अबको नयाँ नेपाल
प्रिन्स राई
कक्षा : ६
जेन जी आन्दोलन नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं. २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु भएको सरकार विरुद्धको प्रदर्शनी र झडपहरूको शृङ्खलाबद्ध घटना हो । जसमा जेन जी पुस्ताका नेपाली नागरिकहरूको प्रमुख भूमिका रहेको थियो । सत्ता पक्ष तथा सत्तामा रहँदा सरकारका प्रतिनिधिहरूद्वारा गरिएका शृङ्खलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर), युट्युबसहितका प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि यो आन्दोलन देशव्यापी रूपमा सुरु भएको थियो ।
यो मुख्यतः सरकारले १२ भदौ २०८२ सम्ममा नेपालमा दर्ता हुन नआएका सामाजिक सन्जाल बन्द गर्ने घटनासँग सम्बन्धित विषय हो । मन्त्रिपरिषद्को ९ भदौको निर्णय, ‘एक साता भित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान गरिने र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने’ रहेको थियो ।
नतिजा स्वरूप २३ भदौ २०८२, सोमबार जेन जीले सामाजिक सञ्जाल माथिको प्रतिबन्धको लागि मात्र विरोध नभई समग्र भ्रष्टाचारको विरोधमा रहेको जनाउँदै देशका विभिन्न शहरहरूमा दिनभर प्रदर्शन गरिरहे । सोही दिन नेपालका प्रमुख शहरहरूमा प्रदर्शन भए भने राजधानी काठमाडौँमा हिंसात्मक आन्दोलन भएको थियो ।
आन्दोलनका क्रममा देशभर १९ जनाको मृत्यु भएको र ३४७ भन्दा बढी घाइते भएका समाचारहरू प्राप्त भएका थिए ।
आन्दोलनको दोस्रो दिन, २४ भदौ २०८२, मङ्गलबार थप विरोध प्रदर्शनी कायम रही मुख्य सरकारी सरकारी भवन र कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए ।
२९ भदौ २०८२ सम्म, विरोध प्रदर्शनमा मृत्यु हुनेको कुल सङ्ख्या ७२ पुगेको थियो, जसमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी, ३ जना नेपाल प्रहरीका थिए । सरकारले शाहदत प्राप्त गरेकाहरूलाई शहीद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेको थियो ।
अबका पुस्ताले यसबाट यो सिक्न जरूरी छ कि स्वभाविक असन्तुष्टि हुँदा पनि शान्ति र समझदारीलाई प्राथमिकता दिनु जरुरी छ । अधिकारका लागि संघर्ष गर्न सकिन्छ, तर देश र जीवनलाई नोक्सान नपुर्याउने उपाय अपनाउनुपर्छ । संघर्ष र सहकार्यबीच सन्तुलन बनाएर मात्र समाजमा साच्चिकै परिवर्तन आउँछ ।
नेसनल युनाइटेड स्कुल
गणेशचोक, बूढानीलकण्ठ, काठमाडौं ।
पानीसँगको रमाइलो यात्रा : मेरो पौडीको अनुभव
आनन ज्ञावली
कक्षा : ६
गर्मीयाम सुरु भएको थियो । स्कुलबाट सूचना आयो कि हामी कक्षा ६ का विद्यार्थीहरू जेठ २७ गते हात्तीगौंडा पोखरीमा पौडी सिक्न जाँदैछौँ । त्यो खबर सुन्दै गर्दा मेरो मनमा अनौठो उत्साह जाग्यो । कहिल्यै पौडी खेलेको थिइनँ, पानीसँगको डर पनि थियो, तर नयाँ कुरा सिक्ने मौका पनि थियो ।
हामी बिहानै स्कुलबाट शिक्षकहरूको निगरानीमा हात्तीगौडा पुग्यौँ । सफा र ठूलो पोखरी देख्दा मन एकछिन त डरायो तर साथीहरूको साथले आत्मविश्वास आयो । प्रशिक्षकहरूले हामीलाई पहिलोपल्ट पानीसँग परिचित गराउनुभयो । हामीले कसरी सास फेर्ने, पानीमा कसरी हात, खुट्टा चलाउने भनेर आधारभूत जानकारी पायौँ ।
दोस्रो पल्टदेखि त झन् रमाइलो भयो । केही साथीहरू त पहिलेदेखि नै राम्ररी पौडी खेल्न सक्थे, उनीहरूले हामीलाई पनि हौसला दिए । पोखरीको छेउमा बसेर हामीले पालो कुर्ने बेलामा खाजा खाँदै गफगाफ पनि गर्न लाग्यौ । केही साथीहरू पानीमा डुबुल्की मार्थे भने अरूले नयाँ चाल सिक्ने प्रयास गर्थे ।
मलाई सबैभन्दा रमाइलो कुरा चाहिँ पोखरीमा पहिलोपटक आफैंले तैरन सक्दाभयो । जब प्रशिक्षकले मलाई ‘स्यावास !’ भन्नुभयो, म एकछिनका लागि गर्वले भरिएँ । अब मलाई पानीको डर छैन । बरु म अझै अभ्यास गरेर राम्रो पौडी खेलाडी बन्ने सपना देख्न थालेको छु ।
यो कार्यक्रमले मलाई केवल पौडी खेल्न मात्र सिकाएन, आत्मविश्वास बढायो, साथीहरूसँगको सम्बन्ध अझ बलियो बनायो र स्कुलका रमाइला क्षणहरूमा एउटा अविस्मरणीय पाना थप्यो । धन्यवाद हाम्रो स्कुललाई, यस्तो सिकाइपूर्ण र रमाइलो अवसर प्रदान गरिदिनुभएकोमा ।
नेसनल युनाइटेड स्कुल
गणेशचोक, बूढानीलकण्ठ, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: