बलात्कारले आक्रान्त देश….
उत्तम विचार
घरैमा लुकी यौन बस्छन् पिपासु
भए बाध्य छोरी सधैँ झार्न आँसु ।
तिखारेर नङ्ग्रा लियो प्राण दार्यो
बलात्कारले देश आक्रान्त पार्यो ॥१।
कतै काम पर्दा त निर्धक्क जान
न ता साँझ सक्छन् दिवा होस् बिहान ।
लियो ज्यान घाँटी अँठ्याएर मार्यो
बलात्कारले देश आक्रान्त पार्यो ॥२।
न हेर्यो बलात्कार गर्दा उमेर
लगायो न ता अस्मिता लुट्न बेर ।
कठै निम्छरो राज्य सम्यन्त्र हार्यो
बलात्कारले देश आक्रान्त पार्यो ॥३।
ठुलाको पर्यो पुत्र भन्दै भगाए
बढे यौनकर्मी तिनैने जगाए ।
सुरक्षा दिनेले भनी भोलि टार्यो
बलात्कारले देश आक्रान्त पार्यो ॥४।
छ जस्तो समाचार उस्तै म लेख्छु
बलात्कारले देश आक्रान्त देख्छु ।
जहाँ छन् लुकेका निकालेर ल्याऊ
छ अन्यायमा जो निया होस् दिलाऊ ॥५।
छन्द : भुजङ्गप्रयात ।
लिखु-६, थानसिङ, नुवाकोट।
हाल : टोखा-१०, गोङ्गबुँ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: