कुखुरी काँss
डा.सत्यराज थपलिया
उठ बहिनी हो ! अब उठ भाइ ।
अधिक सताए खलजन आई ॥
नयन उघारी निहत निशामा ।
मधुर प्रभाती सुन कुखुरी काँss॥१॥
अलिअलि गर्दै नभतिर तारा ।
सकल विलाए अब उठ सारा ॥
विहगहरूको चिरचिरतीमा ।
मधुर प्रभाती सुन कुखुरी काँss ॥२॥
जनमथलोमा अब अति नै भो ।
घुर घुर घुर्दै नसुत युवा हो ! ॥
सब जन जागी उठ दुनियाँमा ।
मधुर प्रभाती सुन कुखुरी काँss ॥३॥
जल वनिताले हरहर गर्दै ।
घरघर ल्याए निज घट भर्दै ॥
उठन युवा हो ! गत रजनीमा ।
मधुर प्रभाती सुन कुखुरी काँss ॥४॥
धुरुधुरु रुन्छिन् निशिदिन आमा ।
नसुत युवा हो उदित उषामा ॥
उठ अब सारा युवक धरामा ।
मधुर प्रभाती सुन कुखुरी काँss ॥५॥
पुलपुल गर्दै परिजन पाले ।
पछि सब ठान्छन्न् विकसित भाले ॥
पनि अब बासे नसुत कुनामा ।
मधुर प्रभाती सुन कुखुरी काँss ॥६॥
छन्द : कुसुमविचित्रा/२०८२।१०।२१ ।
लिखु–६, थानसिङ, नुवाकोट।


प्रतिक्रिया दिनुहोस्: