आफूसँग जे छ त्यसैमा रमाउन सके मान्छे सधैं सुखी रहनसक्छ
अनुपमा रेग्मी
प्रोफेसरको दैनिकीको यसपालिको अङ्कमा पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका नेपाली विभागका उपप्राध्यापक अनुपमा रेग्मीको दैनिकी तयार पारेका छौँ । रेग्मीको दैनिकी पब्लिक इङ्गलिस सेकेण्डरी स्कुल, टोखा–१, झोर महाँकाल, काठमाडौंका भाइबहिनीहरू हर्षिका अधिकारी (कक्षा : ७) र रेगन दुलाल (कक्षा : ८) ले तयार पारेका हुन् । कुराकानीका आधारमा भाइबहिनीहरूले तयार पारेको रेग्मीको दैनिकी सङ्क्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।
१. बिहान कति बजे उठ्नुहुन्छ ?
– बिहान साढे चार बजे उठ्छु ।
२. त्यसपछि के गर्नुहुन्छ ?
– उठेपछि मुख धोएर एक गिलास मनतातो पानी खान्छु । त्यसपछि बाथरुम गएर नित्यकर्म गर्छु ।
३. बिहानको खास कार्यतालिका के हुन्छ ?
– नित्यकर्म सकिएपछि कक्षा लिनुपर्ने छ भने क्याम्पस जाने तयारी गर्छु । छैन भने सरसफाइलगायतका घरायसी काम गर्छु ।
४. बिहान खाजा खानुहुन्छ कि हुन्न ?
– खान्छु । म प्रायः ८ः३० तिर खाजा खान्छु ।
५. खाजामा के खानुहुन्छ ?
– खाजामा चना, रोटी, तरकारी, फलफूल, पाउरोटी, अण्डा आदि खान्छु ।
६. खाना कति बजे खानुहुन्छ ?
– खाना एघार बजेतिर खान्छु ।
७. खाना कस्तो मिठो लाग्छ ?
– मलाई नुनपिरो कम भएको, सादा दाल, भात, तरकारी, अचार मन पर्छ ।
८. कलेज कतिबेला जानुहुन्छ ?
– कलेज जाने समय कक्षाको समयअनुसार हुन्छ । प्रायः बिहान ६ः३० बजेतिरै कलेज जान्छु । पहिलो कक्षा लिन नपरेको दिन आठ बजेतिर जान्छु ।
९. कलेजको दैनिकी कस्तो छ ? के के गर्नुहुन्छ ?
– कलेजमा पढाउने कामबाहेक अन्य काम पनि गर्छु । कहिले काहीँ बैठक बस्ने, पाठ सम्पादन गर्ने काम पनि गर्छु ।
१०. कलेजबाट घर कति बजे फर्किनुहुन्छ ?
– कलेजबाट साढे एघार बजेतिर फर्किन्छु ।
११. घर आएपछि के गर्नुहुन्छ ?
– घर आएपछि खाना खान्छु । एकछिन मोबाइल चलाउँछु, लेखपढ गर्छु ।
१२. कलेज नगएको दिन के गर्नुहुन्छ ?
– कलेज नगएको दिन घरका सानातिना काम गर्छु, मन परेको किताब पढ्छु ।
१३. दिउँसो खाजा खानुहुन्छ ?
– दिउँसो ४ः३० बजेतिर खाजा खान्छु ।

१४. साँझ कसरी बित्छ ?
– नानीलाई पढाउने, बेलुकाको खाना बनाउने तयारी गरेर बित्छ ।
१५. राति कतिबेला खाना खानुहुन्छ ?
– रातिको खाना ८ः३० बजेतिर खान्छु ।
१६. खाना खाएपछि के गर्नुहुन्छ ?
– खाना खाएपछि घरधन्दा गर्छु, दाँत माझ्छु । एकछिन टेलिभिजन हेर्छु ।
१७ राति कतिबेला सुत्नुहुन्छ ?
– म राति १०ः०० बजेतिर सुत्छु ।
१८. फुर्सद मिल्दा के गर्नुहुन्छ ?
– फुर्सद मिलेको बेला आफन्तलाई भेट्ने, चलचित्र हेर्ने काम गर्छु ।
१९. तपाईँको साहित्य लेखनको समय कुन हो ?
– मनमा आएको बेलामा लेख्छु । यतिखेरै लेख्ने भन्ने कुनै निश्चित समय छैन । साहित्यको लेखन, पठन नै पेसासित जोडिएको कारणले लेख्नेभन्दा अरूले लेखेको पढ्ने नै बढी हुन्छ ।
२०. घरपरिवारलाई कत्तिको समय दिनुहुन्छ ?
– घरपरिवारलाई सकेसम्म समय दिइरहेको छु । फुर्सदको समय परिवारसँग नै बिताउन चाहन्छु ।
२१. घरको काम कत्तिको गर्नुहुन्छ ?
– घरका प्रायः सबै काम गर्छु ।
२२. बढी जाँगर लाग्ने काम कुन हो ?
– मेरो जिम्मेवारीमा परेका, मैले नै गर्नुपर्छ भन्ने लागेका सबै काम गर्न जाँगर आउँछ ।
२३. गर्न अल्छी लाग्ने काम के हो ?
– मलाई खाना पकाउन अल्छी लाग्छ । यद्यपि पकाउनेबाहेक अरू सबै काम गर्न अल्छी लाग्दैन ।
२४. हजुरको र आम मानिसको दैनिकीमा के फरक छ ?
– मेरो र आम मानिसको दैनिकीमा खासै फरक छैन । घरव्यवहार चलाउँदै पेसाव्यवसाय गर्ने महिलाको व्यस्त दैनिकी हुन्छ । मेरो पनि यसरी नै समय बितिरहेको छ । फरक यत्ति हो कि म पढाउन जान्छु, अरू आफ्नो पेसाव्यवसायमा जान्छन् ।
२५. सामान्यतः आफ्ना दिनहरूलाई सुखी र खुशी राख्न के गर्नुपर्छ भन्ने लाग्छ ?
– सुखी हुनु र खुशी हुनु एउटै कुरा होइन । मानिस सुखी हुन आफूसँग जे छ त्यसैमा रमाउन सिक्नुपर्छ । प्राप्त गर्नसक्नेभन्दा ठूलो महत्त्वाकाङ्क्षा राख्नुहुँदैन । खुसी रहन आफूलाई रुचि लाग्ने, आफूलाई मन परेको काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
२६. बिहान उठ्दा पहिला के सम्झनुहुन्छ र सुत्ने बेलामा के सम्झँदै सुत्नुहुन्छ ?
– बिहान उठ्दा पहिला दिनभरि गर्नुपर्ने काम सम्झन्छु र दिन जे जसरी बिते पनि सुत्ने बेलामा आजको दिन आनन्दले बिताउन पाएँ, अब मिठो निद्रा आओस् भन्ने लाग्छ ।
प्रस्तुति
पब्लिक इङ्गलिस सेकेण्डरी स्कुल,
टोखा–१, झोर महाँकाल, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: