कथा दिवसमा  सर्जकहरू सम्मानित

२० चैत्र २०८२

२०८१ चैत १९, काठमाडौं । साहित्यिक पत्रकार सङ्घ (Literary Journalist Association) ले आज ४५ औं कथा दिवसको अवसरमा सम्मान एवं पुरस्कार समर्पण समारोहको आयोजना गर्‍यो ।

सो अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ सम्मानित र पुरस्कृत हुनुभयो । आजै व्यथित काव्य डायस्पोरा सम्मानबाट सम्मानित गरिने घोषणा गरिएका कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहनु भएकोले पछि प्रदान गरिने भएको छ ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्यले सम्मान र पुरस्कार समर्पण र्नुभएको थियो ।

कार्यक्रममा सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय वरिष्ठ समालोचक प्रमोद प्रधानले दिनुभएको थियो । यसैगरी सो सम्मान र पुरस्कारका लागि गरिएको चयनका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”ले स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमा प्रकाश पार्दै कथा दिवसबारे जानकारी दिनुभएको थियो । यसैगरी प्रमुख अतिथि के के कर्माचार्यले सम्मान र पुरस्कारका लागि असल पात्रहरूको चयन भएको बताउँदै यस्ता सम्मानबाट स्रष्टाहरूलाई अझ सक्रिय भएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर उद्घाटन गरिएको सो कार्यक्रमको सन्चालन तथा सहजीकरण कवि एवं कथाकार मणि लोहनीले गर्नुभएको थियो ।

साहित्यिक पत्रकार सङ्घका कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा सङ्घ पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, लोकप्रिया पुरस्कारदाता शशी रिमाल, इन्जिनियर शङ्करनाथ रिमाल, ड़ा दामोदर पुडासैनी, साहित्यकार/पत्रकार उमेश पाण्डे,  गीतकार शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., साहित्यकारहरू हिरण्यकुमारी पाठक, पवन आलोक, मातृका पोखरेल, रामप्रसाद पन्त, प्रद्युम्न जोशी, बालकृष्ण श्रेष्ठ, नरेन्द्रराज पौडेल, शेखर ढुङ्गेल, अमर प्रधान, डी. आर. राई, जयदेव भट्टराई, विमल वैद्य, शरद प्रधान, विजयध्वज थापा, गोपीकृष्ण प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: