लेख

हाम्रो आस्थाको ज्योति : मणिराज सिंह

१८ चैत्र २०८२
लक्ष्मी बडाल

हाम्रो आस्थाको ज्योति : मणिराज सिंह
लक्ष्मी बडाल

साँच्चिकै कतिपय साहित्यकारहरू अत्यन्तमाथि पुग्छन् । आफूलाई वरिष्ठ वा विशिष्ट बौद्धिक साहित्यिक व्यक्तित्व ठान्नेहरूलाई देख्दा मलाई अचम्म लाग्छ र कहिलेकाहीँ तिनीहरूलाई बिर्सिएर आफूलाई बदल्न मन लाग्छ । तर मैले मणिराज सिंह जस्तो नरम र मीठो बोली हालसम्म कसैको पनि भेट्न सकेकी छैन । राष्ट्रले मात्र होइन, अन्तर्राष्ट्रिय जगत्‌लेसमेत उहाँलाई उत्तिकै सम्मानका साथ लिन्छ । आफू भोकै बसेर पनि अरूको भोक, तिर्खा र पीडा बुझ्ने विशिष्ट व्यक्तित्व हुनुहुन्छ मणिराज सिंह ।

उहाँमा समाजप्रति गहिरो आस्था र प्रेम छ । कहिले तराई, कहिले शहर, कहिले देशविदेश सबैतिर उहाँको ध्यान पुग्छ । गाउँले जीवन उहाँलाई निकै मन पर्छ । उहाँको इज्जत गाउँदेखि शहर, शहरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ । जीवन यात्रामा उहाँ धेरैका प्रिय मान्छे बन्नुभएको छ । उहाँका जीवनका गहिराइ संसारिक किनारासम्म गरिमामय बनेको अनुभूति हुन्छ ।

मलाई उहाँको अनुहार जुनताराभन्दा पनि उज्यालो लाग्छ । उहाँमा साहित्यप्रति प्रेमिल समर्पण छ, भन्दा दुई मत नहोला । समयले उहाँलाई साँच्चै अब्बल साहित्यकार बनाएको छ । उहाँको उज्ज्वल भविष्यका लागि मेरा हार्दिक कामना छन् । मलाई उहाँसँग साहित्यले नै सम्बन्ध गाँसेको हो । उहाँ रूपले मात्र होइन मनले पनि एकदम सुन्दर हुनुहुन्छ । उहाँका मृगनयनी आँखाहरू सबैसँग आत्मीयता गाँस्छन् र साहित्य संसारलाई रङ्गीन बनाइदिन्छन् । उहाँको मिजासिलो बोलीले नै उहाँप्रतिको आस्था झन् सलबलाएको हो ममा ।

उहाँका शब्दहरू मिठास र मौनताको समिश्रण भएर सबैमा छताछुल्ल पोखिन्छन् । म चाहन्छु– ईश्वरले उहाँजस्ता असल मानिस धेरै सृजना गरून्, साहित्यका भगवान्‌जस्तै । उहाँ मेरा कल्पनामा आदर्शवादी कविका रूपमा स्थापित हुनुभएको छ । उहाँका विचारहरू शीतका थोपा झैँ टल्किएका देख्छु । नैतिकता गुमाएका साहित्यिक प्रवृत्तिहरू उहाँलाई कदापि मन पर्दैनन् । देशका विभिन्न स्थान तथा देश–विदेशमा उहाँले भ्रमण गरिसक्नुभएको छ । देशभरिका भ्रष्ट आचरणप्रति उहाँ सधैं टाढै रहनुहुन्छ ।

उहाँले दुनियाँलाई पछ्याएर होइन, आफ्नै सरल र ज्ञानी अन्तरमनको मन्दिर निर्माण गर्नुभएको छ । साहित्यप्रति कोमल बतासका बाटाहरू देखाउँदै, साहस मनमा राख्दै, बुद्धत्व छुन खोज्दै सबैलाई कल्याणकारी मार्गतर्फ उन्मुख गराउनु भएको छ । साहित्यभित्र कसैलाई पनि आफ्ना आँखाभित्र अन्धकारमा बस्न दिनुहुन्न ।

उहाँभित्रको साहित्यिक विकासले समानताको सन्देश दिएको छ, सगरमाथाको सपनामा नदी तरेझैँ । उहाँले आफ्ना मस्तिष्कलाई सधैं सशक्त र सजग राख्नुभएको छ, संस्कृतिलाई चिनाउँदै । उहाँका नवीन सृजनाका उमङ्गहरूमा सुमधुर हरफहरू फेरिएर ठाउँ–ठाउँमा जोश थपिन्छ । सबै साहित्यिक व्यक्तिहरू उहाँजस्तै सरल र माननीय हुनु सजिलो छैन । यो साहित्यिक संसारको चुलीमा घाम बनेर उदाउनुभएको साँच्चिकै मणिराज सिंहले दुःख–पीडा भुली विश्वासका साथ हजारौँ कोमल मनमा आशाका लहर फिँजाउनुभएको छ ।

साहित्यिक कार्यक्रममा विभिन्न रूपका अवतार बनेर, प्रकृतिमा सबैका शब्द बुझ्ने संवेदनशील व्यक्तित्वका रूपमा उहाँ हरेकका मनमनमा रहर र चाहना बनेर बस्नुभएको छ । सपनाभरि हावाको झोक्काझैँ आफूलाई कल्पनामा छर्दै, वर्षाउँदै, साहित्यिक कलममार्फत शब्दमा जीवन भर्नुहुन्छ । लाग्छ– अब देशका अँगालोमा अझ धेरै ‘मणिराज’ जन्मिनेछन् ।

कपन, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: