जीवनमा एकदिन
पौडेको थिएँ केहीबेर
नदीले बुझाइदिएको थियो अर्थ पूरै जीवनको
जसरी देखाइरहेछौ तिमीले
उज्यालो बाँच्नुको सुकिलो ऐना !
एकदिन
एउटा नदीलाई स्पर्श गरेथेँ
नदी त
फराकिँदै, गहिरिँदै र घामलाई डोर्याउँदै
उकालो चढिरहेथ्यो
बिलकुल तिमी जस्तो !
थकाइलाई
पहेँलो पातझैँ झारेर
उमङ्गलाई नयाँ पालुवाझैँ उमारेर
नयाँ नयाँ बाटोमा हिँडिरहेको सतिसाल
जब भेट्छु बेला बेलामा
लाग्छ, जीवन आफैँसँग भेटिएजस्तै !
बगिरहेको नदी
र बढिरहेको घामजस्तों सुन्दर
सँसारमा लाग्दैन अरू केही
आज तिमीलाई भेटेपछि
उज्यालोमात्र सम्झिरहेछु
अँध्यारोलाई बिर्संदै !
गोँगबुँ, नयाँ बसकार्य, काठमाडौं।
२०८२ फागुन २० गते, बुधवार ।


प्रतिक्रिया दिनुहोस्: