कुरा आजभन्दा बत्तीस वर्ष पुरानो हो तर जीवनमा घटेको अपूर्व नौलो एवं भय र कष्टदायी अनुभव रह्यो । २०५० सालको आषाढ महिनाको दोस्रो साता ‘अखण्ड हरिकीर्तन’ पर्सा खैरहनी चितवनका उपाध्यक्ष शम्भुभक्त उप्रेतीको जन्मोत्सवमा ५०/६० जना भक्तजनहरू जम्मा भएका थिए । म स्वयं सस्थाको सचिव र पुराणवाचक पण्डितजी, कीर्तनमा पनि संलग्न व्यक्ति भएँ । दिउँसो १ बजेतिर शीतल छहारीमा बसेर तीर्थका चर्चा गर्दा, स्वर्गद्वारी जाने कुरा निस्कियो । मैले नुवाकोटमा छँदै ठूलो बुबाको गफ सुनेको थिएँ । स्वर्गद्वारी महाप्रभुले आफू र गोठाला ४/५ जनालाई पकाएको दालभातले लस्कर नै अघाउन सक्थे । उनको आसन मुनिबाट जति झिके पनि पैसा सकिन्नथ्यो अरे ! उनले दाङ र देउखुरीमा गरी १२/१५ सय बिघा जमिन स्वर्गद्वारी मठको नाममा किनेर गाउँलेहरूलाई नै कमाउन दिएर त्यो अन्नले दैनिक पाठपूजा, हवन, रुद्री, चण्डी, वेद जस्ता ब्रह्म यज्ञ दैनिक गर्ने गर्थे रे ! दुई/तीन सयसम्म गाईका बथान पालेका थिए रे !
हाम्रो घरमा नै ३/४ जना बूढाबूढी थिए । बाटाको घर, फाँटको सिरान र गाउँको पुच्छार । सबैजसो गाउँलेका थरी बा, सबैको भलो नै गरिदिने फलैँचा–पिँढीमा मानिसको खाँचो हुँदैनथ्यो । प्रायः कचहरी भैरहन्थ्यो । हामी ३/४ जना भुरा अह्राएको काम गर्दै कुरा पनि सुन्दै हुन्थ्यौँ । बूढापाका जम्मा भएर तमाखु ट्वारट्वार पार्दै गफमा गफिइरहन्थे । यस्तैमा मैले स्वर्गद्वारीको प्रसङ्ग सुनेको थिएँ । तीसौँ वर्षपछि चितवनमा त्यहाँको चर्चा चल्दा मैले एकदम प्रचलित सिद्धभूमि हो, तपोभूमि हो, हाम्रो देशको मध्यपश्चिम क्षेत्रमा पर्ने स्वर्गद्वारीमा मेची–महाकालीका मात्र नभएर भारतका पनि धेरै तीर्थालु आउँछन् रे, भनेँ । शम्भुभक्तले जानसके त राम्रै हुन्थ्यो, आफू त बूढो भैसकियो, सत्तरी वर्ष लागियो । अब त झन् झन् गलिँदै छ, भने । बुबा र गुरु जाने भए त हामी पनि जान्छौँ, भन्ने धेरै भए । साउन लागेपछि वृन्दावन जाने पनि कुरा चलिसकेको थियो । समय हिसाब गर्दा १६ देखि २२/२३ सम्म मात्र निस्कियो । लौ निर्णय गरौँ त जम्मा ७/८ दिनमा पुगेर आउन सकिन्छ, जाऊँ भन्नेमा सबैको मत मिल्यो । त्यस दिनको समारोह सकियो । पर्सिपल्ट बिहान ७ बजे प्रस्थान गर्ने निधो गरियो । सबै बिदा भए । एकदिन सामान्य झोला तयारी गरी निम्न अनुसार– शम्भुभक्त, उनकी बुहारी, उनको सहयोगी शशि थापा, अम्बिका, सीता, सुशीला, कलावती, कल्याण, झङ्कादेवी, पाल्पाली साहुनी, उनको छोरी, शुभद्रा, भाइराजा र म नारायणाचार्य कौशिक हामी १४ जना पर्सा चौबीसकोठी चोकमा जम्मा भयौँ । त्यहाँबाट बुटवलको गाडी चढ्यौँ । नारायणघाट, कावासोती, दाउन्ने, वरदघाट हुँदै १ बजे बुटवल पुग्यौँ । एकघण्टा जति बुटवल बजार र तिनाहु नदी हेरेर एउटा मन्दिरको छेउमा बसेर खाजा खायौँ र पाल्पा जाने बस चढ्यौँ । बुटवल–पाल्पाको बाटो साँघुरो रहेछ । त्यहाँ पहिला पहिला भएका सडक दुर्घटनाका चर्चाले सबैको मन चिसो भयो । कहीँ उकालो, कतै ओरालो, जङ्गली जन्तु, गिर्खा, पहिरो, गहिरो खोला, पहाडी बाटो नहिँडेका हाम्रा चितौने महिलाको निकै लामो सुसेली र खैलाबैला भयो । डराइ, डराइकनै बेलुका ६ बजे पाल्पा बजार पुग्यौँ । पाल्पाली साहुनीको मातहतमा पोका थन्क्याएर हामी तानसेन बजार पाल्पा बजार घुम्यौँ । बजारको माथि एउटा रानीदरबार र भगवतीको मन्दिर हेर्यौँ । अझमाथि एउटा सिद्धाश्रम–मन्दिर रहेछ । त्यहाँ त हाम्रो पर्सा बजारमा सहयोग माग्न आउने एकजना सिद्धबाबा रहेछन् । टीकादेवभक्त कहाँ पुराणमा २ दिनसम्म बसेर मेरो पुराण सुनेका रहेछन् । त्यहाँ पुगियो । राम्रो स्वागत गरे । हामी १०/११ जना थियौँ । तातो पानी, चिया, मसला राखेर खानदिए । लेक भएकोले बेलुकीपख त जाडो जाडो जस्तै भएको थियो । अँध्यारै भएपछि फर्किएर बेलुकाको भान्सा गरियो ।
‘एकपन्थ दोकाज’ भने जस्तै हामीले रिडीमा ऋषिकेश भगवान्को पनि दर्शन गर्ने योजना बनाएका थियौँ ।
सोधखोज गर्दा ९ बजे मात्र गाडी जान्छ भने । बिहान पाँचै बजे उठेर नुहाइधुवाइ, जपध्यान, पूजापाठ सकेर हल्का सामान मात्र बोकेर ६ बजे नै एक गिलाँस चिया खाएर रिडीतर्फ हिँड्यौँ । एकघण्टा तेर्सो बाटो हिँडेपछि ओरालो लाग्यौँ । भीर, पखेरो, खोला, खाल्टा, खौला बाटो त हिँडीसाध्य नै छैन । बूढाबूढी, आईमाई, केटाकेटी अनि पोकापुन्तुरा, छाता–प्लाष्टिक सबै कुरा झण्झटिलो भयो । एकघण्टा ओरालो झरेपछि गोडा खाँदिएर, कुँजिएर धेरै जस्ता महिलाका जुत्ता हातमा चढे । लगलग गोडा कामेका छन् । अझ एकघण्टा ओरालो र एकघण्टा तेर्सो गिर्खामा हिँड्न पर्छ । ९ बजेदेखि नै असारे घाम चरक्क चर्कियो । रातोमाटो, ओरालो बाटो, दुःखेका गोडा, गह्रौँ–गह्रौँ झोला अब सब आलसतालस भए । झोलामा बोकेका फल र खोला–कुवाका पानी खाँदै लौराका भरमा बल्ल ओराला सकियो । तेर्सो बाटो पनि घामले तातेका तीखा तीखा चुच्चा भएका गिर्खा ढुङ्गामा टेक्दा कर्याक कुरुक् गर्छ । बजारबासीका कमला पैताला, जुत्ता लगाऊँ घाउ भैसक्यो । नलगाऊँ बिजाएर हिँड्न नसकिने । धार्मिक आस्थाले गर्दा जति नै दुःख भए पनि सहनु नै धर्म हो ।
भोक, तिर्खा, थकाइ र घामले गर्दा अब सबको कुराकानी बन्दभयो । ११ बजे ऋषिकेश मन्दिर पुग्यौँ । कालिकातिरमा गएर नुहाइधुवाइ, जप गरेर मन्दिरमा आएर दर्शन र पूजा गर्यौँ । १ बजेतिर रिडी बजारमा गएर बिहानको भान्सा गर्न भाँडा, दाउरा, सागसब्जी ठिक पारेर पकाएर खाँदा ३ बज्यो, फर्कन ढिला भइसक्यो । गाडी जान मान्दैन । बल्ल बल्ल ५ बजे एउटा गाडीलाई बनाएर तयार भयौँ । अब गाडी भरिएर उभिनसमेत पर्यो, गाडी भीड भयो । बाटो ४ घण्टाको दिन बाँकी जम्मा २ घण्टा मात्र छ । उकालो, साँघुरो, खाल्टाखुल्टी, चिप्लो छ, कतिपटक स्टार्ट बन्द हुन्छ । कोलाहल गर्दै, कतै ओर्लेर ठेल्दै बल्ल बल्ल ९ बजे पाल्पा पुगियो । अबेला खाएकोले चिया खाएर हिजोकै बासमा सुत्यौँ ।
भोलिपल्ट महादेव मन्दिर, भीमसेन मन्दिर, टुँडिखेल आदि घुमेर ८ बजे खाना खाएर पुनः बुटवल फर्कियौँ । १२ बजे बुटवलबाट अर्को गाडी चढेर गोरुसिङ्गे हुँदै लमही गयौँ । त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग छोडी दाङ–देउखुरीको बाटो लागियो । घण्टौँ जङ्गलको बाटो, डाँडाकाँडा पार गरेर राप्ती नदी पार गरियो । पुरानो देउखुरी बजारको नागबेली जस्तो साना, साघुँरा गल्लीका बजारहरू देखियो । ती दृश्यहरू हेर्दै गाडी अगाडि बढ्यो । दाङको बेलझुण्डी, तुलसिपुर बजार टाढाबाट देखियो मात्र । बेलुका ५ बजे दाङको घोराही बजारमा गाडीबाट झर्यौँ । अलि अलि खाजा खाएर झोला हलुका पार्यौँ । डेढघण्टा जति दिन छ । अलिकति भए पनि बाटो छोट्याउनै बेस हुन्छ, तपाईंहरू बिस्तारै आउनुहोस्, म बास खोज्न जान्छु भनेर अघि लागेँ । अम्बिका शाह उनी छिटी छरिती थिइन् । गुरुलाई किन एक्लै पार्नु म साथै जान्छु भनेर आइन् । हामी दुई लम्किन लाग्यौँ । डेढ घण्टा हिँड्यौ । घाम अस्ताउन लागे । बास बस्न पुग्ने घर भेटिएन । २/३ कोठा भएका एकतले घर मात्र पाइन्छ । चौध जना छौँ, लौ अब साँच्चै कठीन पर्नेभयो भन्दै गयौँ । अलिपर एक मात्र २ तले दलान, पिँढी, भान्छाघर छुट्टै भएको, सानो गोठ पनि भएको ठूलो आँगन, पानीको पाइप, बगैँचा सबै बन्दोबस्त भएको एउटा घर देखियो । अर्को उपाय छैन, अब जसरी पनि यहीँ बस्नुपर्छ भनेर भित्र पस्यौँ । अन्दाजी ५५/६० वर्षका एकजनाले सोधे, तपाईंहरू को हो ? कहाँबाट ? के उद्देश्यले आउनुभयो ? भनेर !
मैले भने, ‘हजुर त यसो हेर्दा सामाजिक, सामाजिक व्यक्तिजस्तो लाग्यो । यहाँको पस्थिति, दाङ–घोराहीको वातावरण, भौतिक पूर्वाधार, विकासका गतिविधिहरू के कस्ता छन् ? हजुरसँग केही जानकारी लिउँ कि भनेर आएका हौँ ।’ बूढा अलिकति फुर्क्याट रहेछन् । अहो हजुर ! देख्नासाथ कसरी पहिल्याउनुभयो ? ‘हो हजुर म १८/१९ वर्षको उमेरदेखि नै समाजसेवामा लागेको व्यक्ति हुँ । कसरी हो ! नसोधी, नबुझीकनै यहाँले मलाई समाजसेवी भन्नुभयो’ भन्दै हजुर बसौँन भनेर यता उता टेबल–कुर्सी मिलाए । उनीसँगै कुरा गर्दै गरेको एकजना गाउँलेसमेत हामी चारजना मेचमा बस्यौँ । उनले घर सोधे । हामीले चितवनको पर्सा बजार हो भन्यौँ । ‘हामी स्वर्गद्वारी जान भनेर १४ जनाको टोली यहाँ आइरहेका छौँ । बूढाबूढी अशक्त पनि पछि आउँदै छन् । हामी बासको बन्दोबस्त मिलाउन अगाडि लम्किएका हौँ । यसो बाटाबाट हेर्दै हिँड्दा यही घर मात्र हाम्रो टोलीलाई थेग्न सक्छझैँ लागेर हजुर कहाँ प्रवेश गरेका छौँ । हजुरलाई अप्ठेरो छैन भने हामी बास पाऊँ’ भनेँ । बूढाले ‘ओहो यो त मेरो अहो भाग्य हजुर ! एक त तीर्थ जाने, अर्को सुझबुझ भएको विद्वान ब्रह्मण ! साँझको अतिथि अब अन्त जाने कुरै छैन’ उनीले भने, ‘मान्छे कहाँ त मान्छे आउँछन्, केही आपत्ति छैन यहाँ बस्न, बस्नुस् ।’
यत्तिकैमा साथीहरू पनि आइपुग्नुभयो । बिहानै खाएको भोकाएका, थाकेका थियौँ । सबैले हात–मुख धोयौँ र आनन्दले बस्यौँ । सागसब्जीका भाँडा, ठूलो तामाको फोसीमा चामल दुईवटा कराइमा दालसाग, धनियाँको अचार सब तयार भयो । साढे आठ बजे खाइपिई सकेर ९ बजे सब सुते । भाइराजा, अम्बिका र म बाँकी गफ टुङ्ग्याउन लाग्यौँ । तत्कालीन राजनीतिबाट सुरु भयो । त्यतिखेर नेपाली काँग्रेसले बहुमत ल्याएर सरकार बनाएको थियो । दलभित्रको खिचातानीका चर्चा गरे । उनी कम्युनिष्ट विचारका व्यक्ति रहेछन् । दाङ जिल्लामा काँग्रेसको बाहुल्यता चिर्न गरेका कोसिस र संघर्षको उल्लेख गरे । जिल्ला सम्मको पहल गरेँ तर सफल भइन अहिले यो ठाउँमा जे देख्नुभयो, त्यो मेरै सक्रियताबाट भएको हो, भने ।
हामीले चितवन एक नं.र दुई नं.मा काँग्रेस र पश्चिममा कम्युनिष्टको सक्रियता छ भन्यौँ । अन्य कुरामा भोलिको बाटोको बारेमा प्रश्न गरियो । उनले भने, ‘हजुर म त बिहानै हिँडेर ११ बजे स्वर्गद्वारी पुगेर दर्शन, भोजन गरेर बेलुका ७ बजे नै घरमा आएको छु । हजुरहरू बेलुका ७ बजेसम्म त सजिलै पुग्न सक्नुहुन्छ ।’ राति १२ बजेतिर हामी सुत्यौँ । बिहान ५ बजे नै उठेर गह्रौँ सामान त्यही छाडेर हल्का २ दिनको निर्वाह हुने मात्र बोकेर ६ बज्नै लाग्दा त्यहाँबाट हिँड्यौँ ।
खोलाको किनारै किनार हुँदै धेरैमाथि पुगेपछि दायाँपट्टिको पहाड चढ्न लागियो । ९ बजे पहाडको टाकुरामा पुग्यौँ । झोलाबाट कटाङ्कुटुङ् निकालेर पेटमा पठायौँ । पसिना ओभाएर पूरा २ घण्टा ओरालो झर्यौँ । प्युठान र दाङ छुट्याउने ठूलै खोला रहेछ । त्यसलाई ढङ्गाढुङ्गै फड्किएर पारि तर्यौँ । सानो एउटा पसल रहेछ, त्यहाँ ५ किलो आलु किन्यौँ । १२ बजेतिर २/३ घर भएको एउटा सानो गाउँ रहेछ । हामीलाई भाँडा र सब्जीको समस्या थियो । अम्बिका र म अगाडि गएर एउटा कराई र डेक्ची खोजेर माझ्यौँ । बारीको आँपको फेदमा ढुङ्गा लगाई चुलो बनायौँ । दाउराको त दुःख थिएन । बारीमा कर्कलो घारी रहेछ । त्यो घरको एकजना महिलालाई सोधेर गावा टिप्न लाग्यौँ । त्यति बेलासम्म सबै साथीहरू पनि आइपुगे । एकातिर चामल, अर्कातिर आलु र गावा पकाई झोलाका गुन्द्रुक साँधेर २ बजे खानपान सक्यौँ ।
खाएर उकालो लागियो । यो चारकोशको उकालो रहेछ । यसकै थाप्लामा स्वर्गद्वारी छ भने । तीन बजे एक बिसौना हिँडेपछि चौतारामा बसेर गाउँलेलाई सोद्धा ‘यहाँबाट हिँडिरहे ७ बजे पुग्नुहुन्छ’, भने । अब हाम्रा साथीहरूमा ७ जना हिँड्न सक्ने, ७ जना अलि बिस्तारै हिँड्ने, यो कुरा पाल्पादेखि नै स्पष्ट भएको थियो । मैले भने, ‘हिँड्न सक्ने अगाडि गएर बास र भान्सा तयार गरौँ । पछि आउनेहरू आउनासाथ खान पाउँछन् र व्यवस्थित तरिकाले बस्न पाउँछन् । भन्नुहोस् ? के गरौँ ?’ भन्दा सबैले ‘हुन्छ, जानोस्, हामी बिस्तारै आउँछौँ’, भने ।
सल्लाह गरेर अम्बिका, सीता, सुशीला, झंकादेवी, भाइराजा, कल्याण र म सात जना उकालोमा दम बढाउन लाग्यौँ । शम्भुभक्तका साथमा छिटो हिँड्न नसक्नेहरू सात जना नै भए । एकघण्टापछि वल्लो र पल्लो डाँडामा भइयो । चर्को बोलाउँदा उनीहरूका जवाफ सुनिन्छ । मान्छे यहाँ आए थाहा हुन्छ । यस्तै हिँड्दै गयौँ । बेलुकाको ६ बज्यो । हामीहरू पल्लोडाँडामा पर्खेर बस्यौँ । उनीहरू तल्लोडाँडामा देखिए । हामीहरूले कराएर सोध्यौँ, ‘हामीहरू जाऊँ कि पर्खेर बसौँ ?’ भन्यौँ । उनीहरूले भने, ‘फर्केर तलआओ हामीहरू हिँड्न सकेन्यौँ । यहीँ भेँडी गोठमा बसौँ’, भने । भेँडीगोठ हेर्दा ४ जना पनि अट्ने ठाउँ छैन । उनीहरू नै सात जना छन् । बल्ल बल्ल चढेको उकालो फर्केर आउने कसरी ! भोलि त पुनः चढ्नै पर्छ । कस्तो मूर्खता !
हामीले सल्लाह गर्यौँ । एउटा गोठालो भेटियो । त्यसलाई ‘हामी आज स्वर्गद्वारी पुग्नसक्छौँ ? कति छ बाटो ?’ भनेको, भाषा नबुझ्ने रहेछ, हामीदेखि डराएर भेँडा लखेट्दै तल झर्यो । इशाराले ‘जाऊ’ मात्र भन्यो । अब हामीलाई हतास भयो । ‘अब जे हुन्छ जाऊँ ।’ हामी सबैको मत मिल्यो, उकालो लाग्यौँ । एक घण्टा हिँडेपछि लेकमा कुइरो लाग्यो । पानी पर्न र हावा चल्न थाल्यो । असार १९ गते । सबभन्दा सानु करिब ९ वर्षको, कलावतीको छोरा कल्याण, आमा छोडेर हाम्रोपछि हिँडेको । त्यसलाई सायद अँध्यारोले डर लाग्यो होला ! हुनसक्छ थकाइ पनि जोडसँग लाग्यो होला ! ‘गुरु ! मम्बत्ती बाल्नुस्न’, भन्यो । ‘लौ भनेर’ सलाई कोर्न लागेको हावा र पानीले कुनै पनि तरिकाले मैनबत्ती बाल्न सकिएन । सलाई बालेपछि अब आँखाको तेज झ्याप्पै गयो ।
हात र गोडाले भुइँ छामेको सल्ली वीर (सल्लाको झरेका पात) ले जता छामे पनि चिप्लो छ । जताततै ठाडो भीर छ । देख्नुसुन्नु केही छैन । सब बिलखबन्द भयौँ । सातैजना जाडोले कठयाङ्ग्रिसक्यौँ । पानी परिरहेको र हावा चलिरहेको छ । सलाई भिजेर सकियो । मैन चिसो भएर बलेन । लाइट तल्लो टोलीको झोलामा परेछ । भुटेको चना र मकै छ तर पानी छैन । कल्याणले सुक्खा चाउचाउ चपायो, तिर्खायो । पानी खान पाएन । १५/२० मिनेट पोको परेर बस्यौँ । औँसीको पर्सिपल्टको रात झनझन अँध्यारो भयो । रातिको आठ बज्यो । कान थाप्दा शङ्ख–घण्टाको आवाज पनि छैन । भजन–कीर्तन, पाठ–प्रवचन कतै केही अत्तोपत्तो छैन । स्वर्गद्वारीको बत्ती पनि देखिन्न । घोर जङ्गल, निष्पट्ट अँधेरो, अघोर रात, अति भोक, तिर्खा र थकाइ, सबै जनालाई भाग पुगेको छ । एक बूढो, एक बालो, चार महिला, सबैको नेतृत्व गर्ने त म नै भएँ । सल्लाह गरेँ, ‘परिस्थिति यस्तै पर्यो, अँध्यारोमा हिँडेर भवितव्य निम्त्याउनुभन्दा एउटा रुखको फेदमा बसौँ भनेँ ।’ सबैले ‘हुन्छ’ भने । बस्न ठीकै भयो । नजिकै सानो पानी बिनाको पोखरी जस्तो विजुली चम्कँदा देखियो । भाइराजाले भने, ‘गुरु ! पानीको पोखरीमा जङ्गली जन्तुहरू पानी खान आउँछन्, यहाँ बस्न डर हुन्छ ।’ उनको कुरामा ‘हो’ भन्ने धेरै भए । त्यसदेखि झण्डै सय मिटरजति पर हामी सातै जना बसेर घिस्रँदै घिस्रँदै गयौँ । उठेर हिँड्दा भीरबाट खसिएला भन्ने डर लाग्यो । एउटा थुम्को रहेछ । त्यसको वरपर जता पनि भिरालो रहेछ । त्यस थुम्कामा एउटा सानु पोथ्रो रुख थियो, त्यसैलाई चारैतिरबाट घेरेर, ओढ्न लगेको प्लाष्टिक ओछ्याएर झोलाको सिरानी गरी जङ्गलको चुचुरामा गिर्खाहरूको उबडखाबडमाथि सबै ढल्यौँ । माथिबाट झरी र तप्कनी छ । तलबाट चिसो छ । शरीरमा दिनभरिको थकाइ र भोक छ । सानु बच्चा कल्याणको आमा एकातिर छोरा अर्कोतिर, दुवै चिन्तामा छन् । जन्तुुको भय पनि छँदै छ । ३ बजेसम्म डरले सास पनि दबाएर सुत्यौँ । ३ बजेपछि भाइराजा भट्टले वैरागी भजनलाई दोर्याइ, दोर्याइ गाएर रात कटाए ।
वैरागी भजन
भईकन जोगी भिरीकन झोली वनमा गैकन श्याम भजूँ ।
छोडी आशा गृह, धन, जनको निश्चल भैकन श्याम भजूँ ॥
बाघ र भालु, मृग, गैडा ती वरिपरि साथीहरू धरूँ ।
अरू वनचरहरूलाई बटुली निश्चल भैकन श्याम भजूँ ॥
झरनाको त्यो सुन्दर जल ली गिठ्ठा, फलफूल खुब टिपूँ
राधावरका चरण कमलमा प्रेमले अर्पण नित्य गरूँ ॥
कहिले हाँसौँ कहिले नाचौँ कहिले मग्न भएर बसूँ ।
श्यामको सुन्दर झाँकी सम्झी छाती फोरी आँशु झिकूँ ॥
पाउँला, खाउँला भन्ने आशा छोडी प्रभुकै ध्यान गरूँ ।
संझी प्रभुकन विषय भुलेर हरिकै शरणमा परी मरूँ ।
यसरी भजनलाई लय हालेर सब जनाले गाउँन लाग्यौँ । साढेचार बज्दा अलि अलि बाटो देखिन लाग्यो । सबैले थैला, पोका मिलाएर बाटो लाग्यौँ । २० मिनेट जतिमाथि एउटा लामो पिँढी भएको घर आयो । यत्ति आउन सकेको भए मानिसको आधारमा रात काटिने रहेछ । पछुतो गर्दै अगाडि बढ्यौँ । बिहान ६ बजे स्वर्गद्वारीमा पानी लग्ने पँधेरामा पुगियो । त्यहीँ नुहाएर जपतप गरी उँभो लाग्यौँ । ७ बजे मन्दिर पुग्यौँ । स्वर्गद्वारी कुनै विशाल मन्दिर, मूर्ति भएको होइन रहेछ । कुटी आकारको होचो मन्दिर, त्यसैभित्र विभिन्न देवीदेवताहरूका ससाना मूर्तिहरू राखेर १/१ गरी पुजारी बस्ने, बीचमा १६ हातजति गहिरो अग्निकुण्ड, त्यहीँ हवन हुने रहेछ । अलिमाथि एउटा सानो गुफा रहेछ । स्वर्गद्वारी प्रभु त्यहीँ तप गर्ने भन्ने सुनियो । त्यहाँबाट भित्रभित्रै कालीको किनारमा निस्कन्छन् भन्ने किंवदन्ती पनि रहेछ । सयभन्दा बढी नै गाईहरू रहेछन् । चार बजेदेखि हिँडेका साथीहरू पनि एकघण्टापछि आइपुगे । रातिका कठिनाइका आआफ्ना व्यहोरा साँटयौँ । दर्शन, पूजा, आरती गरेर श्रद्धा अनुसार मठलाई चन्दा दियौँ । खिचडी पकायौँ र आलुको भुजिया बनाएर दूध, दहीको साथमा भोजन गर्यौँ । दिउँसोको करिब एक बजेतिर हामी स्वर्गद्वारीबाट बिदा भयौँ । गोडा दुःखेकोले ओरालो हिँड्न झन् गाह्रो भयो । साँझमा डाँडाको फेदीतिरको एउटा गाउँमा आएर बास बस्यौँ । भोलिपल्ट बिहानै खानपिन गरेर हिँड्यौँ । ४ बजे घोराही आएर रात्रिबस चढ्यौँ । रातभरिमा बल्ल नवलपरासी आइपुग्यौँ । नारायणघाट आइपुग्दा बिहानको १० बजिसकेको थियो । देवघाट गएर स्नान, दर्शन गरेर २ बजेतिर भोजन गर्यौँ । यसरी स्वर्गद्वारी लगायत विभिन्न देवस्थल तथा तीर्थस्थलहरूको १० दिनको भ्रमण पूरा गरी २७ गते बेलुका आआफ्नो घरमा भित्रिन पुग्यौँ ।
वसन्तनगर, बालाजु, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: