कविता

मेरो लक्ष्य

२२ चैत्र २०८२
सुनिता सापकोटा

मेरो लक्ष्य

म कोपिला हुँ ज्ञानको फुलेर मग्मगाउँछु ।
बनेर शान्ति देशको मुहार फेर्न आउँछु ।
किताबबाट शब्दको म बत्ति कात्छु सुन्दर
थपेर तेल ज्ञानको म दीप बाल्छु हुर्हुर ।१।

मधेसबाट अन्नमा पसेर क्रान्ति गर्छु म ।
हिमाल जान्छु शान्तिको बनेर मूल झर्छु म ।
दुबो बनेर थाल्छु यो पहाडबाट फैलन
विचार च्यात्छु भ्रष्टको र दिन्नँ देश मैलन ।२।

म गाउँभित्र पस्छु र विचार फेर्न भन्दछु ।
छ अन्धकार चम्किलो म ज्ञान दीप बन्दछु ।
फलाउँदै म बागमा पुगेर शान्तिका फल
समानता फिजाउँला झिकेर दास बादल ।३।

छन्द : पञ्चचामर ।
अरुण गाउँपालिका–४, भोजपुर। 

प्रतिक्रिया दिनुहोस्: