काठमाडौं, २०८२, चैत्र १४ गते शनिबार । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को १०७ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा नारायण निरासीका एक दर्जन कविता गुञ्जिए ।
प्रा.डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका सचिव सोमनाथ दहालले सञ्चालन गर्नुभएको उक्त थियो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो । साहित्यकार प्रभाती किरणले नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, प्राध्यापनकर्ममा रहेका, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत प्रगतिवादी स्रष्टा नारायण निरासीको परिचय दिनुभएको थियो ।

कविनायक नारायण निरासीले कविताका रचनागर्भका बारेमा जानकारी गराउँदै प्रस्तुतिका क्रममा रहेका १२ कवितामध्ये ‘खुम्चिरहेको नक्सा’, ‘प्रतिज्ञा’, ‘पैसा’ र ‘चेली’ शीर्षकका चारओटा कविता वाचन गर्नुभएको थियो ।
त्यसैगरी सहयोगी कवि जय गौडेलले ‘देशको मानचित्र’, कवि पुष्कल किरणले ‘आफ्नो सुरक्षा गर’ र ‘युवा’, कवि केशव भट्टराईले ‘शहीद’, कवि रूपक अलङ्कारले ‘हुरी नआउने घर’, कवि प्रभाती किरणले ‘रोकिन्न क्रान्ति’ र कवि शान्ति पौडेलले ‘सङ्कल्प’ र ‘जीवनप्रण’ शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि प्रा.डा.बद्रीविशाल पोखरेलले टिप्पणी गर्नुहुँदै कलात्मक, लयात्मक, बिम्बात्मक, भावात्मक, आलङ्कारिक गुणले युक्त कविता वाचन गर्ने कवि वैचारिक पनि, प्राध्यापन गर्ने पनि भएकाले उठान र बैठान उपयुक्त भएका, प्रगतिशील राष्ट्रवादको पक्षधरता लिएका, इतिहासका गौरवशाली परिघटनाको उत्खनन गरिएका, सिङ्गो राष्ट्रवादका पक्षमा वकालत गरिएका, बाह्यराष्ट्रको उक्साहटमा विखण्डनको प्रयत्न भइरहेकोप्रति विरोध गरिएका सुन्दर कविता छन्, भन्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.रामप्रसाद ज्ञवालीले मिहिनेती, प्रतिभाशाली छन्दकवि नारायण निरासीका देशभक्तिपूर्ण, विद्रोही चेतनाले युक्त, प्रत्येक बिहानी नयाँजस्तै लाग्ने खालका कविता हामीले सुन्यौँ । आजको यो विशेष समारोह सार्थक भएको छ । म फेरि पनि कविलाई धन्यवाद दिन्छु, बधाई दिन्छु भन्नुभयो ।
समारोहमा उपस्थित प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू र सहभागी सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद दिनुहुँदै अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: