मुकुन्द शर्मा चालिसेसँग : जीवन र जगत् विशेष कुराकानी

२५ चैत्र २०८२

म आफ्ना भोगाइ र पढाइलाई लेखनका विषय बनाउँछु
मुकुन्द शर्मा चालिसे

मुकुन्द शर्मा चालिसेको जन्म २०११ साल साउनमा जैदी–३, रोहोटे, बागलुङ हाल जैमिनि नगरपालिका वडा नं.७ मा भएको हो । पिता हरिदत्त उपाध्याय र माता मतीश्वरीदेवीको गर्भबाट जन्मनुभएका चालिसेको पत्नी मायादेवी शर्मा र छोराछोरी तीनजना डा.प्रशान्त शर्मा, डा.रश्मि शर्मा र डा.सुमना शर्मा हुनुहुन्छ । उहाँको हालको बसोबास कैलासकुञ्ज, बूढानीलकण्ठ–४, काठमाडौँमा रहेको छ । उहाँले एम्‌ए नेपाली, साहित्यशास्त्री (संस्कृत) गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा– १)मातृत्व यस्तो हुन्छ– खण्डकाव्य, केही सन्तोष केही आक्रोश, रामायण चम्पूू– चम्पूूकाव्य, पावनपथ– महाकाव्य, सुुमन सौगात– कविता सङ्ग्रह, भूूमिसूूक्त– पर्यालोचना, समालोचना, वेणीसंहार– नाटक (अनुुवाद), महाभारत चम्पूू, चम्पूूकाव्य, अमृत कलश– वैदिक सूक्तिपरक कविता सँगालो, नीतिका कुरा– काव्य (सहलेखन), अपराजिता– महाकाव्य, विश्वरूप– महाकाव्य, शुक्लयजुर्वेद– पद्यानुवाद (वैदिक साहित्य), चाणक्य सूक्ति– चाणक्यका सूक्तिहरूको व्याख्या, सौन्दर्यलहरी– समच्छन्दमा पद्यानुवाद, सामवेद– पद्यानुवाद । शंकराचार्य विरचित देव्यपराधक्षमापनस्तोत्रम्,, शिवमहिम्नस्तोत्र, शिवताण्डवस्तोत्र, कर्पूरस्तोत्र, समच्छन्दमा भावपद्यानुवाद आदि अनेक पत्रिकामा प्रकाशित । साथै प्रशस्त कविता एवम् लेख,रचना, समालोचना पत्रपत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् ।

गुरु मुकुन्द शर्माले हालसम्म निम्न पुुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । रत्नश्रेष्ठ पुुरस्कार–२०४०, गद्दी आरोहण रजत महोत्सव पुुरस्कार– २०५३, वीरेन्द्र ऐश्वर्य सेवा पदक– २०५८, वासुुदेव भट्टराई स्मृति पुुरस्कार– २०५९, भवदेव पन्त पुुरस्कार– २०६०, कालीगण्डकी साहित्यकला पुरस्कार– २०६९, बूढानीलकण्ठ धर्मसेवासमाज—२०६९(प्रशंसापत्र), बूढानीलकण्ठ स्कुल– २०७१(प्रशंसापत्र), कालीगण्डकी साहित्य मञ्च– २०७२(सम्मान पत्र), महाकवि लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार– २०७२, वैजयन्ती स्रष्टा सम्मान– २०७२, सेब्स सम्मान– २०७३, लेखनाथ काव्य पुरस्कार–२०७३, जियालो स्रष्टा सम्मान दाङ– २०७४, जियालो स्रष्टा सम्मान सल्यान– २०७४, नीलकण्ठ पौडेल काव्य पुरस्कार बागलुङ– २०७४, गोनपाको क्षेत्रीय प्रथम पुरस्कार– २०७६, आदिकवि भानुभक्त पुरस्कार– २०७७, पं.आनन्दमणि टुल्की नन्दकला पुरस्कार– २०७८, जैमिनि नगरपालिका सम्मानपत्र– २०७८, बूढानीलकण्ठ स्कूल स्वर्णमहोत्सव सम्मानपत्र– २०७९, नइ कीर्तिरत्न अलङ्कार– २०८०, पं. आनन्दमणि टुल्की नन्दकला स्मृतिप्रतिष्ठान आभारपत्र– २०८०, विश्वजागरण महाभियान ट्रष्ट सम्मानपत्र– २०८० आदि । कवि चालिसेको रुचिमा साहित्य सेवा, आध्यात्मिक साहित्यिक ग्रन्थ अध्ययन रहेको छ ।

उहाँका नेपाली तथा संस्कृत भाषाका लेखिएका दर्जनौँ पाण्डुलिपि कृतिहरू अप्रकाशित रहेका छन् ।
हाल विभिन्न रचनाहरूको लेखन र पठनमा व्यस्त रहनुभएका विद्वान गुरु मुकुन्द शर्मासँग जीवन र जगत् सम्बन्धमा काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, बानियाँटार, गोँगबुँ, काठमाडौंका छात्रछात्राहरू स्वयज्ञा सेढाई (कक्षा : ८), स्वर्णिका मल्ल (कक्षा : ९) र विकल्प पौडेल (कक्षा : १०) ले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

१. नाम ?
– मेरो नाम मुकुन्द प्रसाद शर्मा हो । हाल मुकुन्द शर्मा चालिसे लेख्ने गर्छु ।
२. जन्म मिति ?
– म जन्मेको मिति २०१० साल साउन ६ गते हो । पछि एस् एल् सीको फाराममा २०११ साल भएछ । अन्य महिना र गते उही हो । अतः व्यक्तिवृत्तमा ११ साल लेखिएको छ ।
३. जन्मस्थान ? जन्मँदाको साइतको प्रभाव जिन्दगीमा कस्तो परेको छ जस्तो लाग्छ ?
– बालगुङको जैदी रोहोटे भन्ने गाउँमा म जन्मेको हुँ । म जन्मँदाको चिनामा शुक्र ग्रह उच्च स्थानमा छ, कविता लेख्ने हुन्छ भनेर तत्कालीन ज्योतिषीले भनेको सम्झन्छु । त्यस्तै दशौँ स्थानमा बुध ग्रह छ, ‘बुधे च कविता’ लेखेको छ । भन्ने पनि पण्डितले भनेको सुनेको हुँ ।
४. हालको बसाइ ?
– हाल बूढानीलकण्ठ नपा–४, कैलासकुञ्ज नाम भएको निवास भसन्थलीमा छ ।
५. आमा र बुबाको नाम ? कस्तो रह्यो उहाँहरूको हेरचाह, पालनपोषण ?
– आमाको मतीश्वरीदेवी र बुबाको नाम पं.हरिदत्त शर्मा हो । बुबा १०१५सालमा सांसद भएर राजधानी आउनुभयो । हामी बालबच्चा आमाको रेखदेखमा रह्यौँ । पछि बुबा घर आएपछि घरैमा गुरु राखेर शिक्षा दीक्षा प्रारम्भ भयो । पितामाताको वात्सल्य पूर्णतया प्राप्त गरेँ ।
६. जहानको परिचय ? कस्तो रहयो उहाँको साथ सहयोग ?
– मायादेवी शर्मा मेरी श्रीमती हुन् । उनी घरमा आएपछि मेरो साहित्यसेवामा उनको प्रशस्त सहयोग रह्यो । मेरा सम्पूर्ण पाण्डुलिपि उनैले टाइप गरेर सुरक्षित गरिदिइन् । उनी स्वयं साहित्यकार छिन् । गद्यविधामा उनी रमाउँछिन्, म पद्यविधामा विशेष चाख राख्छु ।
७. छोरा/छोरी कति के गर्दैछन् उनीहरू ?
– हाम्रा तीन सन्तान छन् । एक छोरा डा.प्रशान्त शर्मा, दुई छोरी डा.रश्मि शर्मा र डा.सुमना शर्मा । सबै आआफ्ना कार्यमा संलग्न छन् ।
८. शिक्षा ?
– मैले नेपाली विषयमा एम् ए उत्तीर्ण गरेको हुँ । संस्कृत साहित्यमा आचार्यसम्म पढेको हुँ ।
९. पेशा ?
– मैले बूढानीलकण्ठ आवासीय स्कूलमा करीब तीस वर्ष नेपाली विषय अध्यापन गरेँ । अन्यत्रको पनि जोड्दा चालीस वर्ष नेपाली विषय अध्यापन गरेर अवकाश लिएको छु ।
१०. रुचि ?
– मेरो रुचि नेपाली भाषा साहित्यको पठन र लेखनमा छ । संस्कृत साहित्य र शास्त्रमा पनि मेरो रुचि कायम छ ।
११. बाल्यकालको स्वभाव कस्तो थियो ? बाल्यकाल सुख, दुःख कसरी बित्यो ?
– बाल्यकालदेखि नै म अन्तर्मुखी स्वभावको थिएँ । पढाइमा व्यस्त रहने । साथीभाइसित रङ्ग रमाइलो गर्ने भुल्ने स्वभाव खास थिएन । सानैदेखि भानुभक्तको रामायण, लेखनाथ पौडेलको तरुण तपसी, बालकृष्ण समको चिसो चुलो ग्रन्थ पढ्ने अवसर मिल्यो । भीमनिधिका नाटक बाल्यकालमै पढ्न पाएको थिएँ । संस्कृतका थुप्रै काव्य घरमै थिए । पिताजी पण्डित हुनुुहुन्थ्यो ।
१२. युवा उमेरको सोच कस्तो रहयो ? युवा उमेरमा सुख दुःख, संघर्ष कतिको गर्नुपर्‍यो ?
– उमेर बढ्दै गएपछि बाल्यकालको स्वभाव नै मुखरित हुँदै गयो । पढाइ लेखाइमै आफूलाई कायम राखेँ । संस्कृत काव्यग्रन्थहरू प्रशस्त पढ्न पाएँ ।
१३. वयस्क उमेरको व्यवहारमा के परिवर्तन आयो ?
– यौवनमा पनि म साधारण स्वभावको थिएँ । मैले घरमा खेती किसानीमा रमाउनु र बचेको समयमा लेखपढ गर्नु नै मेरो दैनिकी थियो ।
१४. अहिले के गर्दै हुनुहुन्छ ? दिनहरू कसरी बितेका छन् ?
– हाल अवकाशप्राप्त जीवनलाई पनि लेखपढमै लगाएको छु । चारै वेद अध्ययन गरेँ र पछि नेपाली भाषामा पद्यमय व्याख्या गरेँ । रामायणचम्पू, महाभारत चम्पू लेखेर प्रकाशित गरियो । उपनिषद्हरू पढ्दैछु । केही उपनिषद्को पद्यमय व्याख्या पनि गरिसकेँ ।
xxx
१५. साहित्यिक लेखन कहिलेदेखि शुरु गर्नुभयो ?
– बाल्यकालमै केही केही लेख्ने गर्थेँ । तर प्रकाशित गर्ने ठाउँ थिएन । तर लेख्ने स्वभाव थियो ।
१६. पहिलो रचना के थियो ?
– कक्षा ४मा पढ्दा लेखेको एक श्लोक सम्झन्छु । त्यो यस्तो थियो–
हामीले जब चार कक्षा पास गर्छौँ अनि पछि
हाम्रो उमङ्ग बढ्नेछ मिडिलै त बनाउन ॥
यस्तो श्लोक देखेर पिताजीले रमाइलो मान्नुभयो र मलाई शुभकामना दिनुभयो ।
१७. पहिलो कृति के थियो ?
– २०२७ सालमा एस.एल.सी.दिएँ । घर बसेको वेलामा मैले नलदमयन्ती महाकाव्य लेखेर सिध्याएँ । सकेसम्म शुद्ध बनाउने प्रयास गरेँ । छन्दमा रुचि पहिल्यै थियो । त्यसभन्दा पहिले लेखेका केही रचना सुरक्षित राखिएन । प्रकाशित कृति ‘मातृत्व यस्तो हुन्छ’ भन्ने खण्डकाव्य हो ।
१८. लेखनका विषयहरू कसरी छनोट गर्नुहुन्छ ?
– म आफ्ना भोगाइ र पढाइलाई लेखनका विषय बनाउँछु । खास गरेर आध्यात्मिक सौन्दर्यलाई महत्त्व दिन्छु र कविता प्रवाहित गर्छु ।
१९. तपाईको लेख्ने समय कुन हो ?
– समय पाएको वेलामा लेखिहाल्ने मरो बानी छ । घरमा बस्ता पनि दिनभरि खेतीमा गएर साँझमा अन्य परिवार गफगाफमा व्यस्त हुँदा मैले लेख्ने पढ्ने गर्दथेँ । अध्यापक हुँदा पनि सबै काम भ्याएर लेखपढमै आफूलाई लगाएँ । हवाईजहाजमा पनि केही लेखेँ ।
२०. लेखनलाई कस्ता कुराले सुन्दर बनाउँछ ?
– साहित्य लेखनकार्य सुन्दर बनाउने तीन तत्त्व छन्, एक अभ्यास, दुई पढाइ र तीन प्रतिभा । यी तीन तत्त्वको संयोजन गरी लेख्तै रहे रचना सुन्दर हुन्छ ।
२१. अहिले के लेख्दै हुनुहुन्छ ?
– विभिन्न उपनिषद् पढ्दै छु र पद्यानुवाद गर्ने प्रयास गरेको छु । अन्य स्वतन्त्र कविता पनि लेख्ने गर्छु ।
२२. साहित्य किन लेख्नु पर्छ ?
– साहित्यले समाजलाई मार्ग निर्देशन गर्छ । उसो त संविधान ऐन कानुनले पनि मार्ग निर्देशन नै गर्छन् । ती कटुकौषधी हुन् । तर साहित्यले सुन्दर भाषाद्वारा समाजलाई असल बन्न प्रेरित गरेको हुन्छ । यो मधुरौषधी हो । अतः साहित्य समाजका लागि आवश्यक छ ।
२३. साहित्यले व्यक्ति र समाजलाई दिने कुरा के हो ?
– व्यक्ति र समाज अभिन्न हुन्छन् । साहित्यले तिनलाई असल मार्गमा अग्रसर गराउँछ ।
२४. अबको साहित्यिक योजना के छ ?
– मेरो खास योजना लेख्नु पढ्नु हो । समाज प्रेरित बनोस् । मुलुकमा मैले केही योगदान गर्न सकूँ ।
२५. आफ्नो आफैलाई बढी मन परेको कृति कुन हो ?
– मेरा सयौँ कृति छन् सबै मलाई प्यारा छन् । राष्ट्रलाई देन दिने बृहत् रचना ऋग्वेदको पद्यानुवाद मलाई साह्रै मन परेको छ । त्यो अझै अप्रकाशित छ ।
xxx
२६. घरको काम कत्तिको गर्नुहुन्छ ?
– पहिले जागिरमा व्यस्त भएँ । पछि लेख्न पढ्नमा लागेँ । हाल घरका काममा म श्रीमतीलाई सघाउँछु । हामी दुवैले काम छिमलेर साहित्यको सेवा गर्छौँ ।
२७. जाँगर लाग्ने काम कुन हो ?
– आफ्ना लुगा म आफै धुन्छु । त्यसमा जाँगर चलाउँछु । पूजाका सामान तयार गरेर हरेक बिहान बेलुका पूजा गर्नुमा मेरो जाँगर चल्छ ।
२८. कस्तो काम गर्न अल्छी लाग्दछ ?
– त्यस्तो अल्छी लाग्ने काम छैन । गर्नु परे राम्रा सबै काम गरिन्छ ।
२९. खाना के मीठो लाग्दछ ?
– दाल भात तरकारी खान्छु । अलिकति दूधले मुछेर भात खान्छु । तामसी भोजन गरिँदैन ।
३०. लाउन कस्तो मन पर्छ ? मनले चाहेजस्तो खान, लाउन नपाएको कुनै क्षण छ ?
– म प्रायःदौरा–सुरुबाल र कोट लगाउँछु । मेरा मन पर्ने पोशाक यिनै हुन् । स्कूलमा पढाउँदा सर्ट पाइन्ट पनि लगाएँ । त्यस्तो खास अनुभव छैन ।
३१. घुम्न कस्तो ठाउँ मन पर्छ ? कतिको घुमफिर गर्नुहुन्छ ?
– प्राकृतिक सुन्दरता भएका ठाउँ, देवस्थल आदिमा घुम्न मन पराउँछु ।
३२. साथी–सङ्गीहरू कस्ता मन पर्छन् ? कतिको भेटघाट, सरसङ्गत गरिन्छ ?
– घरमा साहित्यिक मित्रवर्ग आउँछन् । रमाइलो गर्छन् । आफू पनि त्यस्तै मित्रसित घुलमिल भइन्छ ।
xxx
३३. सारमा मान्छेको जीवन के रहेछ ? जीवनप्रति सन्तोष के मा ?
– मान्छेको जीवन अमूल्य छ । यो परमार्थपरक पुरुषार्थ गर्नका लागि सदुपयोग गर्नुपर्छ ।
३४. यो जगत्‌लाई कसरी बुझ्नु भएको छ ?
– जगत् नश्वर छ । यसलाई तदनुसार बुझेर आफ्नो जीवनको सही मार्ग तय गर्नुपर्छ ।
३५. जन्म के रहेछ ?
– हामीले अकस्मात् मानव जन्म पायौँ । यसलाई खेर फाल्नु हुँदैन । राम्रा कामले यसलाई सार्थक पार्नुपर्छ ।
३६. मृत्यु के हो ?
– मृत्यु तीतो वास्तविकता हो । यसलाई मधुर बनाउने असल कार्य हो । साहित्यसेवाले हामीलाई चिरजीवन दिन्छ ।
३७. लक्ष्य कस्तो राख्नुपर्छ ?
– आआफ्ना रुचि अनुसारका राम्रा लक्ष्य हुन्छन् । धन कमाउने, राजनीति गर्ने साहित्यसेवा गर्ने आदि जुनसुकै लक्ष्य राखे पनि इमानदारी चाहिन्छ । त्यो बल्ल टिकाउ हुन्छ ।
३८. प्रेम के हो ? असल प्रेम कसरी गर्नुपर्दछ ?
– प्रेम समर्पणभावको अर्को नाम हो । आत्मीयता साथको अनुराग प्रेम हो । त्यो निःस्वार्थभावमा हुन्छ ।
३९. दुःख के रहेछ ? दुःखबाट कसरी छुटकारा पाउन सकिन्छ ?
– दुःख अप्रिय अनुभूतिको अर्को नाम हो । संसार नाशवान् छ । अतः यो दुःखमय छ भनेर बुद्धले भने । यसैलाई प्रेम र करुणाले सुखमय बनाउन सकिन्छ ।
४०. सुख भनेको के हो ? जीवनमा कसरी सुख पाउन सकिन्छ ?
– माथि अलिकति भनेँ । जीवनलाई सुखमय बनाउन आफू सकारात्मक सोचाइमा जाने र सद्भाव बढाउने ।
४१. हाँसोलाई कसरी बुझ्नुहुन्छ ? सुख, दुःखमा कत्तिको हाँस्नुहुन्छ ?
– हाँसो प्रसन्नताको द्योतक हो । म मुसुमुसु हाँस्छु र प्रसन्नता प्रकट गर्छु ।
४२. खुशी के हो र खुशी कसरी प्राप्त हुन्छ ?
– खुशी अर्थात् प्रसन्नता सत्कर्म सम्पादनबाट आउँछ ।
४३. रुवाइलाई कसरी लिनुहुन्छ ? जीवनमा कत्तिको रुनु परेको छ ?
– रुवाइ दुःखको विरेचन हो । यो प्रकृति प्रदत्त गुण सबैमा हुन्छ । पिता माता बित्दा म बेसरी रोएको छु ।
४४. विश्वास भनेको के हो ? कस्तालाई कसरी विश्वास गर्ने ?
– मानसिक निश्चयपना विश्वास हो । विश्वासमा संसार चलेको छ । हामीले इमानदार व्यक्तिलाई चिनेर विश्वास गर्नुपर्छ ।
४५. डर के हो ? के कुरामा बढी डर लाग्छ ?
– डर आफूले गरेको कमजोरीबाट आउँछ । रातिमा हिँड्नु, बाघभालुसित डराउनु सामान्य हो तर खास डर आफ्नो गल्तीबाट आउँछ । अतः गल्ती गर्नुहुँदैन ।
४६. समय के हो ? समयलाई कसरी बुझ्ने ?
– समय गतिशील अनादि र अनन्त काल हो । यो मान्छेले आफ्ना दिनरात, पक्ष, महिना, वर्ष आदिमा विभाजित गरेको छ ।
४७. सम्पति के हो ? जीवनमा धन सम्पत्ति किन चाहिन्छ ?
सम्पत्ति जीवनको साधन वस्तु हो साध्य होइन । यसलाई जीवन सुखकर र सफल बनाउने साधनका रूपमा बुझ्नुपर्छ ।
४८. तपाईको बलियो पक्ष के हो ?
– इमान र नैतिकतामा रहनु मेरो बलियो पक्ष हो ।
४९. कमजोर पक्ष चाहिँ के हो ?
– मेरो कमजोर पक्ष कतिपय झुक्याउनेलाई पनि विश्वास गर्नु हो ।
५०. जीवनका गुनासाहरू के छन् ?
– जीवनमा कुनै गुनासो छैन । आफू कर्तव्यमा लाग्छु ।
५१. समग्रमा आजसम्म तपाईको जीवन कस्तो रहयो ?
समग्रमा मेरो जीवन क्रियाशील र सार्थक छ । म आफूलाई धन्य भन्छु ।
५२. आफ्नै बारे भन्नुपर्दा, राम्रो र नराम्रो, असल र खराब, सहयोगी र असहयोगी कस्तो हुनुहुन्छ ?
– समग्रमा भन्नुपर्दा म सामान्य मानिस हुँ । म आफूलाई यही सामान्यताको हिसाबले हेर्छु ।
xxx
५३. गीत के हो ? गाउन आउँछ ?
– लयविधानमा रचिएको रचना गीत हो । मैले केही गीत लेखेको छु । मलाई गाउन आउँदैन ।
५४. सङ्गीत के हो ? बाजाहरू बजाउन आउँछ ?
– लयविधान नै सङ्गीत हो । त्यसलाई बाजाले ताल र धुनले सार्थक बनाउँछ । मैले मादल र हार्मोनियम बजाउन जानेको थिएँ । आजकल छोडिदिएँ ।
५५. नृत्य के हो ? नाच्न कतिको आउँछ ?
– नृत्य हाउभाउ प्रकट गर्ने अङ्गको चलाइ हो । त्यसलाई गीतले गति दिन्छ । मलाई नाच्न आउँदैन ।
५६. जीवनमा खेलकुद, व्यायाम किन आवश्यक छ ?
– खेलकुदले शरीरलाई फूर्तिलो बनाउँछ । अङ्गहरू बलियो बनाउँछ । अतः खेलकुद आवश्यक छ ।
५७. जात्रामात्रा, मेलापर्व कतिको जानु हुन्छ ? के यी कुरा जीवनमा आवश्यक छन् ?
– जात्रा मेला आदिका पछाडि व्रतपर्वहरू हुन्छन् । अतः यी संस्कृतिसित जोडिएका हुन्छन् । अतः यी आवश्यक छन् । म सकेसम्म यस्ता मेलापर्वमा जोडिन मन पराउँछु ।
५८. धर्म के हो ? व्रत किन बस्ने ? पूजा किन गर्ने ? व्रत बस्ने, पूजाआजा कत्तिको गर्नुहुन्छ ?
– धर्म धारण गर्नुपर्ने आवश्यक तत्त्व हो । सामान्य धर्म पशुपन्छीको पनि हुन्छ । मानिस भए पछि विशेष धर्म पालन गर्नुपर्छ । त्यो परोपकार, दयामा देखिन्छ । त्यो परमेश्वरतिर लक्ष्यित हुन्छ । म नित्य पाञ्चायनपूजा गर्छु । अन्य पूजा पनि घरमा भइरहन्छन् ।
xxx
५९. समाजप्रति के कुरामा खुशी र के कुरामा दुःखी ?
– समाज विभिन्न वर्ग, समुदायबाट बनेको हुन्छ । यसमा अनेक विचार हुन्छन् द्वन्द्व हुन्छन्, समस्या हुन्छन् र समाधानका उपाय हुन्छन् । नकारात्मक कुरा बढ्नु राम्रो होइन । राम्रा कुरा बढ्नुपर्छ । समाज भाँडिएकोमा दुःख लाग्छ ।
६०. देशको राजनीतिप्रति के कुरामा प्रशंसा र के कुरामा घृणा छ ?
– नेपालको राजनीति स्थिर छैन । नीतिको राजा राजनीति हुनुपर्ने हो । त्यस्तो भएको छैन । अतः दुःख लाग्छ । राम्रो के छ भन्नु खै ?
६१. जीवनमा राम्रो काम के गरेँ जस्तो लाग्छ ?
– मैले जीवनमा जानी जानी कसैलाई दुःख दिएको छैन । सकेसम्म सहयोगको भावना लिएको छु । साहित्य सेवा गरेको छु । यसैमा खुसी छु ।
६२. मैले यो काम नगर्नुपर्थ्यो, त्यो गरेँ, भन्ने कुनै काम छ ?
– मैले कतिपयलाई बढी विश्वास गरेँ । जसले गर्दा मलाई पछि केही अलमल भयो । तर्क गर्ने बानी भएन ।
६३. समाजलाई के दिएँ जस्तो लाग्छ ?
– समाज अनेक मानवको समुदाय हो । मैले पढेलेखेका शिक्षित वर्गलाई र सामान्य नागरिकलाई पनि भलो सोचेर लेखेको छु । पढाएको छु ।
६४. समाजबाट मैले के पाएँ भन्ने ठान्नुहुन्छ ?
– समाजमै रहेका अनेक संस्था र व्यक्तिबाट मैले सद्भाव पाएको छु । प्रशस्त सम्मान, पुरस्कार र उपहार पाएको छु । अतः म समाजप्रति आभारी छु ।
६५. जीवनले के कुरा गुमायो जस्तो लाग्छ ?
– मेरो जीवनमा कतिपयले झुक्याएर केही आर्जन लगे । खास गुमाएको केही छैन ।
६६. आजसम्म जीवनले कमाएको कुरा के हो ?
– मैले जीवनमा धेरै पाएको छु । समयलाई सकेसम्म सदुपयोग गरेको छु ।
६७. समाज कस्तो बन्नुपर्छ ? कुनै सुझाव र भनाइ छ ?
– आदर्शवादी समाजमा चोरी हुँदैन, लोभी लालची कोही हुँदैनन्, जूवा, तास, रक्सी आदि दुर्व्यसनमा भुल्ने कोही हुँदैनन् र यौनदुराचारका घृणित कथा हुँदैनन् । यसरी यी विकृति नभएको समाज उत्तम हो ।
६८. अन्त्यमा भन्न बाँकी कुरा केही छन् ?
– धेरै विषय यहाँ खुलाउन पाइयो । तपाईँको लगनशीलताले सफलता प्राप्त गर्दैरहोस् । मलाई यसरी आफ्ना भनाइ राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्छु । धन्यवाद ।
xxx

प्रस्तुति
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
बानियाँटार, गोँगबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: