काठमाडौं, २०८२ साल चैत्र २८ गते। लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार प्रदान कार्यक्रम सम्पन्न भयो। उक्त समारोहमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्यमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका महाकाव्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा नगद रु. १०,००० (दश हजार रुपैयाँ) पुरस्कार’ प्रदान गर्नुभयो। नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानका तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो।
महाकाव्यकार वियोगीले नेपाली साहित्यमा ८ वटा महाकाव्य, ८ वटा खण्डकाव्य, ७ वटा समालोचना कृति, २ वटा कविता संग्रहका साथै कविता, कथा, निबन्ध, जीवनी, गजल तथा गीत विधाका पुस्तकहरू प्रकाशन गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्यरत्न लगायत चार दर्जनभन्दा बढी साहित्यिक तथा सामाजिक संघ संस्थाबाट पुरस्कार, सम्मानपत्र, कदरपत्र तथा अभिनन्दनपत्र प्राप्त गरिसक्नुभएको छ।
सम्मान ग्रहण गर्दै स्रष्टा वियोगीले २०४१ सालतिर “छन्द मरिसक्यो, अब छन्द लेख्नु हास्यास्पद हो” भन्ने धारणा सुनेपछि आफूले “छन्द कसरी मर्छ?” भन्ने प्रश्न उठाउँदै छन्द बचाउ अभियान सुरु गरेको बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित प्रा. डा. गोविन्दमान सिंह कार्की, प्रा. डा. भागवत ढकाल, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, मदनराज थापा, बमबहादुर थापा जिताली तथा रामप्रसाद पन्त लगायतका साहित्यकारहरूले वियोगीको साहित्यिक योगदानको चर्चा गर्दै प्रतिष्ठान तथा अध्यक्ष विजयध्वज थापाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा कुमार नेपाल, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, वीरबहादुर लोहनी, प्रार्थना खनाल जोशी, प्रदीप नेपाल, तारा दुवेदी, सुभाषचन्द्र पौडेल ‘भिम्फेदिया’, गंगा खड्का, मानन्धर अभसगी, ध्रुवराज थापा ‘पुरुष’, रामचन्द्र नेउपाने ‘वनबासी’, उत्तम विचार, धनमाया राई, द्वारिका कुईँकेल, श्यामप्रसाद श्रेष्ठ, नीरा श्रेष्ठ, अरुण खड्का, प्रमोद भण्डारी, सुन्दर खड्का, पुष्पा धमला, खेमराज शर्मा, रणबहादुर बुढाथोकी, नरेश श्रेष्ठ, अमर किर्तीमानी तथा वि.के.एन. खडेरी लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै सम्मानित स्रष्टाबारे प्रकाश पार्नुभएको थियो भने स्रष्टा उत्तम विचारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष विजयध्वज थापाले महाकाव्यकार वियोगीको योगदानको चर्चा गर्दै सम्मान गर्न पाउनु स्वयं संस्था र आफ्नो लागि पनि गौरवको विषय भएको धारणा व्यक्त गर्नुभयो। साथै उहाँले उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्दै सभा समापन गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्: