काठमाडौं, २०८२ चैत्र २८ गते शनिबार । कौटिल्य ग्लोबल स्कुल, सुविधानगर, तीनकुने, काठमाडौँमा आयोजित विशेष समारोहमा ‘पुष्पपराग साहित्य प्रतिष्ठान’ भक्तपुरको दशौँ वार्षिक उत्सव विशेष समारोहमा विभिन्न १३ जना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरियो । तीनजना स्रष्टालाई आजीवन सदस्यता प्रमाणपत्र समर्पण गरियो । प्रतिष्ठानका अध्यक्ष टी.एन. भट्ट ‘विश्वामित्र’को सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा.विष्णुविभु घिमिरे हुनुहुन्थ्यो । विशेष अतिथिका रूपमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.यज्ञेश्वर निरौला र बागमती प्रदेशकी सदस्य माननीय सुना परियार उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा उपस्थित आदरणीय व्यक्तित्वलाई प्रतिष्ठानकी सदस्य राधिका पन्तले स्वागत गर्नुभएको थियो । पदम दाहालको संयोजकत्वमा चेवनचन्द्र बस्नेत र रचना दाहाल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको र सोही समितिको सिफारिसका आधारमा १३ जना स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको थियो । समितिका संयोजक पदम दाहालले पुरस्कृत तथा सम्मानित हुनुहुने स्रष्टाको चयनका बारेमा जानकारी दिनुहुँदै उहाँहरूको व्यक्तित्व तथा कृतित्वका बारेमा सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानले स्थापना गरेको रु.१०,०००।– राशिको ‘पुष्पपराग वर्ष सम्मान २०८२’ द्वारा साहित्यकार हरिभक्त सिग्देललाई समर्पण गरिएको थियो । टी.एन.भट्टद्वारा स्थापना गरिएको रु.१०,०००।– राशिको ‘पुष्पपराग–नीलगङ्गा भाषा साहित्य पुरस्कार तथा सम्मान २०८२’ द्वारा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई समर्पण गरिएको थियो । प्रेमकुमार राई परिक्षितद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–शुक्रमन्दिर लोकसाहित्य पुरस्कार तथा सम्मान २०८२’ द्वारा गायक अर्जुन चइनपुरेलाई समर्पण गरिएको थियो । चेवनचन्द्र बस्नेतद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–चेवनचन्द्र बस्नेत कविता पुरस्कार तथा सम्मान २०८२’ द्वारा कवि भुवन सिवाकोटी ‘चौघरे’लाई समर्पण गरिएको थियो ।
त्यसैगरी प्रजापति तिमिल्सिनाद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–पद्मावती गीत, सङ्गीत पुरस्कार तथा सम्मान २०८२’ द्वारा साहित्यकार सुवासचन्द्र ढुङ्गेललाई समर्पण गरिएको थियो । मनिषकुमार शर्माद्वारा स्थापित रु.२५,०००।– राशिको ‘पुष्पपराग–आख्यान स्मृति पुरस्कार तथा सम्मान २०८२’ द्वारा साहित्यकार किरण पौडेल आचार्यलाई समर्पण गरिएको थियो । ढुण्डीराज पोखरेलद्वारा स्थापित रु.१०,०००।– राशिको पुष्पपराग–बालकुमार छन्द कविता पुरस्कार तथा सम्मान २०८२’ द्वारा विद्या अनामिका तिवारीलाई वाचित कवितामध्येबाट सम्मानित गरिएको थियो । इन्दिरा चापागाईँद्वारा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–मेखमाया खगेन्द्र स्मृति पुरस्कार तथा सम्मान (आख्यान) २०८२’ द्वारा स्रष्टा राममणि ढुङ्गेललाई समर्पण गरिएको थियो ।
सुना परियारद्वारा छोरीको स्मृतिमा स्थापित रु.१०,०००।– राशिको ‘पुष्पपराग–सफलता स्मृति पुरस्कार (महिला) २०८२’ द्वारा बालसाहित्यकार निर्मला बराललाई समर्पण गरिएको थियो । प्रतिष्ठान आफैँले स्थापना गरेको ‘पुष्पपराग भाषा साहित्य मानार्थ सम्मान २०८२’ द्वारा कवि हरिमञ्जुश्रीलाई सम्मानित गरिएको थियो । प्रतिष्ठानले नै स्थापना गरेको ‘पुष्पपराग नियमित कवितावाचन साहित्य सम्मान २०८२’ कवि एम.पी.पाण्डेलाई सम्मानित गरिएको थियो । भुवन तथा सुनिता सिवाकोटीद्वारा स्थापित रु.५,०००।– राशिको ‘पुष्पपराग–कृष्णलाल–गोपिनी सिवाकोटी स्मृति बहुप्रतिभा पुरस्कार तथा सम्मान २०८२’ द्वारा कवि/गीतकार प्रेमकुमार राई परिक्षितलाई सम्मानित गरिएको थियो । विन्दु अधिकारी ढकालद्वारा स्थापित रु.१०,५००।– राशिको ‘पुष्पपराग–अक्सिजन कवि बालकृष्ण लक्ष्मी अधिकारी धनकुटे पुरस्कार तथा सम्मान २०८२’ द्वारा कवि रमेश पोखरेललाई सम्मानित गरिएको थियो । प्रतिष्ठानकै तर्फबाट ‘पुष्पपराग विशेष सम्मान २०८२’ द्वारा नारायण काफ्लेलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा.यज्ञेश्वर निरौला, सम्मानित व्यक्तित्व हरिभक्त सिग्देल र निर्मला बराल र विशिष्ट अतिथि सुना परियारले साहित्यका विविध पक्षमा आआफ्ना धारणा राख्नुभएको थियो ।
प्रमुख अतिथि डा.विष्णुविभु घिमिरेले साहित्यको सेवा गरेवापत स्रष्टाले तत्काल केही नपाए पनि ऊ निरन्तरको साधनामा लागिरहेको हुन्छ भन्नुहुँदै स्रष्टाको सिर्जना भनेको आमाले जन्माएको बच्चाजस्तै हो, भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्: