निर्वाचन भनेको मतदानको माध्यमबाट प्रतिनिधि छनोट गर्ने औपचारिक प्रक्रिया हो । यो लोकतन्त्रको आधारभूत तत्व हो जसले नागरिकलाई आफ्नो सरकार बनाउने अधिकार प्रदान गर्दछ । निर्वाचन विभिन्न तह र उद्देश्यका लागि गरिन्छ । यो विभिन्न प्रकारको हुन्छ । जस्तै : स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन, संसदीय निर्वाचन, उपनिर्वाचन, जनमत सङ्ग्रह र मध्यावधि निर्वाचन । निर्वाचनको माध्यमबाट जनताले आफ्नोतर्फबाट कानुन बनाउन र सरकार सञ्चालन गर्न प्रतिनिधिहरू चुन्ने गर्छन् ।
नेपालको लोकतान्त्रिक इतिहासमा संसदीय निर्वाचन २०८२ भने अघिल्ला निर्वाचनभन्दा अलि फरक निर्वाचन भएको पाइन्छ । सबैभन्दा पहिले यो निर्वाचन गत भदौ महिनाको २३ र २४ गते भएको जेनजी आन्दोलनको मर्म अनुसार भएको छ । यो निर्वाचनले नेपालको राजनीतिमा पुरानो पुस्ताको वर्चस्वलाई चुनौती दिँदै नयाँ पुस्ताको शक्तिलाई उदय गराएको छ । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग र गृह मन्त्रालयको भूमिका उदाहरणीय रहेको थियो । सामान्य बाहेक देशभर आचारसंहिता विपरीत कुनै पनि अमर्यादित र अमानवीय कार्य भएको पाइएन । उचित सुरक्षा तथा निर्वाचन व्यवस्थापन गर्न प्रधानमन्त्री सुशीला कार्कीको सरकार सफल भएको पाइन्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिएको थियो जसअनुसार निर्वाचन अधिकृतको कार्यालयमा नयाँ पुराना उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका थिए । उक्त मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी सही ठहरिएका उम्मेदवारहरूको नामावली प्रकाशित गरिएको थियो । आफ्ना आफ्ना चुनाव चिह्न लिएर निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारहरूले आआफ्ना घोषणापत्र अनुसारका प्रचारप्रसार गरी आफूलाई जिताउनको लागि मतदाताहरूसँग अनुनय विनय गर्दै घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । यस निर्वाचनमा नेताको जीत र हारको कुरा भन्दा पनि जनताले एउटा असल र सक्षम उम्मेदवार जिताएर आफ्नो लागि राम्रो शासन गर्ने प्रतिनिधि सभा सदस्य चुन्नु तत्कालीन आवस्यकता थियो ।
देशमा व्याप्त भ्रष्टाचार र अनियमितता रोकेर जनतालाई सुशासनको प्रत्याभूति गराउन लागि एक असल राष्ट्रप्रेमी प्रधानमन्त्रीको माग थियो पूर्वदेखि पश्चिमसम्म । सामाजिक सञ्जालको माहोल र घरदैलो कार्यक्रम एक आपसमा कन्ट्रोभर्सी देखिन्थे । एल्गोरिदमको मूल्याङ्कन अनुसार युवा नेता अझ भन्नुपर्दा घण्टी चिह्न त बच्चादेखि बूढाबुढीसम्मको मुख मुखमा झुन्डिएको थियो । अन्ततः तोकिएकै समयमा फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भयो । मतगणना अनुसार पूर्व आँकलन सही हुँदै गयो । राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रूपमा भारी मतान्तरले विजय हासिल गर्न थाल्यो । फलस्वरूप रास्वपा दुई तिहाई नजिकको जनमत जीतसँगै सरकार गठनको जिम्मेवार पार्टी बन्न सफल भयो । त्यसैगरी नेपाली कांग्रेस संसदमा दोस्रो र तेस्रो नेकपा एमाले हुन पुग्यो ।
लाग्यो लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्छन् । जनताले आफ्नो चाहना अनुसार सरकार गठन विगठन गर्न सक्छन् । साँच्चै हो रहेछ संसदमा पुस्तौंदेखि जरा गाडेर खिचातानीको शासन चलाएका दलहरूलाई पछाडि पार्दै यसपालि भरखर उदाएको रास्वपाका युवा नेताहरूले नेपाली जनताको मन जित्न सफल भए । हुन त वि.सं. २०६४ सालमा संविधान सभाको चुनाव हुँदा नेकपा माओवादी संसदमा पहिलो पार्टी भएको थियो । तर दुर्भाग्य उक्त पार्टीको सरकारले कार्यकाल पूरा नहुँदै राजिनामा दिनुपरेको थियो । तर यो निर्वाचन जेन्–जी आन्दोलनको म्यान्डेट भएकाले जनताले आफ्नो इच्छा आनुसार सरकार गठन गर्ने अवसर प्राप्त गरेका छन् । आशा छ अब बन्ने रास्वपाको दुई तिहाई नजिक बहुमतको सरकारले देशमा सुशासन कायम राख्न कुनै कसुर बाँकी राख्ने छैन । यस अघिका सरकारले जस्तो नातावाद र कृपावादको सिद्धान्त अपनाएर देशलाई वितृष्णाको खाडलमा धकेल्ने छैन । गत भदौ २३ र २४ गतेको रक्तपातपूर्ण जेन्–जी आन्दोलनमा आफ्नो ज्यानको बलिदान गर्नुहुने जेन्–जी शहीदहरूको परिवारका सदस्यहरूको आँखाको आँसु पुछ्दै उनीहरूका घाउमा मलम लगाउन सफल हुनेछ । देशको चौतर्फी विकासका लागि प्राप्त स्रोत र साधनको उचित प्रयोग गर्दै पूर्वाधारको विकासमा जोड दिनेछ । संविधानको धारा ७६(१) अनुसार छिटोभन्दा छिटो राष्ट्रपतिद्वारा प्रधानमन्त्री चयन गरी मन्त्रीमण्डल विस्तार होस् । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूले सरकार गठनसँगै विदेशमा कमाएर पठाएको रेमिटेन्सको सही सदुपयोग गर्न नेपालमा ठुला लगानीका ढोका खुलोस् भन्ने अपेक्षा गरेका छन् । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि देशमा भित्र्याउनका लागि सहज वातावरण सिर्जना गरोस् अब बन्ने युवा नेतृत्वको सरकारले ! जय देश ! जय जनता !
बनेपा, काभ्रे।


प्रतिक्रिया दिनुहोस्: