२०८३ वैशाख १९ गते शनिवार। अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५७ औँ नियमित स्वतन्त्र विधा वसन्त विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल, विशिष्ट अतिथि एवं समीक्षक पुरुषोत्तम सिगदेल, विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, मुक्तक रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए । कविता सुमधुर लयमा सर्जकले सुनाए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने भुवनहरि सिग्देल, दुर्गाप्रसाद सिग्देल, पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, डा.बमबहादुर थापा जिताली, हरिप्रसाद घिमिरे, सूर्यकुमार पण्डित, हरिप्रसाद चौलागाईं, जगदीश्वर पोखरेल, सुधा बाँस्कोटा ढकाल, दुर्गा रिमाल अधिकारी, बिनुबाबा घिमिरे भण्डारी, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, टेकबहादुर र उर्मिला पाण्डे हुनुहुन्थ्यो ।

प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ, भन्नुभयो । उहाँले स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गर्दै भाषाको उन्नयनमा योगदान पुऱ्यायाइरहेको छ, भन्नुभयो ।
समीक्षक पुरुषोत्तम सिग्देल र डा.बमबहादुर थापा जितालीले वाचन गरेका सिर्जनाको सुललित किसिमले समीक्षा गर्नुभएको थियो ।
अध्यक्ष भुवनहरि सिग्देलले कवितामा अलङ्कार हुनुपर्दछ । बिम्ब हुनुपर्दछ । भाषा मात्र कविता होइन । प्रयास गरे सफल हुन सकिन्छ भन्नुभयो । कवि सदैव विपक्षमा उभिनुपर्दछ । यो चरित्रको निर्वाह गरेन भने कवि र देश सकिन्छ भन्नुभयो । संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनुहुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिदै समारोह समाप्त भएको घोषणा गर्नुभएको थियो ।
कविगोष्ठी संयोजन कुशल किसिमले कोषाध्यष दुर्गा रिमाल अधिकारीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: