कविता

आमा

१५ चैत्र २०८२
गङ्गा खड्का

दस वर्ष बिते आमा अक्सिजनको भरमा
एउटै कोठा संसारझैँ तिम्रो आफ्नै घरमा
छुटाइदिँदा अक्सिजन धेरै गाह्रो हुन्थ्यो
तिम्रो सकस देखी मन धुरुधुरु रुन्थ्यो ।

पृथ्वीझैँ बलियो थियो तिम्रो आत्मबल
झूटो हाँसो देखाउँथ्यौ लुकाई आँसुभल
जति व्यथा लागे पनि दबाएर राख्थ्यौ
रातभर छटपटिँदै आँसुको स्वाद् चाख्थ्यौ ।

दुई दिन सद्दे हुँदै परिहाल्थ्यौ थला
तिम्रो हाल सहन नसकी रुद्ध हुन्थ्यो गला
टुलुटुलु हेर्नुबाहेक विकल्प हुन्नथ्यो केही
म पनि त बाहिर हाँस्दै भित्र बस्थेँ रोई ।

तिम्रो कष्ट बाँड्न सक्ने मसँग भएन बर्कत
दैवले निष्ठुर बनी देखाइरह्यो उही हर्कत
रोगमाथि रोग थपियो दुखाई हरेक अङ्ग
सुख, शान्ति, आनन्दलाई पारिदिँदै भङ्ग ।

ईश्वरसामु हात जोडी गरेँ धेरै याचना
उनले पनि ख्याल गरेनन् मेरो भावना
निर्दयी बनी उल्टै मारिदिन्थे सबै आश
घरीघरी अस्पतालको पारिदिन्थे बास ।

जति आफूलाई दुखे नि सन्तानको ध्यान
गर्न तिमीले छोडिनौ सुक्दा पनि ज्यान
नजिकै गई बसिदिए हाँस्थ्यौ दिल खोली
अनेक थरी आशीर्वादका किरणहरू घोली ।

तिमी हुँदा माइतीघर हुन्थ्यो झलमल्ल
द्विविधामा मनमा केही नभई अलमल्ल
चाडबाड आए आमा बस्थ्यौ बाटो हेरी
नछोपिउन्जेल हेर्थ्यौ मलाई घर फिर्दाखेरि ।

मलाई पनि बाँच्नुको थियो छुट्टै माने
कति खुसी हुन्थेँ विधाताले यो जाने
अब त व्यर्थ भयो तिमीबिनाको जुनी
कस्तो कठोर निर्णय गरे दैवले नि कुन्नि ।

सबै कोसिस खेर गए भयो मेरो हार
तिमी गएपछि आमा भयो अन्धकार
मन बुझाउँथेँ भएदेखि सम्हालिने बाटो
स्वीकार्न कठिन भयो तिमीसँगको फाटो ।

कति थिए होलान् आमा तिम्रा मनका चाह
तिमी त गइहाल्यौ निको नहुने छोडेर घाह
तिमी गएदेखि नै आँसु भएको छ साथी
सृष्टि गर्ने सृष्टिकर्ता नै बनिदिए घाती ।

मुटु दुःखी फुट्ला जस्तो हुन्छ आमा अति
नसोचेको घटनाले पार्‍यो मानसिक क्षति
संसारै थियौ आमा तिमी मेरो लागि
यति छिटो छोडी गयौ कस्तो म अभागी !

सकिनँ केही गर्न मैले सम्झना मात्रै रह्यो
मेरो हाँसोखुसी जति तिमीसँगै गयो
कामना छ तिमीलाई मिलोस् सुखशान्ति
बास होओस् त्यो स्वर्गमा अनुहारमा कान्ति ।

बूढानीलकण्ठ, काठमाडौं।
नोट : स्वर्गीय आमा धन बस्नेतको सम्झनामा समर्पित कविता।

प्रतिक्रिया दिनुहोस्: