नियात्रा

फेरि हाम्रो भेट होला त….!

६ फाल्गुन २०८२
Tara KC
तारा केसी

नेपाली र केही विदेशी साहित्यकार बोकेर काठमाडौंबाट साँझ ६ः१५ मा छुटेको बस बिहान ६ बजे दाङको भालुवाङ पुगेर रोकियो ।

भालुवाङ भर्खर ब्युँझिएको थियो । हामीले त्यहाँ पुगेर मीठो चिया पियौँ । सम्झनाको लागि सामूहिक फोटो खिच्न लगायौँ । महेन्द्रराजमार्ग हुँदै अब रोल्पासम्म पुग्नु थियो । यही क्रममा ‘भुँडीपुराण’ प्रकाशनका अध्यक्ष केशव पराजुलीले भन्नुभयो; ‘स्वर्गद्वारी पुगेर जाऊँ है’ ।

जाने र नजाने दुई खेमामा विभाजन हुनभयो साथीहरू । मेरो मनले भन्यो, ‘जाऊँ, नगएको ठाउँ, भगवान्‌को दर्शन पनि गरौँ’, म जाने भएँ ।

एउटै सिटमा बसेर यात्रा गरिरहनुभएकी दिज्यू ललिता दोषी नजाने हुनुभयो । निर्मला बराल दिज्यूलाई जाऊँ भने, उहाँ दुईपटक गएर पनि जान राजी हुनुभयो । उकालो बाटो चढ्ने फेरि हिम्मत गर्नुभयो । सत्तरीको दशक टेकेकी मेरो आमा उमेरकी दिज्यूको यो आँट र साहसको लागि म कृतज्ञ बनेँ ।

बालसाहित्य समाजका अध्यक्ष विजय सरले भन्नुभयो, ‘स्वर्गद्वारी जाने जति भिङ्ग्रीमा झर्नुहोला’ । बसले आफ्नो गति लियो, हामीले भालुवाङ छोड्यौँ ।

प्युठानको कालोेपत्रे सडकमा बस गुड्दै थियो । बसबाट देखिएका दृश्यहरू आँखाभरि कैद हुँदै गए । ती प्रकृतिको सौन्दर्यसँग साक्षत्कार हुँदै, ठोकिँदै, गएँ म । मन आफैसँग रमाउँदै थियो । म आफैमा ध्यान मग्न थिएँ । बसमा रमाइला गफहरू हुँदै थिए । यत्तिकैमा मोवायलको घण्टी बज्यो । छोराले फोन गरेको रहेछ ।

ऊ भन्दै थियो; ‘ममी ! कहाँ पुग्नुभयो ?’
मैले आफू प्युठान पुगेको कुरा उसलाई बताएँ । एकछिन कुरा गरेर उसले फोन राख्यो ।

त्यो रूटको पहिलो यात्रा हुनाले ठाउँहरूको बारेमा त्यति जानकारी थिएन । सोध्दै ठाउँहरूको जानकारी लिँदै गयौँ ।

स्थानीय एउटा होटेलमा चिया खाजा खाएर बसले फेरि आफ्नो गति लिएको थियो । प्रमोद प्रधान सर भन्दै हुनुहुन्थ्यो, ‘यहाँको सिमी, भाङ, टिम्मुर, पिँडालु, मास साह्रै मीठो हुन्छ । फर्केर आउँदा लानुपर्छ ।’

तराई भूभाग छिचोल्दै राप्ती खोला कटेपछि पहाडी भेग उक्लँदै गयौँ हामी । अघिदेखेका दृश्य फेरिँदै गए । फरक अनुभूति हुँदै थियो ।

कहीँ कतै भेटिने बस्ती, तोरी पाकेका खेतहरू, फेरि फेरि घुम्दै आउने घुमाउरो बाटो । अग्ला अग्ला पहाडहरूले आँखालाई झिमिक्क गर्ने दिएन । म यो यात्राको मज्जा लिँदै गएँ ।
‘ल ! भिङ्ग्री बजार आइपुग्यो । स्वर्गद्वारी जाने जति यहीँ झर्नु होला ।’ विजय सर बोल्दा ध्यान भिङ्ग्री बजारतिर गयो । हामी चौध्र जना स्वर्गद्वारी जान तयार भयौँ । तीन ओटा ट्याम्पु राजी भए हामीलाई स्वर्गद्वारी लान । भिङ्ग्री बजारबाट १४ कि.मी.यात्रागरिपछि हामी स्वर्गद्वारीको प्रवेश द्वारमा पुग्यौँ ।

चिसो हावाले स्पर्श गर्‍यो । जाडो महसुस भयो । प्रवेशद्वारमा केही फोटोहरू खिचेपछि हामी सिँढी चढ्दै स्वर्गद्वारी प्रवेश गर्‍याँै । झण्डै आधा घण्टा हिडेपछि मंन्दिरमा पुगियो । हामी त्यो उचाईमा थियौँ जहाँबाट हेर्दा हिमाली श्रृङखलाहरू तल देखिन्थे । वर्णन गर्नै नसकिने थियो, त्यो प्रकृतिको अनुपम सुन्दरता ।

पाँच पाण्डवहरू यसै भूमि हुँदै स्वर्ग गाको भएर यो ठाउँको नाम स्वर्गद्वारी राखिएको किम्वदन्ती त्यहाँ पुगेपछि थहाँ पाइयो । यसै ठाउँमा पाण्डवहरूले यज्ञ गरेका थिए भन्ने जनविश्वास पनि रहेछ । हवन कुण्ड, स्वर्गद्वारी प्रभुको समाधी स्थल वरिपरि घुमेर पुजा अर्चना गर्‍याँै हामीले ।

दानप्रसाद न्यौपाने गुरूले त्यहाँको बारेमा बताउँदै भन्नुभयो; ‘यस ठाउँमा स्वर्गद्वारी महाप्रभुले यज्ञ गर्नुभयो । यहाँ एकैपटक तेत्तीस कोटी देवताको पूजा–पाठ हुन्छ । दिनको ४ पटक हवन हुन्छ । २४ घण्टामा १९ घण्टा पूजा हुन्छ ।’

गुरूबाट धेरै कुराहरू जानकारी पाइयो । निमार्ण हुँदै रहेछ स्वर्गद्वारीको ठूलो मंन्दिर हामी उभिएको दाँयापट्टि । प्रतिव्यक्ति १६०/– तिरेपछि त्यहाँ भोजनको व्यवस्था भयो । त्यहाँको मीठो खाना खाएर हामी फोटो खिच्दै मन्दिरबाट झर्‍याँै । अघि चढेकै ट्याम्पुले फेरि भिङ्ग्री बजार ल्याएर छोडिदियो ।

भिङ्ग्रीबाट एउटा माइक्रोबस रिजर्भ गरेर हामी रोल्पातर्फ लाग्यौँ । तीन घण्टाको यात्रा तय गर्नु थियो अब हामीले ।

प्युठान र रोल्पाको सिमाना माडी खोलाको पुल तरेपछि ‘माडी गाउँपालीका रोल्पा यहाँहरूलाई स्वागत गर्दछ’ लेखिएको गेट देखापर्‍यो । अब भने हामी रोल्पामा प्रवेश गरेछौँ, भन्ने लाग्यो ।

रोल्पा प्रवेश गर्ने बित्तिकै माइक्रोबस चार्ज गर्न आधा घण्टा रोकिनुपर्ने कुरा चालक भाइले जानकारी गराए । त्यो समयको सदुपयोग गर्दै हामीले त्यहाँको स्थानिय मंन्दिर ‘त्रिपुरा सुन्दरी’ को दर्शन गर्‍यौँ । बाटोभरि पाकेका बयर टिप्दै खाँदै रमाइलो गर्दै बासुमाया बहिनीको क्यामराबाट धेरै फोटोहरू खिचियो ।

पाँच बजेतिर माइक्रो रिचार्ज भयो र हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ । रोल्पा प्रवेशद्वारबाट ३८ किलोमिटर कुद्नु पर्ने रहेछ, माइक्रो बसलाई लिवाङ पुग्न । माइक्रो बसले आफ्नो गति लिँदै गयो । हामी पुनः यात्रामा फर्कियौँ ।

त्यसो त पूर्वको माटो टेकिसकेकी मलाई पश्चिमतिर यात्रा गर्ने हुटहुटी पहिलेदेखि नै थियो । यात्रा गर्न पनि त साङ्गोपाङ्गो मिल्नु पर्ने रहेछ, समयको, अर्थको र मन मिल्ने साथीहरूको ।

यसपटक सबै कुरा मिल्यो । साहित्यकार निर्मला बराल दिज्यूमार्फत रोल्पा जाने जानकारी पाएँ भने साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल सरले २०८२ मङ्सिर १८ र १९ गते हुने बालसाहित्य सम्मेलन कार्यक्रमको लागि रोल्पा जाने अवसर जुटाइदिनुभयो र उहाँबाटै यात्राको साङ्गोपाङ्गो मिल्न गयो । यो यात्राको लागि यात्राभरि डा.शैलेन्दुप्रकाश नेपाल सरलाई आभार प्रकट गरिरहेँ ।

कस्तो होला रोल्पा ?
मनमा लागि रहन्थ्यो । विकासले नछोएको एउटा दुर्गम ठाउँ । मनमा यस्तै चित्र थियो मेरो रोल्पाको बारेमा । सरकारी सेवामा कार्यरत कर्मचारीले केही गल्ती गरे सजाय स्वरूप रोल्पा सरूवा गरेको समचार सुनिन्थ्यो । त्यसकारण पनि रोल्पा निकै दुर्गम ठाउँ भनेर हामी जस्ता आम मानिसको मनमा यस्तै धारणा बनेको हुनुपर्छ ।

रोल्पाको अर्को महत्त्वपूर्ण घटना
जन आन्दोलनको थालनी रोल्पाबाटै भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए यही रोल्पाबाट । वर्षमान पुन सिंहदरबार पुगे यही रोल्पाबाट । यही रोल्पाकी छोरी ओम्सरी घर्ती मगर पहिलो नेपाली महिला सभामुख बनिन् । यस्ता साहसी वीर जन्माउने हिमाली जिल्ला रोल्पा नियाल्न म आतुर थिएँ ।

बस कालोपत्रे सडकमा कयौँ घुम्ती र मोडहरू पार गर्दै कहिले उकालो, कहिले ओरालो झरिरहेको थियो । पारि पारि देखिएका गगनचुम्वी डाँडाहरूमा चम्किरहेका थिए, बत्तीका चिमहरू । ‘त्यो कुन ठाउँ थियो होला ?’ मनले मनलाई प्रश्न सोधिरह्यो तर कुनै उत्तर थिएन मनसँग । कसैलाई सोधिन पनि बसमा सबै जना निदाइरहेका थिए । मलाई भने पटक्कै निद्रा लागेन यात्राभरि ।

यात्राले दिएको अनुभूतिको लय समातेर गगनचुम्वी पहाडहरूसित हातेमालो गर्दै रोल्पाको लिवाङ पुगेर यात्राले अवतरण गर्‍यो ।

हामी बस्ने भट्ट गेष्ट हाउसको बरण्डाबाट बत्तीको उज्यालोमा मुसुक्क मुस्कुरायो लिवाङ बस्ती । आकाश ओढेर जलजलाको न्यानो खास्टोभित्र लुटुक्क निदाएको थियो टुँडिखेल । त्यो दृश्यले मनका सारा थकान मेटेर रोमाञ्चित गरायो ।

रातिको यात्रा । माइक्रो बसको झ्यालबाट देखिएका अग्ला अग्ला पहाड र तल बस्तीमा बत्तीको उज्यालो बाहेक केही देखिएको थिएन । त्यही अँध्यारोमा द्वन्द्वकालको स्मरणहरू पनि मनभरि आइरहेको थियो ।

गेष्ट हाउसमा पाएको न्यानो आतिथ्य र मिठो खाना खाएपछि काठमाडौंदेखि एउटै सिटमा बसेर यात्रा गरेका हामी ललिता दिज्यू र म गेष्ट हाउसमा पनि एउटै कोठाका साथी भयौँ । २२ घण्टाको यात्राले थकाएको शरीरलाई विश्राम गर्दै भोलिको सूर्योदयसँगै रोल्पालाई अघाँउन्जेल हेर्ने कल्पनामा हामी त्यो रात निदायौं ।

भोलिपल्ट मंसिर १८ गते बिहानको पहिलो घामको किरणले रोल्पालाई स्पर्श गर्‍यो । प्रकृतिको भूस्वर्ग पो रहेछ रोल्पा । चारैतिर पहाडले घेरेको भिरालो जमिनमा स्टेप स्टेप मिलाएर बनेका घरका संरचनाहरू । पुराना मोडलका घरहरू कतै कतै देखिए भने अरू बजारभरि आधुनिक घरहरू देखिए ।

बिहानको नास्ता खाँदै गर्दा रोल्पाको बारेमा धेरै कुरा बताउनुभयो होटेलका साहुजीले ।

समुन्द्र सतहदेखि ७०१ मीटरदेखि ३६३९ मीटरको उचाईमा फैलिएको जिल्लाको क्षेत्रफल १८७९ वर्ग कि.मि. रहेछ । लुम्बिनी प्रदेशमा अवस्थित रोल्पा उच्च पहाडी भूभाग भएको जिल्ला हो । यस जिल्लाको पूर्वमा प्युठान, पश्चिममा सल्यान, उत्तरमा रूकुम र दक्षिणमा दाङ जिल्ला पर्ने रहेछन् । साहुजीका कुरा चाख लिएर सुन्यौं हामीले र केही कुराहरू कापीमा टिपोट पनि गर्‍यौँ । हामीलाई धेरै कुरा बुझ्नु थियो रोल्पाको कला, साहित्य, जनजीवन र संस्कृतिको बारेमा । मुख्य जाती मगर रहेको रोल्पा बहुजाती र बहु साँस्कृतिक जिल्ला रहेछ । यहाँ विविध जातिको बसोबास भएको पाइयो । रोल्पाको माथिल्लो भाग चिसो र तल्लो भागमा समशितोष्ण जलवायु रहेछ ।

नास्ता खाएर हामी एकछिन बजार घुम्यौँ । त्यसपछिको कार्यक्रम थियो आगन्तुक पहुनाहरूलाई नगरपरिक्रमा गराई टँुडिखेलमा हुने भव्य कार्यक्रममा सहभागी गराउने ।

३०आँै राष्ट्रिय बाल साहित्य सम्मेलन २०८२ मंसिर १८ र १९ गते सहभागी हुन एशियाका विभिन्न राष्ट्रबाट र नेपालका विभिन्न जिल्लाबाट साहित्यकारहरूको उपस्थिति थियो । र्‍याली बिहान १० बजे माडीचौर रोल्पा–२, साततलेबाट सुरू भयो । काठमाडौँबाटसँगै जाने कयौँ बालसाहित्यकारहरू कयौँ मेरो लागि नयाँ अनुहाररू थिए । मैले चिनेका डा.शैलेन्दुप्रकाश नेपाल, ललिता दोषी, अनन्तप्रसाद वाग्ले, यशोदा अधिकारी, शान्ती सापकोटा, निर्मला बराल, प्रमोद प्रधान, विजयराज आचार्य, केशव पराजुली, डा.छायादत्त न्यौपाने, सुशिला प्रधानाङ्क मेरोलागि चिरपरिचित अनुहारहरू थिए । बालसाहित्य समाजसँगको यो मेरो पहिलो यात्रा थियो ।

साततलेबाट सुरू भएको र्‍याली टुँडिखेलतर्फ अगाडि बढ्दै गर्दा टोल टोलबाट बाजागाजा झाँकीसहित विभिन्न समूहमा निस्केको समूहले र्‍यालीमा उपस्थित अतिथि, पाहुनाहरूलाई फूल, माला, अबिर र घरको झ्याल र छतबाट पुष्पवर्षा गरी भव्य स्वागत गरेका थिए । रोल्पाली दाजुभाइ र दिदीबहिनीले देखाएको त्यो माया म यहाँ शब्दमा वर्णन गर्नै सग्दिन ।

पूर्वअर्थ मंन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा बालसाहित्य सम्मेलनमा पुस्तक विमोचनसहित विभिन्न संस्थाका प्रतिनिधिहरूले सभालाई सम्बोधन गरेर उद्घाटन कार्यक्रम भव्यरूपले सम्पन्न भयो । बेलुका भएको बालसाहित्य कार्यशाला गोष्ठीमा वक्ताहरू हुनुहुन्थ्यो, डा.शैलेन्दुप्रकाश नेपाल र कृष्णहरि सर्वहारा र कार्यक्रम सहजीकरण मानसिंह विश्वकर्माले गर्नुभएको थियो । प्रमोद प्रधानको कार्यपत्रमा प्रा.डा.कर्णबहादुर बानीयाँले टिप्पणी गरेपछि त्यो दिनको कार्यक्रम समापन भएको थियो ।
त्यो रात ललिता दिज्यू र मैले गफ गरेर सिङ्गै रात कटाएका थियौँ ।

मङ्सिर १९ गते दोस्रो दिन । चिया नास्ताको व्यवस्थापन एउटा होटेलले गरेको थियो । हामी त्यहाँ सरिक भयौँ । चिया पिएर केही उकालो चढेपछि हामी कार्यक्रम स्थल जिल्ला उद्योग बाणिज्य महासंघको भवनमा पुग्यौँ । त्यहाँबाट पारि देखिएको थियो, गगनचुम्वी पहाड जलजला । हुस्सुहरू लुकामारी खेल्दै वस्तीतिर झरेका दृश्य साह्रै मनमोहक थियो ।

जनयुद्वको थालनी भएको क्षेत्र थवाङ, जलजला र होलेरी लिवाङको त्यो भूमिबाट हामी हेरिरहेका थियौँ । धेरै स्मृति र कथा जोडिएको त्यो ऐतिहासिक ठाउँ । ठूला ठूला चारै दशातिर फैलिएको हरियो घाँसे मैदान यसलाई स्थानीयहरूले ‘जलजला पठार’ पनि भन्दा रहेछन् । चिसो हावा र ताजा वातावरणले आनन्द महसुस भइरहेको थियो ।

प्राकृतिक सौन्दर्य र संस्कृतिको राजधानी रहेछ रोल्पा !
हामी जलजला नियाल्दै फोटो, भिडियो बनाउन व्यस्त थियौँ । त्यतिकैमा कार्यक्रम सुरू हुन लागेको सूचना पायौँ र हामी उद्योग बाणिज्य महासंघको भवनतर्फ लाग्यौँ । चाहना कलाकेन्द्रका भाइबहिनीहरूको नृत्यबाट कार्यक्रमको शुभारम्भ भयो । कार्यक्रम जूनकिरी सञ्चार साप्ताहिककी पत्रकार कविता उपाध्यायले सञ्चालन गर्नुभयो । विभिन्न विषयमा बालसाहित्य सम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरियो र साथमा पुस्तक प्रदर्शन पनि भए । काठमाडौंबाट जानुहुने साहित्यकारहरूका बालसाहित्य सम्बन्धी पुस्तकहरू प्रदर्शनीमा राखिएका थिए । मङ्सिर १९ गतेको कार्यक्रम झनै रमाइलो र बालबालिकाहरूको लागि झनै उपयोगी बन्यो ।

बेलुका ७ : १५ बजे भट्ट होटेलमा खाना खाएर साँझ हामी काठमाडौंतर्फ लाग्यौँ । लिवाङबाट उकालो चढ्दै हामीलाई लिएर बस अगाडि बड्दै गयो । बाटोमा भदौरे मंन्दिर देखियो । यस मंन्दिरमा राति मरेका मान्छेहरू आउँछन् रे भन्ने कथन सुनियो । बसले गति लिँदै गयो । बसमा डा.शैलेन्दुप्रकाश सरको रमाइलो गीत र नाच हेर्दै हामी साँझ काठमाडौं फर्कियौँ ।

रोल्पा नक्सामा मात्र होइन मेरो मनमा बसेको छ । म फर्किंदा छतबाट झरेका फूलको सम्झना, निःस्वार्थ सम्मानको अनुभूति र साहित्यकार भएर पाएको रोल्पावासीको अपार प्रेम मनमा गाढा भयो ।

त्यहाँका बालबालिकाको आँखामा भविष्य देखिन्थ्यो । बूढापाकाको बोलीले इतिहास बोल्थ्यो । सम्मेलनको ओैपचारिक सत्रहरू सकिएपछि, अनौपचारिक कुराकानी अझ गहिरा भए । चियाको गिलाससँगै बाँडिएको हाँसो स्मृतिमा कैद भएर बस्यो । साँच्चै यहाँ नेपालीपन मिसिएको मिठो माया थियो ।

मलाई लाग्यो; ‘रोल्पा जनयुद्धको स्मृतिहरू, शान्तिका सपना सबै भोगेर आफ्ना पीडाका कथाहरू बोकेर पनि प्रेम बाँड्न नथाक्ने भूमि रहेछ ।’

सोचेँ, ‘गगनचुम्बी पहाड जलजला ! तिमीसँग फेरि हाम्रो भेट होला त ?’

पनौती, काभ्रे
हाल : गोँगबुँ, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: