काठमाडौ, २०८२ चैत्र १८ गते। बालसाहित्य महोत्सवको अवसरमा बूढानीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न बाल साहित्य महोत्सव (दोस्रो संस्करण) को एकल गायन प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुलका शुभन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा भण्डारीले आफ्नो स्वरमार्फत कला प्रस्तुत गरेर पाँच हजार नगद पुरस्कारसहित प्रशंसापत्र तथा ट्रफी प्राप्त गरेका छन् ।
प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी तथा विशिष्ट अतिथि गायिका कुन्ति मोक्तानको गरिमामय उपस्थिति रहेको सो कार्यक्रममा ४२ विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्दै भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । सानैदेखि गायनमा रुचि राख्ने शुभनको गायन कलालाई अझै उत्कृष्ट बनाउनका लागि विद्यालयले खेलेको भूमिकाप्रति आफू सदैव कृतज्ञ रहेको कुरा उनले व्यक्त गरेका छन् ।
माध्यामिक तथा आधाभूत दुई तहमा भएको गायन प्रतियोगितामा आधारभूत तहतर्फ शिशु मिलन माविकी परिषा तामाङ प्रथम, भक्ति इन्टरनेसनल स्कुलकी ओरोपी गिरी दितीय, पिक पोइन्ट एकेडेमीकी त्रियाम्शी श्रेष्ठ तृतीय र बाल विकास स्कुलका सुमन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
शुभनलाई प्रशिक्षण गर्नुहुने सङ्गीत शिक्षक बलराम समाल, अतिरिक्त संयोजक शुकमान लामा, विद्यालय संयोजक लक्ष्मण तितुङलगायतलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले पनि शुभनलाई सम्मान गरेको छ । यस्ता प्रकारका कार्यक्रमहरूले बालप्रतिभाहरूको क्षमता उजागर गर्दै उनीहरूलाई प्रोत्साहन दिने भएकाले विद्यालयका संस्थापक अध्यक्ष शङ्करदास श्रेष्ठ, संस्थापक प्राचार्य महेश कुमार श्रेष्ठ र प्रशासकीय अधिकृत दिनेश श्रेष्ठले आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्: