गर्मीयाम र आहार–विहार

२७ जेष्ठ २०८२

वर्षका ६ ऋतुमध्ये दोस्रो ऋतुलाई ग्रीष्म भनिन्छ । यसको अर्थ गर्मी र ताप पनि हो । यसमा जेठ र असार दुई महिना हुन्छन् ।

ज्योतिषशास्त्रानुसार ग्रीष्मऋतुमा सूर्य उत्तरायण हुन्छन् । आयुर्वेद विज्ञानमा उत्तरायणलाई ‘आदानकाल’ भनिन्छ । ग्रीष्मऋतुमा अत्यन्त चर्को घाम लाग्छ । नैर्ऋत्य दिशाबाट तातो हावा बहन्छ । पृथ्वी तातेर गर्मी बढ्दै जान्छ । नदीनाला सुक्दै जान्छन् । वन, जङ्गलमा डँढेलो लागेको देखिन्छ । आँधीबेहरी, हुरी र हुण्डरीले रूख, वृक्षादि ढाल्दछन् । मृगादि पशुपन्छीहरू पानीको खोजीमा व्यग्र देखिन्छन् । कहिले कहीँ असिना र पानी आएर फलफूल र नवपालुवालाई नष्ट, भ्रष्ट पारेको पनि देखिन्छ । पीरो रस उत्पन्न गर्ने ग्रीष्म ऋतु रुक्षगुण भएको, पित्तकारक र कफनाशक पनि हुन्छ ।

ग्रीष्मऋतुमा सूर्यले आफ्नै तीव्र किरणहरूद्वारा जगत्‌को स्नेह रसलाई खिचेर लिने हुँदा रुक्षता बढेर शरीर दुर्बल हुन्छ । त्यसकारण गर्मी मौसममा तीतो, टर्रो, गुलियो (सुगरको रोग छैन भने) र शीतल भोज्य पदार्थ खानु, चिसो पानी, सर्वत, दूध आदि तरल पदार्थ प्रशस्त मात्रामा पिउनु, उखु, मूला, मेवा, काँक्रो, खरबुजोजस्ता फलफूलहरू खानु, जङ्गली पशुपन्छीको मासु, दूध अथवा घिउसित भात खानु, दिउँसो शीतल घरमा र राति खुला चिसो हावा लाग्ने छतमा सुत्नु, सुगन्धित फूलको माला चन्दन, मोतीको माला लगाएर सिङारिएको सुन्दर आसनमा बस्नु, पङ्खाको हावा लिनु, मधुर स्वरयुक्त गीतसङ्गीत सुन्नु र स्त्रीजातिका कोमल हातका स्पर्श गर्नुसमेत हितकारक हुन्छ । ग्रीष्मऋतुमा अर्थात् गर्मीको समयमा बढी, पीरो, अमिलो, तातो, क्षारीय पदार्थको सेवन गर्नु, रक्सी पियनु, घाममा अधिक परिश्रम गर्नु र नित्य मैथुन गर्नुसमेत स्वास्थ्यको निमित्त हानीकारक हुन्छ, भन्ने मानिँदै आइएको छ । त्यसैले पनि शास्त्र र व्यवहारले निषेध गरेका आहार–विहारलाई नअपनाऔँ, प्रयोग नगरौँ ।

प्रतिक्रिया दिनुहोस्: