प्रत्येक मान्छेको चाह सुन्दर जीवनको उज्यालो भविष्य हुन्छ । घन घोटी बन्चरो बन्छ, निरन्तर साधनाले सिर्जना गराउँछ, सिर्जनाले जीवन डोर्याउँछ, शिखरमा पुर्याउँछ । यी प्रेरणाप्रद सूक्ति हाम्रा पूर्वज अभिव्यक्ति हुन् । यी भनाइलाई सार्थक तुल्याउने उदीयमान प्रतिभा हुन् माया वस्नेत थापा । उनी नेपाली साहित्यमा निरन्तर साधना गरिरहेकी सिर्जनाप्रेमी प्रतिभा हुन् । विद्यालय तहदेखि कविता सिर्जनामा रुचि भएकी थापा कल्पलता द्वैमासिक (२०७९,फागुन–चैत अङ्क) मा ‘जन्म ठाउँ’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा देखा परेकी हुन् । उनका कविता सरल छन् र वर्तमान समाज बोल्छन् । उनी गद्यलयका कविता सिर्जनामा अभ्यस्त हुँदै आएकी छन् ।
साहित्य समाजलाई सिर्जनात्मक लयमा हिँडाउने भाषिक अभिव्यक्ति हो । सिर्जना असाधारण लेखनकार्य हो । यसलाई प्राज्ञिक लेखन पनि भनिन्छ । यो लेखन मौलिक हुन्छ । प्रत्येक लेखकको भिन्न र विशेष हुन्छ । यस्तो आलङ्कारिक शैलीको सिर्जनात्मक लेखनका कविता, आख्यान, नाटक र निबन्ध गरी मुख्य ४ विधा प्रचलनमा छन् । यीमध्ये कविता बढी लेखिने विधा मानिन्छ । कवि थापाका कविता पनि यिनै विधागत परिचय लिएर आएका छन् । बागलुङ जन्मघर र स्याङ्जाको अर्जुनचौपारीलाई कर्मघर बनाएकी थापा काठमाडौंकी स्थायी बासिन्दा हुन् । उनीसँग लामो समय जापानमा बसेर बिताएको व्यावसायी जीवनको अनुभव पनि छ । गाउँ, सहर र विदेशसम्मको जीवन भोगाइले दिएको अनुभूतिजन्य अभिव्यक्ति उनका कवितामा पाइन्छ । जीवनका यी विविध पाटाहरू लिएर साहित्य सिर्जनामा लागेकी थापाका कविता परिवार, समाज र व्यवसायबाट प्राप्त स्वानुभवी रङले सिँगारिएका छन् ।
जीवन जगत्सम्बन्धी विषयवस्तु, लयात्मक प्रस्तुति, सूत्रात्मक अभिव्यक्तिमा गम्भीरभाव अभिव्यक्त हुनु कविताको चिनारी हो । यसमा गतिशील विचार र जीवनमुखी सन्देश सम्प्रेषण भएको हुन्छ । कविता भनेर स्रष्टा भोगाइको अनुभव अनुभूति आर्जित ज्ञानराशिमा काल्पनिक रङ घोलेर दिइने परिष्कृत अभिव्यक्तिलाई चिनिन्छ । यो अलङ्कार आदि बिम्बप्रतीकयुक्त अनुप्रासमय हुन्छ । थोरै शब्दमा मन–मस्तिष्कको भावप्रवाह हुने कसिलो प्रस्तुति कविताको विधागत पहिचान हो । कवि थापाका कविताले पनि यस्तै लय पछ्याएको देखिन्छ । उनका यी रचना सामाजिक चेतना र अध्ययनबाट प्राप्त अनुभूति, सिर्जनात्मक प्रतिभा, निरन्तर अभ्यासले दिएको भावनात्मक अभिव्यक्ति बनेर आएको पाइन्छ ।

यतिखेर माया वस्नेत थापा ‘परदेशी चरो’ नामको कविता सङ्ग्रह लिएर नेपाली साहित्यमा उदाएकी छन् । उनको मनमा बिउँझेका काल्पनिक भावतरङ्ग चल्तीका सरल शब्दसँग जोडेर पाठकसामु पुर्याउने यो प्रयास आशा लाग्दो छ । उनका कविता सरल शब्दावलीसँग कर्मयोगी सन्देश बोकेर प्रवाहमय प्रस्तुतिमा आएका सजिला अभिव्यक्ति हुन् । हामी नेपाली स्वाभिमानी पुर्खाका सन्तान हौं । हाम्रो गौरवगाथा नबिर्सी आफूले आफैलाई चिनेर आफ्नै खेतका गरा र बारीका पाटा पसिनाले सिंचौं यसैमा रमाउन सकिन्छ भन्ने भाव सम्प्रेषण भएको एउटा कवितांश हेरौं।
हामीले आफूलाई नर्बिसी
अरूलाई चिन्न सकौँ
आश्रयको खोजी होइन
पुरुषार्थमा भरोसा गरेर
श्रम गरौँ सिप सिकौँ
यै हो हाम्रो साझा संस्कृति
यसमै सकिन्छ रमाउन हामी…।
माया वस्नेत थापा पछिल्लो समय विभिन्न साहित्यिक संस्थाहरूसँग जोडिएर पनि नेपाली साहित्यको विकासमा लागेको देखिन्छ । कतिपय संस्थाहरूमा प्रत्यक्ष सहभागी भएर त कतिपयमा सहयोगी भूमिकामा रहेर रुचिपूर्वक वाङ्मयी सेवा दिनुले पनि उनमा साहित्य सिर्जनामा रहेको लगाव पुस्टिन्छ । उनले वसन्त शीर्षकको कवितामा सुन्दर प्रकृतिको बखान गरेको पाइन्छ । यसै गरी असार पन्ध्रमा उनले श्रम गर्नु जीवनको लागि आवश्यक छ भन्दै मानु खाएर मुरी उत्पादन गर्ने हाम्रो कृषि संस्कृतिको महिमागान र श्रममा रमाउनेहरूको प्रशंसा गरेकी छन् भने श्रमको महत्त्व बुझेर पनि समयमा काम नगर्नेहरूप्रति कटाक्ष गर्दै शब्दवाण चलाउन पनि पछि परेकी छैनन् । उनले जापानको सम्झना शीर्षकको कविता मार्पmत् त्यहाँको समृद्धि, सामाजिक अनुशासन, आपसी व्यवहारमा भेटिने सद्भावबाट धेरै कुरा सिक्न सकिने सम्भावना पनि देखाएकी छन् ।
कवि थापा नेपाली संस्कृतिलाई माया गर्छिन् । उनको संस्कृति शीर्षकको कविताले श्रममा लागेर आफ्नै देशको सुगन्धित माटोले दिने उत्पादनमा रमाउन युवाहरूसँग आग्रह गरेकी छन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं आर्थिक रूपले जीवन नेपालमै सुखी र सम्पन्न बनाउन सकिने प्रशस्त सम्भावना भएकाले यहीँ पसिना बगाऔं भन्ने भावना व्यक्त गरेकी छन् । यसको साक्ष्यमा तलका पङ्क्तिहरू लिन सकिन्छ।
हाम्रै साझा दायित्व पूरा गर्नुछ
विदेश पलायनमा लामबद्ध
युवाहरूको जोस र होस बटुलेर
निरीह बनेको उर्वर कृषिक्षेत्र
बिउँझाएर उत्पादनमा जुट्नुपर्ने
सचेतवर्गको इमानदारी सक्रिय भई
आफ्नै शिरको मणि पहिचान गरौँ !
कविको भनाइ रहेको छ हामी आफैले नाभीमा राखेको कस्तुरी चिन्न सकौं, सदुपायोग गरौं । उनले हाम्रा उर्वर पाखाहरू बाँझा राखेर बिदेसिने गल्ती नगरौं भन्ने विचारलाई बलियो प्रस्तुति दिएकी छन् । युवा जाँगर विदेशमा खर्चेर देश रुख्याउने कुरा राम्रो होइन । यसमा सचेत नागरिक र कर्मयोगी युवाहरू गम्भीर हुनु जरुरी छ । देश बनाउने हामी आफै युवा जाँगरले हो अरूले बनाइदिँदैन भन्दै कर्मयोगी चेतना दिन्छिन् । आफ्नो घर आफैले छाउने हो भत्केको आँगन सिँगार्ने हामी आफैले हो । पाखुराको बलले विदेश सजाएर बुढ्यौलीमा देशप्रेमी बनी चिरबिराउनुको अर्थ रहन्न । त्यसैले समय छँदै विवेकी बनौं भन्ने उनको आग्रह रहेको पाइन्छ ।
जीवनमा अभिभावकबाट पाइने संस्कार संस्कृतिले मौलिक पहिचान जतन गर्न प्रेरित गरिरहेको हुन्छ । उनीहरूले सन्तानलाई सामाजिक जीवन सुखी र मर्यादित बनाउने गरी विधि–व्यवहार सिकाउँछन् । अग्रजका मानवीय विचारलाई कवि थापाले सम्मानजनक प्रस्तुति दिएको पाइन्छ । उनका कवितामा सन्ततिले पूर्वजबाट सिकेजानेका सामाजिक मूल्यको अनुसरण गरे साझा जीवन सँगै मुस्कुराउन सक्छ भन्ने विश्वास व्यक्त गरेको पाइन्छ।
अग्रज जीवनको आद्यन्त
सदा रहन्छ,
विश्वासमा अडिएर बाँचे
उल्लासमय वसन्तझैं सुगन्धित
पुष्पहरू फुलाइरहन्छ ।
कवि थापाका कवितामा अनुभूतिजन्य सरल भावनाको अभिव्यक्ति पाइन्छ । यस सङ्ग्रहका कविताले माटाको स्पर्श, प्राकृतिक मोह, भौगोलिक आकर्षण, कृषि उत्पादन, सामाजिक सांस्कृतिक गतिविधि जस्ता व्यावहारिक विषयको उठान गरी देशप्रेमी सन्देश सम्प्रेषण गर्छन् । कवि आजको पुस्तालाई विदेसिएर जे पनि गर्न तम्सिने तर स्वदेशमा काम गर्न लजाउने र अल्छी गर्ने कमजोर सोचाइप्रति कटाक्ष गर्दै देशकै खेतबारीको स्वस्थकर अर्गानिक उत्पादनमा रमाउन आग्रह गर्छिन् । कवि थापा स्वदेमै केही गरौं विदेसिएर सस्तैमा स्वाभिमान नबेचौं भन्दै पुर्खाले आर्जेको ऐतिहासिक गौरव बचाउन पछिपर्नु असल सन्तानको जिम्मेवारी होइन भन्दै स्वाधीन नेपाली भनेर इतिहास पढ्ने व्यवहारमा आश्रित भइदिने प्रवृत्ति ठिक नभएको तर्क गरेकी छन् । उनका यी कविताले समस्त नेपालीलाई सचेत हुनुपर्ने विषयमा जोड दिई सुन्दर प्रकृति र उर्वर माटाले सजिएको जलसम्पदाको धनी देश नेपाललाई कृषि उत्पादनको माध्यमबाट आत्मनिर्भर बनाउन हामी सबै जुटौं भन्ने आग्रह रहेको पाइन्छ ।
परदेशी चरो कविता सङ्ग्रहमा जम्मा…कविताहरू सङ्कलित छन् । यसले उनी आफै जापानमा चलेको व्यवसाय छाडेर आएको आत्मानुभूति व्यक्त गरेको छ र यो विदेशमा बसेका नेपालीहरूका लागि आह्वान पनि हो भन्ने विषय छर्लङ्ग देखिन्छ । यस सङ्ग्रहका कविता गद्यलयमा रचिएका सहज सम्प्रेष्य लाग्छन् । किताबकै शीर्ष बनेको यो परदेशी चरो कवितामा बालबच्चा र बाआमाका लागि चारो खोज्न निस्केको भाले चरोलाई प्रतीक बनाएर विदेश गएको परिवारको सदस्यलाई यथाशीघ्र घर फर्किन आग्रह गरिएको छ । न्याउली चरीको लयमा पिता, छोरा र श्रीमान्को अनुपस्थितिमा देखिने बिछोडको अवस्था चित्रणयुक्त गीत सुसेलिएको पाइन्छ । प्रकृतिका सुन्दर छटाहरूमा मानवीय संवेदनाको सजीवचित्रणले कवितालाई आजको सामाजिक जीवन सन्दर्भ बताउन सफल तुल्याएको छ ।
चारो खोज्न गएको भाले चरा
आउला भनेर
पर्खाइमा बस्दा बस्दा
पर्खाइ नै उदास बनेको छ
हेर्दा हेर्दा आँखा
पाट्टिइसकेका छन् ।
विदेशमा सुख फल्छ । त्यै सुख लिएर फर्किने विश्वासले हामीलाई सताइरहेको छ । यस्तो विश्वासले धेरै नेपालीलाई तानेको छ । विदेसिँदा खेप्नुपर्ने असजिला खुड्किलाको के लेखाजोखा भो पितृमातृ बात्सल्यबाट वञ्चित छोराछोरी, स्नेही अँगालोभन्दा टाढा यौवन र पुत्र सान्निध्य नपाएको वृद्धावस्थामा देखिने मानव मनको मार्मिक यथार्थ जुरुक्क उठाएको परदेशी चराले पाठक हृदय स्पर्श गर्नसक्छ ।

कवि थापाका कविता वर्तमान नेपाली समाजबाट विषयवस्तु टिपेर रचिएका सामयिक अभिव्यक्ति हुन् । यी रचनाको भाव सहज सम्प्रेषण हुने सुबोध्य छन् । यस सङ्ग्रहका कवितामा प्रकृतिलाई जतन गर्नु, भूगोलप्रति आस्था जगाउनु, उत्पादनमा जोड्न/जोडिन बल गर्नु, वाङ्मयी सेवामा रमाउनु, कृषिकर्म पछ्याउनु, मानवीय संवेदनालाई कदर गर्नु, श्रममा विश्वास गर्नु, जीवनप्रति आशावादी रहनु, समाजमा व्याप्त बेथितिप्रति कटाक्ष गर्नु, समतामुखी सामाजिक विधि–व्यवहारको वकालत गर्नुजस्ता प्रवृत्तिगत विशेषता पाइन्छन् । समग्रमा भन्नुपर्दा सर्जक थापा सरल प्रस्तुतिमा मानवीय संवेदनाको सम्मान गर्न रुचाउने देशप्रेमी कवि हुन् । उनी यही गतिले निरन्तर थप साधनाको माध्यमबाट सिर्जनालाई परिष्कार गर्दै लगिन् भने निकट भविष्यमा उच्चकोटिको गद्यकवि व्यक्तित्व निर्माण गर्न सफल हुने सम्भावना नजिकै देखिन्छ । सिर्जनयात्रा सुरु गरेको ३ वर्षकै वरिपरि परदेशी चरो सरल, सुन्दर सहज सम्प्रेष्य, सुस्वादु कविता सङ्ग्रहका लागि कवि थापालाई बधाई तथा कृति सफलताको शुभकामना !


प्रतिक्रिया दिनुहोस्: