पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइला
पढाइ र खेलकुदलाई सँगैअघि बढाउने शुभद्रा

बुबा सुनिल गुरुङ र आमा वसन्ती गुरुङको कोखबाट वि.सं.२०६८ साल पुस ७ गते तनहुँको छाङमा शुभद्रा गुरुङको जन्म भएको हो । उनी हाल काठमाडौँ युरो आईबी वर्ल्ड स्कुल, टोखा–८, गोँगबुँ, काठमाडौंमा कक्षा : ९ मा अध्ययनरत छिन् ।
बहुआयामिक रुचि भएकी गुरुङलाई कराँते, बास्केटबल र क्रिकेट खेल निकै मन पर्छ । लेखन, पठन र सिर्जनात्मक कार्यहरू पनि उनका उत्तिकै रुचिका विषयहरू हुन् । उनी आफूलाई एउटा कविको रूपमा पनि चिनाउन मन पराउँछिन् । शुभद्राले अनुशासित रूपमा खेलकुद र पढाइलाई सँगसगै अघि बढाइरहेकी छिन् । उनी भन्छिन्, ‘कराते, बास्केटबल, क्रिकेट जुन म निरन्तर अभ्यास गर्दै आएको छु, यी मेरा लागि केवल शारीरिक क्रियाकलाप मात्र होइनन्, यी त मेरा व्यक्तित्व निखार्ने माध्यम पनि हुन् ।’ विशेष गरी उनको मुख्य खेल भने कराँते हो । उनी विगत पाँच वर्षदेखि कराँते खेलमा निरन्तर सक्रिय रहँदै आएकी छिन् । खेलकुदबाट अनुशासन, धैर्य र परिश्रमको वास्तविक अर्थ बुझ्ने अवसर पाएको पनि उनी बताउँछिन् । हालै टोखा नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगितामा उनले आफ्नो सक्दो प्रदर्शन गर्दै कुमुतेतर्फ स्वर्ण पदक र कातातर्फ रजत पदक हासिल गरेकी छिन् ।
आफ्नो सफलताको श्रेय स्कुल परिवार, साथीभाइ, खेल प्रशिक्षक र शिक्षकशिक्षिकाहरूलाई दिने शुभद्रा आगामी दिनहरूमा पनि आफ्नो कौशललाई अझ निखार्दै, उच्च अनुशासनका साथ अघि बढ्ने र उत्कृष्ट प्रर्दशन गर्ने कुरा बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस्: