साहित्य
अब त बिहानीपख हुनथाल्यो ।
क्रमसित कालो तम पनि भाग्यो ॥
वरिपरि चारैतिर मन हर्ने ।
विविध चरीले चिरबिर गर्ने ॥१॥
उपवनभित्रै परिमल छर्ने ।
कुसुम फुलेछन् दिलमन हर्ने ॥
अब रजनीको तिमिर हरायो ।
उठ उठ झ्याँपी विहग करायो ॥२॥
सरसर हावा सबतिर चल्ने ।
हपहप गर्मी पनि सब छल्ने ॥
भुनभुन गर्दै वरपर घुम्ने ।
मधुकर/मौरी मधुरस चुम्ने ॥३॥
फुरफुर गर्दै पर पुतलीले ।
प्रमुदित बन्दै रस लिन थाले ॥
अतिशय सुत्ने मनुज नजाती ।
उठ अब बन्दै परहितकारी ॥४॥
कति कुखुरीका प्रियतम भाले ।
सिउर उठाई स्वरदिन थाले ॥
मिरमिरमा नै मजदुर जागे ।
हतपत गर्दै कृषितिर लागे ॥५॥
अनि वनिताले गति लिन थाले ।
ग्रहपति डाकिन् उदित उषाले ॥
झलमल पार्दै दिनकर आए ।
सब पशु पन्छी मनुज रमाए ॥६॥
छन्द : कुसुमविचित्रा/२०८२।०९।१० ।
लिखु–६, थानसिङ, नुवाकोट।
हाल : सामाखुशी, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: