पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेको उत्कृष्ट पाइला
हुने बिरुवाको चिल्लो पात : शुभन भण्डारी

बागमती प्रदेशको चितवन जिल्लामा अवस्थित रत्ननगर नगरपालिकामा वि.सं. २०७० भदौ १८ गते पुष्पराज भण्डारी र अम्बिका चालिसे भण्डारीको ज्येष्ठ पुत्ररत्नका रूपमा जन्मिएका शुभन भण्डारी साँच्चै नै अनमोल रत्न हुन् । सानैदेखि अध्ययनमा असाधारण रुचि देखाएकै कारण उनले अहिलेसम्म कुनै परीक्षाहरूमा अरूलाई प्रथम हुने मौका दिएका छैनन् । लाइसियम ईन्टरनेसनल बोर्डिङ स्कुल चितवनबाट कक्षा ३ सम्मको शैक्षिक यात्रा सम्पन्न गरेर उनी काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाई स्कुलमा कक्षा ४ मा भर्ना भई हाल त्यसै स्कुलको कक्षा ७ मा अध्ययनरत छन् ।
पिता पुष्पराज भण्डारीको गायनकला र साहित्यिक छत्रछायामा हुर्कने अवसर पाएकाले शुभन सानैदेखि गीत गुनगुनाउने र कविता कोर्ने काम गर्थे । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ गायन र साहित्यमा पनि उनले राम्रो पकड जमाएका छन् । उनी विद्यालयमा आयोजना हुने हरेक गायन प्रतियोगितामा प्रथम हुन्छन् भने विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी हुने हरेक कार्यक्रममा कुनै न कुनै स्थान ओगट्न सफल हुन्छन् । उनी छन्दमा कविता गाउन पनि उत्तिकै अब्बल छन् ।
हँसिलो चेहरा गहुँगोरो अनुहार भएका शुभनका मिलनसार स्वभावले जोकोहीलाई पनि उनीतिर आकर्षित गर्छ । उनी जति मिठो गीत गाउँछन् त्यति नै वाककलामा पनि निपुण छन् । उनी अङ्ग्रेजी र नेपाली दुबै भाषामा धाराप्रवाह रूपमा कुनै पनि शीर्षकमा बोल्न सक्छन् भने चाइनिज भाषामा पनि भाषण गर्न सक्छन् । उनी सिर्जनात्मक लेखाइमा पनि प्रायः उत्कृष्ट तीनभित्रै पर्ने गरेका छन् । उनी चित्रकला र नृत्यकलामा पनि पोख्त छन् । खेलकुदमा पनि शुभनको राम्रो दखल रहेको छ ।
उनलाई पढ्न, लेख्नको लागि कसैले पनि करकाप गरिरहनुपर्दैन । उनी आफ्ना हरेक काम समयतालिका मिलाएर गर्छन् । उनी प्रविधिमा पनि निकै अगाडि छन् । उनीलगायत उनका समूहले तयार पारेका रोबर्टहरू विद्यालय महोत्सवमा पनि प्रदर्शन गरिएका थिए । हालसम्म उनी र उनका समूहले ड्रोन, ह्यान्ड स्यानिटाइजर डिस्पेन्सर, गेश्चर कन्ट्रोल कार बनाएर प्रदर्शन गरिसकेका छन् ।
चिनियाँ भाषामा राम्रो दखल भएका शुभन भण्डारी वाई.सी.टी.वान, वाई.सी.टी.टू, वाई.सी.टी. थ्री र एच.एस.के.वान जस्ता चाइनिज भाषा परीक्षामा उत्तीर्ण भइसकेका छन् । अनुशासित विद्यार्थीको रूपमा गनिने शुभनले उत्तर भेगीय शैक्षिक मञ्चद्वारा आयोजित गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । त्यसैगरी विद्यालय स्तरीय अङ्ग्रेजी भाषाको वक्तृत्वकलामा उनी दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी हाम्रो लघुकथा केन्द्रद्वारा आयोजित उपत्यकाव्यापी लघुकथा प्रतियोगितामा उनी दोस्रो स्थान ओगट्न सफल भएका थिए । आफ्नो काममा कहिल्यै नथाक्ने शुभन भविष्यमा होनहार व्यक्तिको रूपमा चिनिने कुरा अहिले नै आँकलन गर्न सकिन्छ । सधैँ आफ्नो कर्ममा लगनशील भएर लाग्ने शुभनलाई उनको सुनौलो भविष्यको लागि हार्दिक शुभकामना !


प्रतिक्रिया दिनुहोस्: