लेख

उत्कृष्ट बालप्रतिभा

२० चैत्र २०८२
नेसनल युनाइटेड स्कुल

पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइलाहरू

नेपाली साहित्याकाशकी चम्किली नक्षत्र बन्दै अश्विना
अश्विना पौडेल

शान्ता दाहाल र कृष्ण पौडेल दम्पतिका कान्छी छोरीका रूपमा दमकमा अश्विना पौडेलको जन्म भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटमा बस्तै आएकीछिन् । सानैदेखि साहित्य तथा अध्ययनमा असाधारण रुचि देखाएकी कारण उनी सधैँ उत्कृष्ट पहिचान बनाउन सफल भइन् । हाल उनी नेसनल युनाइटेड स्कुल बूढानीलकण्ठ न.पा.–८, भङ्गालमा कक्षा : ८ मा अध्ययनरत छिन् ।

उनी आफ्नो विद्यालयको नियमित अध्ययन सकेर खाली रहेको समयमा समेत टेलिभिजन तथा मोबाइलमा आफ्नो परिवारसँगै बसेर साहित्यिक कार्यक्रमहरू  हेर्ने गर्छिन् । यसबाट कविता लेखनप्रति चाख बढी साहित्यको आधारशिला तयार भएको उनी बताउँछिन् । उनी कुनै नयाँ कुरा देख्दा वा आफ्ना मनमा नयाँ भावनाहरू आए तिनलाई कवितामा उतार्ने चेष्टा गर्छिन् । विद्यालयमासमेत साहित्य लेखन, वाचन तथा साहित्यिक अन्तरक्रियाहरू सञ्चालन भइरहने हुँदा उनलाई साहित्यलेखनमा अझ प्रेरणा प्राप्त भइरहेको छ ।

घरमा विभिन्न विषयवस्तुसँग रमाउँदै शब्दका गुच्छा बुन्ने उनी अत्यन्त सुन्दर कविताहरू सिर्जना गर्छिन् । उनले आफूले लेखेका विभिन्न सिर्जनाहरू आफ्नो कक्षामा साथीहरू र शिक्षक शिक्षिकाहरूलाई सुनाउँदै त्यसको पृष्ठपोषणको अपेक्षा पनि राख्ने गर्छिन् । केही समय यता उनमा साहित्य सर्जिनाको प्रस्फुटन द्रुत गतिमा भएको उनीका साथीहरू बताउँछिन् । विद्यालयमा हुने कविता लेखन तथा वाचन प्रतियोगितामा सधैं उत्कृष्ट नतिजा ल्याउने उनी हाल विद्यालयकी एक उत्कृष्ट बालसाहित्यकार हुन् । आफ्नो सिर्जना, अध्ययन र लगनलाई निरन्तरता दिएमा अश्विना नेपाली साहित्यकाशकी चम्किली नक्षत्र बन्न सक्ने सम्भावना प्रवल रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: