मान्छेहरू–
सगरमाथा ! सगरमाथा ! भनेर
कहिल्यै थाक्दैनन्
तर ननिदाउन्जेल
मनभरि मृत सागर बगाउँछन् ।
मान्छेहरू–
बुद्ध ! बुद्ध ! भनेर कहिल्यै थाक्दैनन्
अनि आँखामा आक्रोश बोकेर
सेतो बौद्ध बिहारअगाडि
हरदिन मर्निङ वाक गर्छन् ।
मान्छेहरू–
सधैँ गोरा पछिपछि लाग्छन्
र घरको हलगोरु हराउँछन्
मागेरै देश चलाउँछन्
आफ्नो हात खुट्टा बिर्सन्छन्
अरूकै खुट्टामा विश्व भ्रमण गर्छन् ।
मान्छेहरू–
वीरका सन्तान हूँ भन्छन्
र झुसेलकिरा देख्दा
शरीरभरि काँडा उमार्छन्
र सीमामा बिरोध गर्न गएका क्रुद्ध मनहरू
सुरुवाल भिजाउँछ्न्
तीन किलोमिटर अगाडि झण्डा गाड्छन्
र फर्कन्छन् बखान गर्दै बहादुरीको ।
मान्छेहरू–
राष्ट्रवादी हौँ भन्छन् र राष्ट्र हराउँछन्
समाजवादी हौँ भन्छन्
र व्यवहारमा सामाज हराउँछन्
साम्यवादी हौँ भन्छन्
पाइला पाइलामा
असमानताको बिउ रोप्छ्न् ।
मान्छेहरू–
मान्छे खेदेर मानवताको कुरा गर्छन्
जहिल्यै उल्टा उल्टा गर्छन्
र सुल्टा सुल्टा परिणाम खोज्छन्
मान्छे देशको कुरा गर्छन्
र परदेश हानिन्छन् ।
मान्छेहरू–
आफ्नो माथ हराउँछन्
र सगरमाथा खोज्छ्न्
फूल च्यात्छन् र सुगन्ध खोज्छन्
आफ्नैहरू थिचेर आफन्त खोज्छन्
उज्यालो बेच्छन् र आध्यारो किन्छन् ।
टोखा–४, धापासी, काठमाडौं।
कवि राई इडन ब्रिज एकेडेमी, धापासी, काठमाडौंका संस्थापल प्रन्सिपल हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्: