शुभकामना !
डा.दामोदर पुडासैनी किशोर
शिखर आरोहणमा संसाक पत्रिका !
एउटा उज्यालो चिराक बोकेर अघि बढिरहेको छ संसाक पत्रिका । समाजलाई ज्यूँदो बनाइरहने भाषाले नै हो । भाषा समृद्ध हुनु भनेको समाजमा सुसंस्कारको विकास हुनु हो । एउटा सक्षम पत्रिकाले भाषाको माध्यमबाट साहित्य, कला, सङ्गीत र संस्कृतिको अभिलेख मात्र राख्दैन ती सबै क्षेत्रमा उज्यालो र गति थप्ने काम पनि गर्दछ । संसाक पत्रिकाले यस क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
संसाक पत्रिकाको भूख्य भूमिकामा हुनुहुन्छ यसका सम्पादक उमेश पाण्डे । यो पत्रिकाको उन्नयन र पत्रिकाको माध्यमबाट समाजको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक र कलात्मक पक्ष सिर्जनशील बनाउँन उहाँ निरन्तर दह्रो रूपमा खटिरहनु भएको छ । यसैको कारण संसाक पत्रिकाको स्तर दिनानुदिन बढ्दै जानुको अलावा समाज, समुदाय, क्षेत्र र राज्यकै समुन्नतिमा पनि उल्लेखनीय योगदान मिल्दै आएको जगजाहेर नै छ । समाजमा लुकेर बसेका प्रतिभाहरूको सिर्जना प्रकाशमा ल्याउँने एवं संस्कृति, साहित्य र कलाको क्षेत्रमा योगदान दिएका तर राज्यको गणनामा समेत नपरेका प्रतिभाहरूलाई खोजी खोजी सम्मान र पुरस्कार प्रदान गर्ने कार्य गरेर संसाक पत्रिका सबैको स्तुत्य पत्रिका सावित भएको छ । अझ केही वर्ष यता विद्यालय, कलेज, गाउँ, शहर र बस्ती बस्तीमा पुगेर शिक्षक, विद्यार्थी, राजनीतिज्ञ, समाजसेवी, व्यापारी, किसान र अरू सर्वसाधारणलाई साहित्यकारहरू सबैसँग जोडेर जीवन, जगत्, दर्शन, लेखकहरूको रचनाधर्मीता र सर्वसाधारणको अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरेको कारण समाजका हर वर्गले साहित्य, कला र सङ्गीतको महत्व बुझ्न थालेका छन् र संसाक आफै समाजका हर सदस्यको मन मनमा बस्न सफल भएको छ । काठमाडौ उपत्यका मात्र नभै देशका विभिन्न जिल्लामा समेत यस किसिमका कार्य सञ्चालन गरेकोले संसाकको गरिमा अरू गाढा भएको छ ।
काठमाडौं युरो स्कुल गोँगबुँ, काठमाडौले हालै साहित्यकारहरूलाई आफ्नो प्राङ्गणमा उभ्याएर शिक्षक, विद्यार्थी र कर्मचारीहरूका जीवन र जगत् संबन्धी प्रश्नका उत्तरहरू खोज्ने अवसर जुरायो । यो सामान्य देखिए पनि दीर्घकालसम्ममा यसको प्रभाव गहिरो र सार्थक पुष्टि हुँदै जानेछ । शैक्षिक क्षेत्रमा उम्दा र स्तरीय ढङ्गले अघि बढिरहेको युरो स्कुलले आफ्ना विद्यार्थी र विद्यालय परिवारलाई साहित्य, कला र संस्कृतिको मीठो अनुभूति गर्ने मौका दिनाले काठमाडौं युरो स्कुलले शैक्षिक जगत्मा नयाँ संस्कारलाई बढावा दिएको देखिन्छ । काठमाडौं युरो स्कुलको यस किसिमको सिर्जनशील कर्मलाई जति प्रशंसा गरे पनि कम नै हुन्छ । अरू विद्यालय र कलेजहरूले पनि यसको अनुशरण गर्नु उचित हुन्छ ।
संसाक परिवारको एक सदस्यको नाताले यसको शिखर आरोहण देखेर म आफै दङ्ग छु र यसको सवलतामा म हरक्षण समर्पित हुनेछु ।
२०८२ माघ २२ गते ।
गोँगबुँ, नयाँ बसकार्य, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: