ज्ञानको मन्दिर
किताब कापी करमा थमायौँ
पाइन्छ सज्ज्ञान भनेर आयौँ ।
उघ्रिन्छ यो मस्तक खुल्छ ताला
हुन् ज्ञानका मन्दिर पाठशाला ॥१।
टाढाछ गन्तव्य त्यसै पुगिन्न
निर्दिष्ट होस् लक्ष्य सकिन्छ चिन्न ।
बले सरी दीपक छन् उज्याला
हुन् ज्ञानका मन्दिर पाठशाला ॥२।
हुनेछ घाटा नपढे अवश्य
बन्नेछ कालो निशिझैँ भविष्य ।
बेला छँदै पढ्नुछ खेर जाला
हुन् ज्ञानका मन्दिर पाठशाला ॥३।
अल्छी नपढ्ने भरिया हुनेछ
धिक्कार यो भाग्य भनी रुनेछ ।
बुद्धि ठुलो हो बल ठान्छ भाला
पवित्र हुन् मन्दिर पाठशाला ॥४।
पाइन्छ शिक्षा गुरुबाट मन्त्र
विग्रन्छ मान्छे रहँदा स्वतन्त्र ।
राम्रो नराम्रो बुझिनेछ चाला
हुन् ज्ञानका मन्दिर पाठशाला ॥५।
आचारमा पर्दछ चल्नु भाइ
भनी सिकाए गुरुले मलाई ।
हैनन् कुनै निर्जन यी निराला
हुन् ज्ञानका मन्दिर पाठशाला ॥६।
सिकाइको उद्गम यो बुझेर
जाँदैन धाए पल व्यर्थ खेर ।
छैनन् बिना फूल तयार माला
हुन् ज्ञानका मन्दिर पाठशाला ॥७।
छन्द : उपजाति ।
लिखु–६, थानसिङ, नुवाकोट।


प्रतिक्रिया दिनुहोस्: