कविता

अनमोल बनोस् खजाना

१६ चैत्र २०८२
Mukunda Sharma Chalise
मुकुन्द शर्मा चालिसे

हे मित्र ! मानवजुनी अति मूल्यवान् छ
हल्ला गरेर कि घुरेर समेत जान्छ
फर्की स्वयंतिर सचेत बनी नमाती
होऔँ सदा असल कर्म गरेर जाती ॥१।

सम्पत्तिको र पदको मद हो खराब
मस्तिष्कमा फगत भर्दछ तुच्छ भाव
हामी त्यतातिर कसै पनि जम्नुहुन्न
बेकार छट्टु गफमा पनि रम्नुहुन्न ॥२।

साहित्य नै अमृत हो जुन नासिँदैन
यो वर्तमान छ सदा जुन बिर्सिँदैन
लेखौँ सुरम्य रचना पद छानिछानी
यो जीवनी सफल हुन्छ भनेर जानी ॥३।

अभ्याससाथ प्रतिभा अझ चम्चमाओस्‌
व्युत्पत्तिबाट रचना क्रम सग्बगाओस्‌
ल्याई प्रतीक अनि बिम्ब निसर्गदेखि
पारौँ मसी सफल सुन्दर काव्य लेखी ॥४।

अश्लीलभावतिर जान हुँदै हुँदैन
दुर्भावले हृदय तन्तु छुँदै छुँदैन
झल्काउँदै हृदयको चिर सौमनस्य
पोखेर सार्थक हुनेछ मसी अवश्य ॥५।

जे वाद होस् मनुजको हितमा रहोस् त्यो
आनन्दसाथ रसको पथमा बहोस् त्यो
लेखाइ सत्य शिव सुन्दरले सजाऔँ
शब्दैपिछे परमको अनुनाद पाऔँ ॥६।

पन्छाउँदै विकृतिपूर्ण र तुच्छ बोली
राखौँ भनाइ सुखदायक भाव घोली
आफ्नो मसी सदुपयोग गरेर पाना
त्यो लेखिएर अनमोल बनोस् खजाना ॥७।

छन्द : वसन्ततिलका ।
कैलासकुञ्ज, बूढानीलकण्ठ–४,
भसन्थली, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: