काठमाडौं युरो स्कुलमा एकदिन

२१ चैत्र २०८२

यसपालि अर्थात् यही २०८२ साल माघ २२ गते हामी केही साहित्यकारहरू काठमाडौंको टोखा–८, गोँगबुँ, बानियाँटारमा रहेको काठमाडौं युरो स्कुलमा गएर संसाकको नियमित कार्यक्रम अन्तर्गत ‘विद्याथीसँग साहित्यकार : विमर्श र साक्षात्कार’ गर्ने काम गर्‍यौँ । कार्यक्रममा डा.सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल, डा.दामोदर पुडासैनी किशोर, कवि मुकुन्द शर्मा, कवि प्रभा भट्टराई, कवि सीता भट्टराई, कवि पार्वती पुडासैनी, साहित्यकार/पत्रकार उमेश पाण्डे, साहित्यकार माया शर्मा, तारा के.सी., राजेन्द्र घिमिरे, उत्तम विचार भेटुवाल, सुनिता सापकोटा र सुशीला शर्मा धमला सहभागी भएका थियौँ ।

काठमाडौं युरो स्कुलको यस दिनलाई सम्झदा आजभन्दा अघिका दिनहरूलाई पनि सम्झनुपर्ने हुन्छ । २०८१ साल भदौ ५ गते पनि संसाकले यस स्कुलमा विद्याथीहरूसँग साहित्यकारहरूको विमर्श र साक्षात्कार गराएको थियो । कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल, प्रा.डा.गोविन्द मानसिंह कार्की, डा.अम्बिका अर्याल र उमेश पाण्डे काठमाडौं युरो स्कुल पुगेका थियौँ । त्यसको केही दिनअगाडि मात्र मैले अध्यक्ष प्रमोद सरलाई भेटेर ‘प्रमोदजी ! हजुरको स्कुलमा विद्यार्थीहरूसँगको छोटो कुराकानीको लागि हामी आउँछौँ, हुन्छ नि ?’ भनेर सोधेको थिएँ । प्रमोदजीले ‘हुन्छ, भैहाल्छ नि भन्नुभयो ।’ हामी चार जना स्कुलमा गयौँ । त्यतिबेला हामीले विद्यार्थीहरूसँग ‘साहित्य र जीवन जगत् सम्बन्धी तीन विषयमा कुराकानी गरेका थियौँ । हामी विद्याथीहरूसँग भेटघाट, कुराकानी र छलफल गरेर चिया, खाजा खाएर केही बेरको बसाइपछि स्कुलबाट निस्केका थियौँ ।

यसपालिको विमर्श र छलफल अलि विस्तृतरूपमा गर्ने भन्ने बारेमा प्रमोदजी र हामीबीच छलफल भएको थियो । माघको दोस्रो हप्ता मैले प्रमोदजीलाई स्कुलमा भेटेर यस विषयमा कुराकानी गरेको थिएँ । उहाँले माघ २३ गते स्कुलबाट चितवन भ्रमणमा जाने कार्यक्रम छ, यो विमर्शको कार्यक्रम माघ २२ गतेलाई गरौँ, भन्नुभयो । त्यसैमा मैले पनि ‘हुन्छ, म तयारी गर्छु’ भने । उहाँले तत्काल मलाई पुस्तकालयको प्रवेशजी र सहायक प्रिन्सिपल राममणि पौडेल सरसँग भेटाएर कार्यक्रमको तयारीको लागि कुराकानी गराउनुभयो । उहाँले ‘कार्यक्रमको लागि उमेशजीसँग सल्लाह र सहयोग गर्नुहोला’ पनि भन्नुभयो । त्यसपछि स्कुलकाट पर्केपछि म तयारीमा लागेँ ।

मैले भोलिपल्टै डा.सत्यराज थपलियालाई भेटेर र शैलेन्दु सर, दामोदर सर, मुकुन्द गुरु, प्रभा दिदी, सीता म्याम, माया दिदी, तारा बैनी, पार्वती म्याम, राजेन्द्रजी, उत्तमजी, सुनिता र सुशीला बैनीलाई फोन गरेर कार्यक्रममा आउने निधो गरेँ । पुनः माघको २० गते मैले प्रमोदजीलाई यी सबै कुराको जानकारी गराएँ । उहाँले हुन्छ, भन्नुभयो । यसरी यो कार्यक्रम निर्धारण र निश्चित गरिएको थियो ।

माघ २२ गते दिउँसो १२ : ३० बाट हामीहरू स्कुलमा पुग्न थालेका थियौँ । क्रमशः आउँदै गर्दा १ बजेसम्ममा हामी सबै जना स्कुलमा पुगिसकेका थियौँ । स्कुल पुगेर कार्यक्रम सुरु गर्‍यौँ । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले मुकुन्द शर्मा चालिसे, प्रभा भट्टराई, सीता भट्टराई र पार्वती पुडासैनीसँग ‘जीवन र जगत् विशेष कुराकानी’, प्राध्यापकको दैनिकी, विद्यार्थीसँग भलाकुसारी, म र मेरो जीवनका सम्बन्धमा प्रश्न र कुराकानी गरेका थिए । त्यस्तै डा.सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल, डा.दामाोदर पुडासैनीले भाषा, साहित्यका विविध पक्ष र विषयमा छलफल गर्नुभएको थियो ।

दोस्रो चरणमा स्कुलको फुट्सल हलमा साहित्यकारहरू, विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल, शिक्षक–शिक्षिका र विद्यार्थी भाइबहिनीहरू माझ साहित्यिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा विद्यार्थीहरू रोनिशा अधिकारी (कक्षा : ५), रूविना धिताल (कक्षा : ५), निस्कृति निशा पौडेल (कक्षा : ६) ले कविता वाचन गरेका थिए । त्यस्तै शिक्षिका वागेश्वरी धामीले पनि कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरू प्रभा भट्टराई, तारा के.सी, पार्वती पुडासैनी, सीता भट्टराई, मुकुन्द शर्मा चालिसे, सुनिता सापकोटा, उत्तम विचार भेटुवाल, राजेन्द्र धिमिरे, सुशिला शर्मा धमला आदिले पनि आआफ्‌ना रचनाहरू सुनाउनु भएको थियो । डा.सत्यराज थपलिया, डा.दामोदर पुडासैनी र डा.शैलेन्द्रुप्रकाश नेपालले आजको समाजमा साहित्यको महत्त्व र आवश्यकता, नेपाली साहित्यको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय जगत्‌मा साहित्यकारहरूको सम्मान र मर्यादाको कस्तो हुने जानकारीको साथै विद्यार्थी र साहित्यकार बीचमा निरन्तर यस्ता साहित्यिक अन्तरक्रिया हुनुपर्ने कुरा बताउनुभयो । विद्यालयका सहायक प्रिन्सिपल राममणि पौडेलले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने कुरा बताउनुभयो । संसाक मासिकका सम्पादक/प्रकाशक उमेश पाण्डेले सबै कार्यक्रमको सञ्चालन तथा संयोजन गर्नुभएको थियो ।

दिउँसो ५ बज्नै लागेको थियो होला कार्यक्रम सकिँदा । सहायक प्रिन्सिपल सरले चिया खाएर जानुपर्छ भन्नुभयो । कोही त गइसक्नुभएको थियो । हामी त्यहाँ भएका जतिले ग्राउण्डको वरपर उभिएर चिया खायौँ । चिया सक्दा ५ः३० भइसकेको थियो । स्कुल परिवारसँग बिदा भएर त्यहाँबाट निस्कियौँ । साथीहरू के के मनमा सोच्दै घर जानुभयो थाहा भएन । तर म भने संसाकको फागुन अङ्क यही काठमाडौं युरो स्कुल विशेष अङ्क निकाल्ने योजना मनमा बुन्दै घरतिर लागेँ ।

प्रतिक्रिया दिनुहोस्: