अमर अधिकारी : सामान्य किसानदेखि सुपर राइटरसम्म
कल्पना मरासिनी
तत्कालीन प्यूठान र हालको रोल्पाको सुन्दर गाउँ खुङ्ग्रीमा २०२१ साल असार १९ गते जन्मिनुभएका अमर अधिकारी माता रामकुमारी र पिता तेजप्रसादका द्वीतिय सुपुत्र हुनुहुन्छ । मातापिताका चौध सन्तानमध्ये छजना बालकैमा बितेका र बाँकी आठ भाइबहिनीमा उहाँ मात्र सरकारी सेवामा आफ्नो उर्जाशील उमेर बिताएको कुरा उहाँकै पुस्तकमा उल्लेख छ । संस्थान सेवा १६ वर्ष र निजामती सेवा २३ वर्ष गरी जम्मा ३९ वर्ष सरकारी सेवा गर्नुभएका अमरले जागिरे जीवनमा बेलाबखतमा विभिन्न हण्डरहरू झेल्नुपरेका कुराहरूसमेत उहाँकै पुस्तक ‘ओगिल्जा’ र समय समयमा प्रकाशन हुने आत्मवृतान्तहरूबाट प्रष्ट हुन्छ । २०७९ असारमा निजामती सेवाबाट अनिवार्य अवकाश लिनुभएका उहाँलाई झन् तीनखण्डी बढी व्यस्त हुनुपरेको छ । अवकाश पाएका कतिपय राष्ट्रसेवकहरू नैराश्यतामा दैनिकी गुजार्नुपर्ने, निष्कृय बन्नुपर्ने अवस्था आउनुका साथै निष्कृयताका कारण रोगहरू निम्त्याउने गरेका पनि देखिन्छन् । अमर यस्ता पूर्व राष्ट्रसेवक हुनुहुन्छ जो एकमिनेट पनि समय खेर फाल्नुहुन्न । ल्यापटप तथा मोबाइल फुर्सदको समयमा उहाँले लेखन तथा साहित्यिक सिर्जनाकै काममा निरन्तर चलाइरहनुहुन्छ । अस्पतालको लाइनमा होस् वा विभिन्न सेवा लिन सरकारी निकाय तथा संस्थाहरूमा लाइनमा रहँदा होस् उहाँलाई अरू झैँ टोलाएर वा मोबाइलमा नानाथरी सामग्रीहरू हेरेर बस्नुपर्दैन । आफ्नो हातमा रहेको मोबाइलमा पन्ध्र मिनेटमै गीत वा कविता रच्नसक्नुहुन्छ, त्यस्तै आधा घन्टामै एउटा लघुकथा र तीन मिनेटमै एउटा मुक्तक रच्न सक्नुहुन्छ ।
२०३५ सालसम्म आफ्नो जन्मथलो रोल्पाको खुङ्ग्रीस्थित त्रिपुरेश्वरी नि.मा.वि. मा सात कक्षासम्म अध्ययन गर्नुभएका उहाँले आठ कक्षादेखि भने प्यूठानको भिङ्ग्रीस्थित अमर मा.वि. मा अध्ययन गर्नुभएको रहेछ । करिब दश कि.मि. को दूरीमा रहेको उक्त मा.वि. मा आउजाउ गर्न उहाँलाई दैनिक पाँचघन्टा लाग्नेगरेको रहेछ । माडी नदीमा पुल नहुँदा बर्खाभर छात्राबासमा बस्ने र कहिले आफन्तकोमा बसेर अध्ययनलाई निरन्तरता दिनुभएको कुरा उहाँकै पुस्तकमा पढ्न सकिन्छ । आफ्नै गाउँमा सात कक्षासम्म पढ्दा उहाँ विहान र साँझ घर व्यवहारको कामका लागि आमा, बालाई सघाउने गरेको र विदाका दिनमा गाई–भैँसी चराउन जाने गर्नुभएको रहेछ । समय निकालेर विभिन्न खेलहरू पनि खेल्न पनि भ्याउनुभएको रहेछ । भुरुङ नचाउने, डण्डीबियो खेल्ने, घोँडेपासा र बाघचाल तथा कपर्दीका साथै राज्य खेल पनि खेल्नुभएको रहेछ । पौडी खेल्न र रुख चढ्नमा समेत खप्पिस अमर सामान्य किसान परिवारमा जन्मेहुर्केका एक मूद्र्धन्य स्रष्टा हुनुहुन्छ । निसंकोच रूपले प्रायः सबै कुरा बताउने उहाँको विशेषतालाई पनि मान्नैपर्छ । किन कि दुःख र संघर्षका कुराहरू लेख तथा पुस्तक मार्फत उजागर गर्ने आँट जो कोहीले गर्न सक्दैनन् । २०३९ सालको एस.एल.सी.परीक्षाको नतिजा पश्चात् कानून पढ्ने उद्देश्यले काठमाडौँ छिर्नुभएकोमा उहाँलाई व्यवस्थापन विषय पढ्नुपर्ने अवस्था आएछ ।
अमरका लेख–रचना एकछिनमै तयार हुन्छन्, इमेल गरेर पठाएको दश मिनेटभित्रै प्रकाशन भएको इतिहास पनि छ । यस्तो गतिशील लेखन अनि तीव्र प्रकाशन सायद कसैको पनि हुँदैनहोला । उहाँका लेख–रचनाका लागि कम्प्युटर अपरेटर, शुद्धाशुद्धि हेर्ने, सम्पादन गर्ने कामका लागि अरू जनशक्तिको सहारा लिनुपर्दैन । लेख पनि भाइरल, भिडियो–फोटोहरू पनि भाइरल ! के अचम्म हो यस्तो ? बाटोमा हिँड्दाहिँड्दै मोबाइलमा टिपोटहरू गर्ने, बसको सिटमा बसेको बेला पनि मोबाइलमा केही कोरी नै रहने अनि एटिएम स्लिप, पानी–बिजुलीको बिल–रसिद, बसको टिकटको पछाडिपट्टी पनि मुक्तक कोरिरहने अद्भूत क्षमता छ उहाँको । सार्वजनिक गाडी कुर्दैगर्दा बस स्टपमा उहाँलाई दिग्दारी हुँदैन, किन कि स्मार्ट फोन र सिप उहाँको लागि बरदान सावित भएका छन् समय कटाउनका लागि । २०५३ सालमा गोरखापत्रमा प्रकाशित कथा ‘भाग्य र कर्म’ बाट उहाँको साहित्यिक यात्रा शुरु भएको रहेछ । त्यसपछि उहाँका लेख–रचनाहरू गोरखापत्र र त्यसका सहप्रकाशन अनि कान्तिपुर र त्यसका सहप्रकाशनमा निरन्तर प्रकाशन हुँदैआए । साथै अन्य तमाम प्रकाशनहरूमासमेत उहाँले ठाउँ पाउनुभयो । २०६१ सालमा बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ उहाँको पहिलो कृतिको रूपमा आयो । अवकाश लगत्तै आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र तत्पश्चात ‘रापतीका अलग शब्दहरू’ जन्मिए भने एउटा गीत पनि रेकर्डिङ भएर बजारमा आइसकेको छ । उहाँलाई लेख्नका लागि कुनै विशेष विषयवस्तु खोजिरहनु पर्दैन । जमिनमा हिँड्ने कमिलादेखि आकाशमा उड्ने हवाईजहाजसम्म, जडन–मार्सी चामलदेखि गिठा–भ्याकुरसम्म, फुपु–फुपाजुदेखि ससुरालीसम्म, आफ्नो जन्मथलो खुङ्ग्रीदेखि जागिरेथलो सिंहदरबारसम्म केही नलुकाई आफूले देखेका विषयवस्तुलाई जस्ताको तस्तै टपक्क टिपेर शब्दको माला उन्न खप्पिस उहाँ एक सरल, सजग र जागरुक सर्जक मानिनुहुन्छ । नजिकको यात्रामा भरसक पैदल नै हिँड्न रुचाउने, सकेसम्म निमन्त्रणा पाएका सबै साहित्यिक कार्यक्रमहरूमा सहभागी हुनचाहने र मिलनसार स्वभावका धनी अमर अधिकारी हाँस्यव्यङ्ग्य विधामा पनि उत्तिकै पोख्त मानिनुहुन्छ ।
धनीमानीले कुनै कुरामा तहल्का मच्याउँदा मिडियाहरूको तँछाडमछाड हुन्छ र उसको चर्चा एकाएक चुलिन्छ, तर सामान्य मान्छेले तहल्का मच्याउँदा भने यहाँ सामान्य नै ठानिन्छ र उसको चर्चा कम हुनेगर्छ । तर अपवादको रूपमा उभिनुभएको छ– अमर अधिकारी अर्थात् अमर कीर्तिमानी । जब मैले उहाँको कृति ’ओगिल्जा’ पढेँ, अनि थाहा पाएँ उहाँको संघर्षशील जीवन, उत्कृष्ट लेखनशैली, नबिराइकन, निशङ्कोचका साथ शब्दपुञ्जहरू पस्किने क्षमताबाट म धेरै नै प्रभावित भएकी छु । उहाँको जन्मथलो रोल्पा र मेरो जन्मथलो अर्घाखाँचीको भूगोल, भाषा, संस्कृति आदि पनि मिल्दोजुल्दो भएको र उहाँका हरेक आत्मकहानीहरूमा उल्लेख भएका प्रकृति, प्रवृत्ति अनि सम्पदाहरूमा म आफू पनि विचरण गरिरहेकै जस्तो महसुस हुन्छ । दिनहूँ जसो उहाँका लेख–रचना अनि उहाँसँग सम्बन्धित समाचारहरू देख्दा लाग्छ कि उहाँले साहित्याकाशमा सफलताको एकछत्र राज गर्नुभएको छ । उहाँसँग मेरो चिनजान भएको धेरै त भएको छैन । चिनजान भएको छोटो अवधिमै उहाँका तमाम प्रतिभाहरू देखेर उहाँका बारेमा केही कोरुँकोरुँ जस्तो लागेर यो सानो विम्ब पस्किने जमर्को गरेकी छु । ‘फेसबुकमा आत्मकथाहरू छरपष्ट नपार्नुस्, पुस्तक निकाल्नुस्, तपाईँको उचाई बढ्छ’ भन्ने शुभचिन्तकहरूको सल्लाहवमोजिम दुई महिनाको अवधिमै ‘ओगिल्जा’ पुस्तक प्रकाशन भयो । जुन पुस्तक मोबाइलमै कोरिएको नेपालको पहिलो पुस्तकको रूपमा रह्यो भने पुस्तक प्रकाशन भएको छ महिनाभित्रै बजारबाट सकियो । सो पुस्तक अमेरिका, अष्ट्रेलिया, कतार, भारतसम्म पुग्यो । उहाँको प्रसिद्धि एकाएक चुलिन थालेपछि साहित्यिक संस्था तथा सञ्चार माध्यमहरूको ध्यानाकर्षण हुनथाल्यो । जुम्लादेखि दोलखासम्मका साहित्यिक पत्रपत्रिका तथा सञ्चार माध्यमहरूले उहाँसँग लेख–रचनाहरू माग्नथाले । संघीय राजधानीका ठूला सञ्चार माध्यमहरूले महत्वका साथ स्थान दिँदा पनि उहाँले स्थानीयस्तरका सञ्चार माध्यमहरूलाई चटक्कै माया मार्नुभएको छैन र पठाउनुहुन्छ अनुकूलता हेरेर लेख–रचनाहरू ।
कहिले पुरस्कार पाउने प्रतिभाको छनौट समितिको संयोजक बन्नुहुन्छ त कहिले समालोचक अनि कहिले समीक्षक । उहाँले केही पुस्तक, स्मारिका, पत्रिकाहरूको सम्पादन समेत गरिसक्नुभएको र गर्दै पनि हुनुहुन्छ । कान्तिपुरमा प्रकाशित उहाँको कविता एकजना विद्यार्थीले अर्कै पत्रिकामा चोरी प्रकाशन गराएपछि उहाँ त खुशी पो हुनुभएछ । किन कि सो कविता चोर्नका लागि उत्कृष्ट रहेछ भन्ने बुझिन्छ । साहित्य लेखनमा साँच्चिकै एकपछि अर्को कीर्तिमानहरू रच्दै विभिन्न उपाधि, उपनाम तथा संज्ञाहरू पाउनुभएको छ अमरले । पछिल्लो समय उहाँले महिनैपिच्छे सम्मानपत्र, आदरपत्र, मायाको चिनो, नगद पुरस्कार पाउँदा लाग्छ उहाँ साहित्य–लेखन क्षेत्रमा व्यापक बनिसक्नुभएको छ । उहाँको एक लेख प्रकाशन भएको सवा वर्ष बितिसक्दा पनि पाठकहरूले निरन्तर सेयर गरिरहेका छन् । काठमाडौँको एक ठूलो मिडिया भनेर चिनिने सञ्चार माध्यमबाट प्रकाशित सो लेख इलामदेखि डडेलधुरासम्मका सञ्चार तमाम माध्यमहरूले साभार गरेर प्रकाशन गरेका छन् । एक किसिमले भन्नुपर्दा उक्त लेख भाइरल भैसकेको छ । करिब एक वर्षअघि मात्र ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ नामक पुस्तक डा. घनश्याम पुडासैनीले लेखिसक्नुभएको छ । पुस्तकमा वर्णित, चित्रित र अंकित अमर पहिलो रोल्पाली हुनुहुन्छ भन्नुमा अत्युक्ति नहोला । पूर्व सचिव तथा वरिष्ठ गीतकार डा. दामोदर रेग्मी (पाल्पा) ले उहाँलाई ‘प्रकृतिप्रेमी’ र ‘देशभक्त’ को उपाधि दिइसक्नुभएको छ भने पूर्व सहसचिव दानध्वज बस्नेत (पाल्पा) ले ‘मल्टिडाइमेन्सनल पर्सनालिटी’ को संज्ञा दिनुभएको छ । त्यस्तै लोकसेवा आयोगका पूर्व सहसचिव अर्जुनमणि दीक्षित (काठमाडौँ) ले ‘द एम्बेसडर अफ रोल्पा’ भनिसक्नुभएको छ । अमरलाई ‘सुपर राइटर’ को उपाधि प्रदान गर्नुहुने प्रा.डा. गोपिन्द्र पौडेलले ‘तुफानी लेखक’ को उपनाम पनि दिनुभएको भने डा. घनश्याम पुडासैनीले ‘आसु साहित्यकार’ को संज्ञा दिनुभएको छ । उहाँ ‘रोल्पाका सिद्धिचरण’ भनेर पनि चिनिनुहुन्छ । किन कि उहाँले रचेको गीतमा आफ्नो जन्मथलो र आसपासका गाउँठाउँ, नदी, वन आदिका नाम झल्किएका छन् सिद्धिचरणले आफ्नो गीतमा ओखलढुंगाको वर्णन गरे झैँ । रोल्पाकै एकजना राजनीतिज्ञले उनलाई ‘रोल्पाका हस्ती’ को उपनाम दिइसक्नुभएको छ । उहाँले प्राप्त गरेको पछिल्लो सम्मान सहितको पुरस्कार ‘प्रेमनारायण–सावित्रा–हेमकुमारी प्रज्ञा पुरस्कार– २०८१’ हो । गुल्मेली संस्था ’इस्माली समाज काठमाडौँ’ ले समेत उहाँलाई सम्मान गरिसकेको छ । संयुक्त राज्य अमेरिकाको ओरेगनमा बसोबास गर्नुहुने कीर्तिपुरका भरत बाँसकोटा (तीनओटा विषयमा स्नातकोत्तर) बाट उहाँले ‘स्वर्णाम कलम’ समेत प्राप्त गर्नुभएको छ । लेखन कार्यमा अझै उत्साह होस् भन्ने हेतुले उक्त ‘स्वर्णाम कलम’ प्रदान गरिएको रहेछ । स्रष्टा अमर अधिकारीको जीवन सुखद रहोस् ।
भूमिकास्थान, अर्घाखाँची
हाल : गोदावरी, ललितपुर।


प्रतिक्रिया दिनुहोस्: