वासु शशी स्मृति परिषद् बाट स्रष्टाहरू पुरस्कृत

१६ चैत्र २०८२

२०८२ चैत १३, काठमाडौं। कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा चैत १३ गते साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार समर्पण गरिएको छ।

त्यसैगरी वासु शशी स्रष्टा पुरस्कार २०८२ साहित्यकार जयदेव भट्टराई र कृष्ण- सरस्वती साहित्य पुरस्कार २०८२ साहित्यकार हरि मञ्जुश्रीलाई समर्पण गरिएको छ।

वासु शशी स्मृति परिषदद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा ती पुरस्कारहरू समर्पण गरिएका हुन्।

वासु शशी साहित्य पुरस्कारको राशि नगद रू. २५,०००/-, वासु शशी स्रष्टा पुरस्कारको राशि नगद रू २१,०००/- तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारको राशि नगद रू २५,०००/- रहेको छ।

परिषद्का अध्यक्ष गीतकार कालीप्रसाद रिजाल सभापति रहेको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गीतकार तथा चलचित्र निर्देशक यादव खरेल रहेका थिए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति कवि डा. विष्णुविभु घिमिरे तथा वासु शशी स्मृति परिषद्का सल्लाहकार राधेश्याम लेकाली, कृष्ण- सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशीको उपस्थिति रहेको थियोे।

पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गर्दै वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे। गद्य, पद्य दुवैमा उनका थुप्रै कृतिहरू भएको उल्लेख गर्दै उनले वासु शशीका कृतिहरू रि-प्रिन्ट गरी पुन:बजारमा ल्याउनुपर्ने बताए।

सभापति गीतकार कालीप्रसाद रिजालले वासु शशी ज्यादै भद्र,असल मान्छे भएको बताउँदै  उनका कृतिहरू ज्यादै उत्कृष्ट भएको बताए। वासु शशीबाट प्रेरणा लिएर अरूले पनि सृजना गर्नुपर्ने बताए।

पुरस्कृत स्रष्टाहरु वसन्त चौधरी, जयदेव भट्टराई र हरि मञ्जुश्रीका बारे परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठले ‘रोदन’ले प्रकाश पार्दै तीनैजना स्रष्टाहरूलाई चिनाइरहनु नपर्ने र नाम नै काफी भएको बताए।

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले आफ्नो मन्तव्यमा वासु शशी जस्ता साहित्यकारका नाममा स्थापित र कवि कृष्ण जोशीको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाएकोमा आभार प्रकट गरेका थिए।

कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए। जोशीले वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि सुरू गरिएको बताउँदै वासु शशी स्रष्टा पुरस्कार भने यसै वर्षदेखि सुरू गरिएको बताए।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि ठाकुर बेलवासे गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: