वेदकुमारी न्यौपानेसँगका कुराकानी

१५ चैत्र २०८२
वेदकुमारी न्यौपाने

साहित्य संवाद/कुराकानी
साहित्यिक रचना कुनै वादको प्रभावमा नपरी सभ्य भाषामा लेखिएको सन्देशमूलक हुनुपर्छ ।
वेदकुमारी न्यौपाने

वि.सं. २०१४ भाद्र २० गते गुरुदत्त लोहनी र कौशल्या देवी लोहनीको कोखाबाट जन्मनुभएकी वेदकुमारी न्यौपाने साबिकको गाईखुर, गोरखाबाट हाल सूर्यविनायक नगर पालिका, बालकोट, भक्तपुरमा बस्तै बाउनुभएको छ । एम.ए., बी.एल., बी.एड., गर्नुभएकी न्यौपाने हाल सरकारी सेवाबाट निवृत्त जीवन बिताइरहनुभएको छ । वि.सं. २०३१ सालमा रेडियो नेपालबाट पहिलो कविता प्रसारित भएबाट साहित्यमा प्रवेश गर्नुभएकी वेदकुमारीको पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित हुँदै आएकोमा वि.सं. २०५२ सालमा ’अर्को यौटा विद्रोह’ कथासङ्ग्रह प्रकाशित भएपछि उहाँ कृतिकारको रूपमा देखापर्नुभएको हो । कविता, कथा, नाटक, गीतिनाटक, बालनाटक, उपन्यास, बालउपन्यास, गीत, एकाङ्की, टेलिफिल्म, मुक्तक आदि विधामा सशक्त कलम चलाउनुहुने न्यौपानेका करिब दुईदर्जन कृतिहरू प्रकाशित छन् । काम विशेषले अमेरिका बस्तै आउनुभएकी स्रष्टा वेदकुमारी न्यौपानेसँग नेपाल आउनुभएको बखत संसाकको लागि समसामयिक विषयमा गरिएको कुराकानीको प्रमुख अंशहरू यहाँ प्रस्तुत गरिएको छ ।

१. अहिले के काममा व्यस्त हुनुहुन्छ ?

– केही दिन अघि भएको मेरा तीन कृतिहरूको लोकार्पणको क्रममा अलि व्यस्त नै थिएँ । अहिले त खासै व्यस्त छैन । अब अमेरिका जाने तयारीमा छु ।

२. साहित्यिक सिर्जनामा के गर्दै हुनुहुन्छ ?
– अहिले त केही गरिरहेको छैन । कथासङ्ग्रह ‘अलग’ हालसालै लेखेर भर्खरै प्रकाशित गरेकोले अरू नयाँ सिर्जना तर्फ सोच्न भ्याएको छैन ।

३. साहित्य लेखनको थालनी कहिलेबाट गर्नुभएको हो ?
– २०३१ सालमा कविता लेखनबाट शुरु गरेको हो ।

४. पुस्तकाकार कृतिहरू कति छन् ?
– मेरा हालसम्म प्रकाशित भएका पुस्तकाकार कृतिहरू जम्मा १८ वटा छन् ।

५. तपाईं विभिन्न विधामा कलम चलाउनु हुँदोरहेछ, मुख्य साहित्यिक विधाचाहिँ कुन हो ?
– मैले जुनजुन विधामा कलम चलाउँदै आए पनि मेरो मन पर्ने र मुख्य साहित्यिक विधाचाहिँ नाटक नै हो ।

६. कुन कुन विधा र विषयमा कलम चलाउनुभएको छ ?
– मैले नाटक, कथा, उपन्यास, गीत, कविता, मुक्तक आदि विधाहरूमा कलम चलाउँदै आएको छु ।

७. तपाईंलाई आफ्ना सिर्जना आफैलाई कत्तिको मनपर्छ ? त्यसमध्ये बढी मनपर्ने कुन हो ?
– मन त आफ्ना सृजना सबै मन पर्छन् । त्यस मध्येमा नाटकमा पूर्णाङ्की नाटक ‘विचलित वर्तमान’ , उपन्यासमा ‘धूवाँ’ र कथा सङ्ग्रहमा ‘आकांक्षाका सीमाहरू’ बढी मन पर्दछन् ।

८. आम पाठकले तपाईंका सिर्जनाहरू पढेर पाउने कुरा के हो ?
– कसैको पनि रचना पढेर पाठकले पाउने भन्दा पनि के कति कसरी लिने वा बुझ्ने भन्नेमा भर पर्दछ जस्तो लाग्छ मलाई । समसामयिक सामाजिक घटना र परिवेशलाई मैले आफ्नो रचनाका आधार बनाउने गर्दछु । पाठकले त्यही मनन गर्नुहुन्छ भन्ने लाग्दछ ।

९. एउटा लेखकले साहित्य सिर्जनामा ध्यान दिनुपर्ने खास कुराहरू के के हुन् ?
– साहित्य सिर्जना गर्दा एउटा लेखकले ध्यान दिनुपर्ने कुराहरू धेरै होलान् । म आफैंले सैधान्तिक रूपमा पढेर र बुझेर साहित्य लेखेको हैन । त्यो समयको महिला ! त्यसमा पनि बालबच्चा, घरपरिवार, जागिर र अध्ययन पनि सँगसँगै गर्नुपर्दा यी सैद्धान्तिक कुराहरूमा ध्यान दिन कहाँ पाउनु ! मनमा जे आयो त्यही लेख्दै गएँ । तर पनि यति कुराचाहिँ भन्नसक्छु । साहित्यिक रचना कुनै वादको प्रभावमा परेर लेखिनु हुदैन । रचना सभ्य भाषामा लेखिनु पर्छ र सन्देशमूलक हुनुपर्छ ।

१०. नेपाली साहित्यमा अहिले त धेरै साहित्यकारहरू जन्मिरहेका छन् । जहाँ, जसरी, जे लेखे पनि साहित्य भइहाल्ने हो ? यस्ता हल्का र सस्ता लेखनले नेपाली साहित्यको भविष्यलाई कता पुर्‍याउला ?
– पहिलो कुरा, नयाँको आगमन हुनु खुशीको कुरा हो । शुरुआतमा सबै राम्रो हुन्छ भन्ने हुँदैन । निरन्तर अभ्यास आवश्यक हुन्छ । अभ्यासले सृजना खारिंदै जाने हो । दोस्रो जे जस्तो लेखे पनि साहित्य बन्दैन । त्यस्तो नबनेको साहित्यले नेपाली साहित्यको भविष्यलाई खासै प्रभाव पार्ला जस्तो लाग्दैन । राम्रो नराम्रोको मूल्याङ्कन समयले गर्ने छ । निरन्तर लागिरहनाले राम्रो साहित्य अवश्य जन्मिन्छ ।

११. आउँदा दिनहरूमा नेपाली साहित्य लेखनको आवश्यकता र महत्व के रहला ?
– अहिले डिजिटल युगले साहित्यलाई ओझेलमा पारेको जस्तो देखिएको छ । यही क्रम रहि रहेमा साहित्यको आवश्यकता नै नरहला भन्ने सोच आउनु स्वभाविक हो । तर युग अनुसार साहित्यको आकार बदलिएला, शैली बदलिएला, विषय वस्तु बदलिएलान्, तर व्यक्ति समाज र राष्ट्रलाई साहित्यको आवश्यकता र महत्त्व सधैं रहन्छ । निरन्तर लागि रहनेले एकदिन सफलता पाउँछ । मैले माथि पनि भनिसकेको छु ।

१२. नेपाली साहित्यलाई विश्वसाहित्यको बजारमा कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
– साहित्यकारमा अध्ययनशीलता, लगनशीलता र निरन्तरता हुनुपर्दछ । यसका साथै साहित्यमा निरन्तर लागि रहने स्रष्टाहरूलाई हौसला प्रदान गर्नुको साथसाथै साहित्यको उत्थानको लागि सरकारले पनि विशेष कार्यक्रमहरू ल्याउनु पर्दछ जस्तो लाग्छ ।

१३.साहित्य किन लेख, पढ गर्ने ?
– मनोरञ्जन, बौद्धिक विकास, आत्मसन्तुष्टि र समाजको गतिविधि र घटनाक्रम देखाउनको लागि साहित्य लेखिनु र पढिनुपर्छ भन्ने लाग्छ ।

१४. साहित्य लेखनले दिने आनन्द के हो ?
– साहित्य लेखनले दिने सबैभन्दा ठूलो आनन्द ‘आत्मसन्तुष्टि’ हो भन्ने ठान्दछु ।

१५. तपाईको अबको साहित्यिक यात्रा के छ ?
– हात चलेसम्म र मन मस्तिष्कले काम गरेसम्म लेखिरहने हो । यही नै लेख्छु भन्ने छैेन । कुन बेला के बिचार, कुन सोच हुन्छ, त्यही अनुसार लेख्ने हो ।

१६. आम नेपाली सर्जक र पाठकहरूलाई भन्नुपर्ने कही कुरा छन् ?
– साहित्य भाषाको भण्डार हो । भाषा, साहित्य राष्ट्रको मुुटु हो । त्यसैले लेख्नेले लेख्न नछोडौं, पढ्नेले पढ्न नछोडौं, यही भन्न चाहन्छु र सबैमा यही अनुरोध छ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्: