‘संसाक मासिक’ यस महिना (२०८३ साउन) बाट १४ वर्षमा प्रवेश गर्दै छ । यहाँसम्म आइपुग्दा धेरैको साथ, सहयोग, माया, ममता, सद्भाव, इज्जत, सम्मान, टेको, भरोसा, सल्लाह, सुझाव, अरनखटन, गाली, हप्की, टेडो–बाङ्गो, दायाँ–बायाँ, यता–उता, एसो–उसो, जसो–तसो धेरै कुराहरू पाइयो । यी सबै कुराहरूले हामीलाई परिस्कृत, परिमार्जित र समुन्नतितिर बढाइरहेको छ । हामी अझ परिपक्व र सुदृढ भएका छौँ । गाह्रो छ, साहित्यिक पत्रिका निकाल्नु ! तर धेरैको मायाँ र प्यारले हामीलाई यो काममा सहज बनाएको छ । अझ भनौँ, सजिलो बनाउँदै लगेको छ । यो अवसर सधैँ पाइरहुँ, पाइरहुँ भन्ने आशा र भरोसा राखेका छौँ ।
हामी कवि, लेखक तथा स्रष्टाहरूलाई सधैं सम्मान गर्छौं । साहित्यकारका लेख, रचनाहरूलाई प्रकाशित, प्रसारित गर्नु संसाकको लागि खुसीको कुरो पनि हो । हामीले यसलाई आफ्नो कर्तव्य पनि ठानेका छौँ । आफ्नो कर्मलाई हामी निरन्तर अगाडि बढाइरहकाछौँ, पूरा गर्दै आइरहेकाछौँ । यहाँहरूलाई थाहा नै छ, हामी विगत १३ वर्षदेखि यस कार्यमा दृढ अठोटका साथ लागिरहेका छौँ । यो सफलता हामी सबै लेखक, कवि, साहित्यकारहरूको हो । यसमा हामी सबैले गर्व गर्नुपर्छ र गरिहेका पनि छौँ । त्यो अधिकार हामीमा सुरक्षित रहेको छ, भन्दा नफरक नपर्ला पनि !
संसाकले यस वर्ष निम्न अनुसार नेपाली वाङ्मयका विशिष्ट ३ जना स्रष्टाहरूलाई सम्मानित गर्न लागेको छ ।
१. संसाक गोपा/मैयादेवी साहित्य सम्मान– साहित्यकार ललिता दोषी, काठमाडौं ।
२. संसाक नवप्रतिभा साहित्य सम्मान– कालिका त्रिपाठी पन्त, काभ्रे ।
३. संसाक बालप्रतिभा सम्मान– अन्जना गिरी, बाल विकास बोर्डिङ हाई स्कुल, बूढानीलकण्ठ, काठमाडौं ।
सम्मानित तीनै जना स्रष्टा महानुभावहरूमा हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ !
संसाक मासिकलाई अतिनै माया, सहयोग र सद्भाव राखेर यस वर्ष यी सम्मान र कार्यक्रमको लागि सहयोग गर्नुहुने महानुभावहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ । आगामी वर्षहरूमा पनि यहाँहरूबाट यस्तै सहयोग, सद्भाव र सदाशयताको अपेक्षा गर्दछौँ ।
संसाकले आफ्नो स्थापना कालदेखि नै कवि, साहित्यकारहरूलाई सम्मानित गर्ने, तिनका लेख, रचना र सिर्जनाहरूको प्रशासन र प्रसारण गर्ने काम गर्दै आएको छ । यसै सन्दर्भमा यस वर्षको यो अङ्क सम्मानित स्रष्टाहरूको परिचय, वार्षिक सम्मान/पुरस्कार र कुराकानी विशेष अङ्कको रूपमा प्रकाशन गरिएको पनि सबैमा जानकारी गराउँदछौँ । यो साथ, सहयोग, विश्वास र भरोसाको लागि सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्: