श्रीफूल
तारा के.सी
घर बनाउने काम आधा पुगेकाे थियाे, तर छानाे हाल्ने काम पैसाकाे अभावमै राेकियाे । यही कारणले श्रीमान् तनावमा थिए।अधुराे घरतिर हेरेर उनकाे मन भारी हुन्थ्यो ।
एकदिन उनले दराज खाेलेर नैनासुतकाे रूमालमा बेरिएकाे एउटा पुरानाे डब्बा निकालिन्। त्याे डब्बामा हजुरआमाले दिएकाे श्रीफूल थियाे। उनले बिहेकाे दिन हजुरआमाले भनेकाे पनि सम्झिन्।
” नानी ! याे पुर्खाैली गहना हाे। मलाई पनि मेरी आमाले दिएकाे ,यसलाई जतन साथ राख्नु है, हजुर आमाकाे चिनाे सम्झेर।”
उनले त्याे शिरफूल बेच्ने निर्णय गरिन् र श्रीमानसँग भनिन्;
“अहिले सुनकाे भाउ बढेकाे छ। यति ठूलाे गहना लाएर हिड्न समय पनि अनुकुल हुँदैन। यसलाई बेचेर अधुराे घर पूरा गराैं।”
श्रीमानले भने- “याे त तिम्राे हजुरआमाकाे सम्झना हाे, बेच्नु हुँदैन।”
हजुरआमाकाे चिनाेले हाम्राे घर बन्छ भने यसलाई बेच्दा राम्राे हुन्छ। उनले श्रीफूल बेचिन्।
घरकाे छानाे हालेकाे दिन स्वर्गवासी हजुरआमालाई धन्यवाद दिदै, उनीहरूले भनिन् ;
“तपाईंले दिएकाे श्रीफूलले आज हाम्राे घर बनाउने सपना पुरा भएकाेछ।”
गाेङ्गबुँ काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: