ता कविताको उपविधा साहित्यका अन्य विधासँगसँगै गएमा नेपाली साहित्यको उन्नयनमा सहयोग पुग्ने धारणा राख्नुभयो । प्रमोद नेपालले दायित्व पत्रिकामा २०४४ सालदेखि कविता आदि लेख्दै आउनु भएको कुरा बताउनु भयो । अर्का विशिष्ट अतिथि किरण आचार्यले नारी टुक्का कविता माथि टिप्पणी गर्दै नारीहरूले संयुक्त सङ्ग्रह निकाल्न सक्नुभएकोमा खुशी व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभयो । दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले भारतमा टुक्का कविताको लेखन अभियान र रतन पाण्डे पारतनका कृतिमाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । टुक्का साहित्य समाजकी सदस्य शोभा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको उपर्युक्त कार्यक्रमका संचालक टुक्का साहित्य समाजका महासचिव चूडा निर्भिकले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: