समीक्षा

राजेश अवालेको संघर्ष, साधना र सिर्जनाको यात्रा समेटिएको पुस्तक

१६ चैत्र २०८२
रत्नप्रसाद अनामणि श्रेष्ठ

नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार राजेश अवालेद्वारा लिखित आत्मवृत्तान्त ‘अक्षरमा सात दशक’ जीवनका अनेक उतारचढाव, संघर्ष, साधना र सिर्जनात्मक यात्रालाई शब्दमा उतारिएको कृति हो । सात दशकभन्दा बढी समय कलासाधनामा बिताएका कलाकारले आफ्ना अनुभव, स्मृति र जीवनदर्शनलाई यस पुस्तकमार्फत पाठकमाझ प्रस्तुत गरेका छन् ।

पुस्तकको शीर्षकहरूलाई हेर्दा लेखकले आफ्नो जीवनयात्रालाई क्रमबद्ध ढङ्गले प्रस्तुत गरेका छन् ।
प्रारम्भिक अध्यायहरूमा लेखकको जन्मथलो, पारिवारिक पृष्ठभूमि र बाल्यकालको परिवेश बारे चर्चा गरिएको छ । ‘जन्मथलो’, ‘थपाकुम्हाको पहिचान’, ‘धानको थुप्रोबीचको भोक’ जस्ता शीर्षकहरूले लेखकको बाल्यकालको सामाजिक र आर्थिक अवस्था उजागर गरेको छ् । यसले कलाकारको जीवनको आधारभूत परिवेश र संघर्षलाई स्पष्ट देखाउँछ ।

त्यसपछि आउने अध्यायहरूमा परिवारको प्रभाव र संस्कारहरू बारे चर्चा गरिएको छ । ‘हजुरबा र हजुरआमा’, ‘सानो छँदा बा र म’, ‘बाको विश्वास कर्ममा’ जस्ता शीर्षकहरूले लेखकको व्यक्तित्व निर्माणमा परिवारले खेलेको भूमिकालाई देखाउँछन् ।

परम्परागत जीवनशैली, श्रमको मूल्य र कर्मप्रतिको विश्वासले लेखकको जीवन र सोचलाई कसरी आकार दियो ? भन्ने कुरा यी अध्यायहरूले संकेत गर्छन् ।

पुस्तकको मध्यभागमा लेखकको जीवनमा आएको मोड, आरोह–अवरोह कलायात्राको सुरुवातको बेलिबिस्तार पाइन्छ । ‘माटोदेखि मैनसम्मको यात्रा’, ‘फिल्मी प्रभाव’, ‘एसएलसी छोडेर मूर्तिकलातिर’, ‘नाटकमा महिला पात्र’ जस्ता शीर्षकहरूले युवा अवस्थाको सुरूचि, संघर्ष र सिर्जनात्मक खोजलाई उजागर गर्दछ । कलाकार बन्ने क्रममा भोग्नुपरेका चुनौती, सामाजिक सोच र व्यक्तिगत दृढतालाई पनि पुस्तकमा चित्रित गरिएको छ ।

पछिल्ला अध्यायहरूमा लेखकको परिपक्व जीवन, उत्तरदायित्व, कलासाधना र सामाजिक योगदानबारे चर्चा गरिएको छ । ‘कलाकारको पहिचान’, ‘नेपाल आर्ट भिलेजको परिकल्पना’, ‘सामाजिक कर्म’, ‘संयोग–वियोगका लहरहरू’ जस्ता शीर्षकहरूले लेखकको दीर्घकालीन अनुभव र जीवन–दर्शनलाई प्रस्तुत गर्छन् । यी अध्यायहरूमा लेखकले केवल आफ्नो व्यक्तिगत जीवन मात्र नभई कला, आफ्नो रुचि, समाज र संस्कृतिसँगको सम्बन्धलाई उजागर गरेका छन् ।

यस पुस्तकमा लेखकको भाषाशैली सरल, आत्मीय र स्मृतिपरक छ । लेखकले आफ्नो जीवनका अनुभवलाई इमान्दारीपूर्वक प्रस्तुत गरेका छन्, जसले पाठकलाई कलाकारको संघर्ष र सफलताको अनुभूति गराउँछ । विशेषगरी कला क्षेत्रमा लाग्न चाहने युवा पुस्ताका लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ ।

समग्रमा ‘अक्षरमा सात दशक’ केवल आत्मकथा मात्र नभई नेपाली कला, श्रम र साधनाको जीवन्त दस्तावेज हो । लेखकको जीवन संघर्ष, सिर्जनात्मकता र निरन्तर साधनाको कथा यस पुस्तकमा सशक्त रूपमा अभिव्यक्त भएको छ । त्यसैले यो कृति नेपाली कला र संस्कृतिमा रुचि राख्ने पाठकका लागि महत्वपूर्ण र प्रेरणादायी पुस्तकका रूपमा स्थापित हुन सक्छ । यो पुस्तक कला र संस्कृतिप्रेमीहरूका लागि सङ्ग्रहणीय छ । यस पुस्तकका प्रकाशक कयो अवाले हुन् । आवरण सज्जा नानी हेरा शाक्यको रहेकोे छ । नानी हेरा शाक्यले पुस्तकको भाषाशैलीमा उत्कृष्ट काम गरेको पुस्तक पढदा अनुभुति हुन्छ ।

बनेपा–४, नाला, काभ्रे
हाल : टोखा–९, गोँगबुँ, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: