बाल्यकालमा आमाबाबुले जुन सम्झाइ, बुझाइ र हप्काइ गर्नुभएको थियो । लाग्थ्यो त्यतिबेला किन गाली गर्नुभएको होला ? किन हप्काउनुभएको होला ? उमेर बढेसँगै आज नितै सम्झाइ, बुझाइ, हप्काइ र गाली अर्ती बनेर कानमा गुञ्जिएका छन् । शिक्षाप्रद भएर अग्रगामी बाटो पछ्याइरहेका छन् । आज बाआमा नहुँदा तिनै भनाइहरू बाआमाको झल्को दिँदै जीवनलाई मार्गनिर्देश गरिरहेका छन् । हामीलाई सफल र सक्षम बनाउँन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । उहाँहरू भन्नुहुन्थ्यो–
– हामी हाम्रो लागि गर्दै छैनौँ, जे गर्छौं छोराछोरीकै लागि गर्दैछौँ ।
– बाआमा जत्तिको बनिहाल्छौँ नि होइन, हामीहरूभन्दा राम्रो बन ।
– अर्काले देला खाउँला हैन, आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ ।
– पहिला पढाइ–लेखाइमा ध्यान देऊ, शिक्षा सबैभन्दा ठूलो कुरा हो ।
– पढाइ भयो भने अरू काम पछि गर्दा पनि भइहाल्छ ।
– राम्रो मान्छे बनेर ठूलो मान्छे होऊ । खराब आचरण भयो भने ठूलो बन्दैमा केही हुन्न ।
– छोरा छोरी ठूला हून्, नाम चम्काऊन् भन्ने नै आमाबाबुको सपना हुन्छ ।
– छोराछोरी जुन दिन सक्षम भएर आफ्नो खुट्टामा उभिन्छौ, त्यही दिन हाम्रो सपना पूरा हुन्छ ।
– काम जे गरे पनि आमाबाको शिर ठाडो हुने गर ।
– बाआमालाई अरू केही चाहिँदैन छोराछोरी खुशी भएपुग्छ ।
– अब त आफैले जिम्मेवारी उठाउनुपर्छ । यत्रो उमेरमा पनि आमाबाबुको मुख ताकेर बस्ने हो र !
– आमाबाबु सधैं छोराछोरीका साथ हुन्नन्, जीवनमा आउने समस्यासँग लड्न सिक्नुपर्छ ।
– बाआमालाई दुःख दियौ भने कसैले पनि राम्रो मान्दैनन् ।
– बालापन त फुत्तै बित्छ । आफूलाई जोगाएर, होस पुर्याएर काम गर्न सिक ।
– पैसालाई प्रेम गर, माया गर र विवेकपूर्ण तरिकाले खर्च गर । पैसा मड्किलोमा खन्न पाइन्न, रुखमा टिप्न पाइन्न ।
– धन कमाउन सजिलो हुन्छ, तर इज्जत कमाउन गाह्रो हुन्छ, यो कुरा कहिल्यै नबिर्सिनू ।
– काम गर्दा सोच विचार गरेर मात्र निर्णय लिने गर्नू ।
– साथीभाइ बनाउँदा होस पुर्याएर बनाउनू, सबै आफैजस्ता हुँदैनन् ।
– यस्तो पढेर के हुन्छ ? यस्तो गरेर के हुन्छ ? नसोच्नू । पढेका, सिकेका कुरा जीवनमा सधैं काम लाग्छ ।
– काम गर्दा लड्यो, घाटा लाग्यो, पछि पर्यो भने पनि आफूलाई सम्हालेर उठ्न सक्नुपर्छ ।
– मिहिनेत गर्दै गयौ भने घर आफै सम्हालिन्छ ।
– जस्तोसुकै अवस्था आइपरे पनि, जति दुःख भएपनि झूठो नबोल्नू, ठगेर नहिँड्नू, नखानू ।
– बाबुआमाले जसरी विश्वास गरेका छन्, त्यसैगरी आफैलाई विश्वास गर्नू ।
– छोराछोरी जति ठूला हुन्, बाबुआमा सधैं बाबुआमा नै हुन्छन्, भन्ने कुरा कहिल्यै नबिर्सनू ।
– तर जुन दिन हामी बाबुआमा यो धर्तीमा हुन्नौँ, त्यसदिनदेखि तिमीहरूले हाम्रो महत्त्व थाहा पाउन थाल्छौ ।
हामीमध्ये धेरैले आमाबाका यी अर्ती, उपदेशलाई लिने कोसिस गर्दैनौँ, ग्रहण गर्ने तत्परता देखाउँदैनौँ । थोरै मात्र जजसले लिन्छौँ, स्वीकार गर्छौं, जीवनमा सफल बन्छौँ । एउटा असल मान्छे बनेर समाजमा देखा परेका छौँ ।
तर हामी अझै पनि–
मानेनौँ अघि त्यो साँच्चै बाआमाले भने कुरो ।
बेला गएपछि बुझ्छौँ, यथार्थ अघिको कुरो ॥
आफ्नै लागि भनेको हो, मान्नुपर्ने रहेछ त्यो ।
भनेर कसले बुझ्छ ? बुझेनौँ तत्त्व सारको ॥


प्रतिक्रिया दिनुहोस्: