कविता

शारदाम्बा रमाऊन्‌

२२ चैत्र २०८२
Mukunda Sharma Chalise
मुकुन्द शर्मा चालिसे

शारदाम्बा रमाऊन्‌

हेर्दा हेर्दै लहर लहरै शब्दका शिल्पकार
भित्रैदेखिन् जलदसरिका दर्किऊन् श्लोकधार
मौका पाई सकल कविले रीति यो थाम्न पाऊन्‌
राम्रो चर्या विकसित भई शारदाम्बा रमाऊन् ॥

आफ्नै आत्मा अनि प्रकृतिका दृश्यलाई टिपेर
भोगेका यी सुख–दुख–कथा भावनामा खिपेर
ल्याऔँ भर्दै मधुर रचना शब्दले प्राण पाऊन्‌
ताली आऊन् पद–पद सँगै शारदाम्बा रमाऊन् ॥

स्वार्थी दम्भी नजिक नरहून् प्रीतिको स्वाङ पार्छन्‌
मौका मिल्दा तँ तँ म म गरी मेलमै भ्वाङ पार्छन्‌
अत्याचारी खल परपरै तर्किऊन् चूप लाऊन्‌
सच्चा स्रष्टा घुलमिल हुँदा शारदाम्बा रमाऊन् ॥

आनीबानी प्रियकर रहोस् घाम–पानी पचेर
अर्कालाई अझ सुख दिऔँ काव्य–वाणी रचेर
भावी पुस्ता मधुलय टिपून् बाबु–आमा रिझाऊन्‌
रस्ती–बस्ती प्रमुदित बनून् शारदाम्बा रमाऊन् ॥

राम्रो लेखौँ भरसक नयाँ विम्बमा वस्तु हालौँ
जस्तो पर्दा पनि शुभ कुरा लेख्नमा हात चालौँ
राम्रो शैलीसित नवयुगी कल्पना सल्बलाऊन्‌
जम्मैलाई शुभ शुभ दिई शारदाम्बा रमाऊन् ॥

यो धर्तीमा अतिशय कडा छन् समस्या र बाधा
देखा पर्छन् कति शहर वा गाउँमा घुम्न जाँदा
त्यस्ता दृश्यावलि कलमले शब्दमा पोख्न पाऊन्‌
विस्तारै ती सकस नरहून् शारदाम्बा रमाऊन् ॥

छन्द : मन्दाक्रान्ता ।
कैलासकुञ्ज, बूढानीलकण्ठ-४,
भसन्थली, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: