हे सन्तती नेपाली हो मेरो आवाज सुन
यो देश छोडी किन जान्छौ पलायन हुन ।
मातृभूमि बाँजो राख्यौ मरुभूमि फूलाइ
गुन बिर्सी ममताको बस्यौ मन भुलाइ ।
प्रकृतिको स्वर्णभूमि संस्कृतिमा धनी
पोखिएमा तिम्रो पौरख बन्थ्यो स्वर्ग पनि ।
दह्रा पारी आफ्ना बाहु लाग्यौ परदेशतिर
तिम्रो बाटो हेर्छिन् आमा मान्दै आज पिर ।
फर्की आऊ हे परदेशी मातृभूमि भन्छ
तिम्रो श्रम पसिनाले समृद्ध देश बन्छ ।
राजनीतिको मैलो हटाइ तिमी अघि बढ
निस्वार्थको ताज गुथी देशको खाँचो पढ ।
हे सपुत नेपाली हो ! फर्क आफ्नै देश
आफ्नै आँटो पिठो मिठो मान्नुपर्छ बेस ।
प्रतिक्रिया दिनुहोस्: