अरूलाई सिकाउन सक्नेले त्यो कुरा आफ्नो व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ
डा.अम्बिका अर्याल
गोरखाको पालुङटार–८ मा जन्मनुभएकी डा.अम्बिका अर्याल हाल बूढानीलकण्ठ, काठमाडौंमा बस्दै आउनुभएको छ । अङ्ग्रेजी र नेपाली विषयमा एमए, एमएड, एमफिल र पिएचडीसमेत गर्नुभएकी डा. अर्याल यतिखेर भने पद्मकन्या क्याम्पस, बागबजारमा नेपाली विभागको विभागीय प्रमुख हुनुहुन्छ । डा.अर्यालका ‘नारीवादी सिद्धान्त र पौपन्यासिक विश्लेषण–२०६९’ देखि ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास– २०८१’ सम्म आइपुग्दा ६ वटा समालोचनाका पुस्तकहरूका साथै अविश्रान्त (उपन्यास : २०७५) र भावदीप (मुक्तकसङ्ग्रह : २०८१) समेत गरी ८ वटा पुस्तकाकार कृतिहरू प्रकाशित रहेका छन् । लेखक तथा साहित्यकार डा.अर्यालले हरिकमला पदक (२०६७), विश्वनारी नेपाली साहित्य पदक (२००७१), त्रिमूर्ति पुरस्कार (२०७२), नइ रजत महोत्सव पदक (२०७८), मन्जुश्री साहित्य पुरस्कार (२०८०) र नइ कीर्ति रत्न अलङ्कार (२०८०) लगायत दजनौँ सम्मान तथा पुरस्कारहरू प्राप्त गर्नुभएको छ । यिनै शिक्षा र साहित्यका धरोहर डा.अर्यालसँग नेसनल युनाइटेड स्कुल गणेशचोक, बूढानीलकण्ठ–८, काठमाडौंका छात्राहरू सञ्चिता तामाङ (कक्षा : १०), आर्या थापा (कक्षा : ९) र याना राई (कक्षा : ७) ले विद्यालय परिसरमा साहित्यका विविध विषय र प्रसङ्गमा कुराकानी गरेका थिए । संसाक मासिक तथा ईसंसाकका सम्पादक/प्रकाशक उमेश पाण्डेले सहजिकरण गर्नुभएको उक्त कुराकानीका प्रमुख अंशहरू यहाँ प्रस्तुत गरिएका छन् :
विद्यार्थी : सुरु यसरी गरौँ कि साहित्य के हो ? हजुरको धारणा या परिभाषा के छ ?
डा.अम्बिका : हुन त साहित्य समाजको दर्पण हो । तर यतिमात्र होइन, यसमा अनुभूति र कल्पनाको संयोजन कलात्मक रूपबाट गरिन्छ । यो रोचक तरिकाले समाजलाई सकारात्मक दिशातर्फ मार्गनिर्देश गर्ने कला हो ।
विद्यार्थी : हजुरलाई साहित्यमा लाग्ने प्रेरणा कोबाट प्राप्त भयो ? अग्रज साहित्यकारहरू साहित्यमा किन प्रेरित हुन्छन् ?
डा.अम्बिका : खासमा मलाई साहित्यमा लाग्ने प्रेरणा परिवारबाटै मिलेको हो । हजुरआमाले कण्ठस्थ सुनाएका रामायण र महाभारतका श्लोक, बुबाका दन्त्यकथाले यसतर्फ रुचि बढाएको हो । अग्रज साहित्यकारहरू कतिपय साहित्यमा जन्मजात रूपबाटै रुचि भएकाले साहित्यतर्फ प्रेरित हुन्छन् भने कतिपयमा साहित्य लेखन अनुभव, विचार र भाव सम्प्रेषणको माध्यम बन्छ । निरन्तरको साधना, आदत र समाजका लागि मार्गदर्शन दिने विचारका साथमा पहिचान र अमरत्वको लोभले पनि अग्रजहरू साहित्य लेखनमा प्रेरित हुने गर्छन् ।
विद्यार्थी : हजुरले कहिलेदेखि साहित्य लेखन सुरु गर्नुभयो ? कृतिहरू के कति प्रकाशित छन् ?
डा.अम्बिका : मैले बाल्यकालदेखि नै अर्थात् ११ वर्षको उमेरदेखि साहित्य लेख्न थालेकी हुँ । मेरा साहित्यभन्दा समालोचनाका पुस्तक बढी प्रकाशित भएका छन् । साहित्यमा अविश्रान्त (२०७५) उपन्यास र भावदीप (२०८१) मुक्तकसङ्ग्रह पुस्तकका रूपमा प्रकाशित छन् तर फुटकर रूपमा विभिन्न पत्रिकामा कथा, कविता, नाटक, निबन्ध तथा नियात्रा प्रकाशित भइसकेका छन् ।
विद्यार्थी : सिर्जनामा लेखिए अनुसार हामी व्यवहारमा पनि लागु गर्छौं त ?
डा.अम्बिका : सिर्जनामा लेखिए अनुसार व्यवहारमा लागू गर्नु जरुरी छ तर कतिपय लेखकहरूले यसलाई हुबहु पालना गरिएको देखिँदैन । जे कुरा अरूलाई सिकाउन सकिन्छ त्यो कुरा आफ्नो व्यवहारमा पनि लागू गर्न सक्नु उत्तम हो ।
विद्यार्थी : हजुरको साहित्य सिर्जना गर्ने उपयुक्त समय, अवस्था र वातावरण कुन हो ?
डा.अम्बिका : साहित्य लेखनका लागि मेरो खास यही समय भन्ने निश्चित छैन । तर आफ्ना मनमा लेख्ने विषयवस्तु उजागर भएका बेला एक्लै बस्न पाएँ भने लेखिहाल्छु । आजकल त मनमा लागेका कुराहरू तुरुन्तै लेख्न सकिने मोबाइल नोट छन् । यस्तो एकान्त परिवेश वा उपयुक्त वातावरण मिल्ने वित्तिकै सहजै लेख्न सकिन्छ ।
विद्यार्थी : हाम्रा यी नदी–नाला, खोला–खेल्सा, पाखा–पखेरा, वन–जङ्गल, यी फाँट–गरा पनि साहित्य लेखनको लागि सिर्जनाका स्रोतहरू बन्न सक्छन् ? के लाग्छ हजुरलाई ?
डा.अम्बिका : हजुर यो सही हो, सिर्जनाका लागि विषयवस्तु यही हुनुपर्छ भन्ने छैन । हाम्रै वरपरका नदीनाला, खोलाखोल्सा, पाखापखेरा, वनजङ्गल, फाँट, गरा आदि पनि साहित्य लेखनको सिर्जनाको स्रोतहरू बन्न सक्छन् । यी जुनसुकै विषयमा पनि लेख्न सकिन्छ जस्तो मलाई लाग्छ र मलाई पनि यस्तै स्रोतले लेखनमा ऊर्जा दिने गरेका छन् ।
विद्यार्थी : अध्यापन, प्राध्यापन गर्ने व्यक्तिहरू बढी साहित्यमा लाग्नुहन्छ, उहाँहरूलाई के कुराले प्रेरित गर्छ र लाग्नुहुन्छ ?
डा.अम्बिका : अध्ययन अध्यापन गर्ने व्यक्तिहरूमा विशेष किसिमको अनुभव हुन्छ । उहाँहरू आफ्नो भोगाइको मात्रै नभएर जुनसुकै उमेर समुहका विद्यार्थीका अनुभव, गुनासा, योजनादेखि विभिन्न पुस्तक पढ्दा र पढाउँदाका ज्ञानसमेत हुन्छ । यसले समाजमा विद्यमान समस्या पहिचान गरी समाजलाई मार्गदर्शन गर्ने खालका रचनात्मक कार्यका लागि प्रेरित गर्छ । तिनै कुराहरूका आधारमा समाज कस्तो छ र सिर्जना कस्तो हुनुपर्छ भन्ने विषयमा उहाँहरूलाई जानकारी पनि बढी हुन्छ । यसर्थ साहित्य सिर्जनामा यिनै कुराहरूले प्रेरित गरेका कारणले अध्यापन गर्ने व्यक्तिहरू साहित्यिक क्षेत्रमा बढी लाग्नुहुन्छ जस्तो मलाई लाग्छ ।
विद्यार्थी : नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ ? केही बताइदिनोस् न ?
डा.अम्बिका : नेपाली साहित्यलाई लेखनका हिसाबले हेर्ने हो भने सङ्ख्यात्मक रूपमा असाध्यै वृद्धि भइरहेको अवस्था छ । पछिल्लो समयमा देखापरेका विभिन्न किसिमका नयाँ टेक्निक, विषय र मुद्दालाई समेटेर लेख्न थालिएको छ । यसले सीमान्तकृतका आवाज बुलन्द गर्दै तिनका अधिकार स्वतन्त्रताका विषयमा पनि जोड दिन थालेको छ । तर लेखिनुपर्ने विषय अझै धेरै छन् । लेखकलाई प्रेरित गर्ने, लेखनलाई सहजै प्रकाशित गरिदिने, लेखेरै बाँच्न सकिने विश्वास दिलाउने उचित प्रबन्ध नहुँदा क्षमतावान् लेखकको लेखनप्रतिको गम्भीरता र धैर्य मर्दै गएको छ । सिधै भन्दा जो सँग पैसा वा पहुँच छ त्यस्ता व्यक्ति मात्रै लेखक बन्न सक्ने स्थिति छ ।
विद्यार्थी : नेपाली साहित्यका कृतिहरू गुणात्मकभन्दा सङ्ख्यात्मक बढी भएको भनिन्छ, के त्यस्तै हो ?
डा.अम्बिका : यो कुरा अगि पनि आइसक्यो । गुणात्मकभन्दा सङ्ख्यात्मक रूपमा साहित्यको भेलबाढी आएको छ । तर यसमा निराश हुनुपर्ने देखिन्न । नेपाली साहित्यप्रतिको चासो र चिन्तन बढ्नु त फाइदाकै कुरा हो नि !
विद्यार्थी : एउटा असल र स्थापित साहित्यकार बन्न प्रतिभा कि निरन्तरको अभ्यास ?
डा.अम्बिका : प्रतिभाविना साहित्यकार त बनिएला तर राम्रो साहित्यकार बन्न प्रतिभा र साधना दुवै चाहिन्छ ।
विद्यार्थी : साहित्यको अध्ययन तथा लेखनले हाम्रो शैक्षिक अध्ययन, अध्यापनमा के कस्तो सहयोग पुर्याउँछ त ?
डा.अम्बिका : साहित्यको अध्ययन तथा लेखन शैक्षिक पाटो नै हो । यसलाई पृथक् मान्नुहुँदैन । साहित्यले पढाइप्रतिको रुचि बढाउँछ । सिर्जनशील क्षमताको विकास गर्छ । जीवन, व्यवहारका कुरा सिकाउँछ । अझ मानसिक स्वास्थ्य तथा स्मरण शक्ति र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्छ । तसर्थ चाहे साहित्यको पठन होस् वा लेखन, यी दुवैले अध्ययन अध्यापनका सहयोगी भूमिका खेल्छन् ।
विद्यार्थी : साहित्यले एउटा व्यक्तिको जीवनमा खास के कुरा दिन्छ ?
डा.अम्बिका : साहित्यले व्यक्तिलाई प्रत्यक्ष देखिने चिज देला नदेला । तर जीवित हुँदा आत्मसन्तुष्टि जरुर दिन्छ । पारिजात, विपी जस्तै राम्रा सर्जकलाई मरेपछि भने अमरत्व दिन्छ ।
विद्यार्थी : आज हाम्रो समाजले खोजेको साहित्यचाहिँ कस्तो हो त ?
डा.अम्बिका : समाज परिवर्तनशील छ । समयसँगै मान्छेका सोच, आवश्यकता र आकाङ्क्क्षा बदलिन्छन् । तसर्थ सामाजिक सञ्जालको अधिक प्रयोग, प्रविधिको निर्भरतादेखि कृत्रिम मानव, यन्त्र, कृत्रिम बौद्धिकता (एआई) ले मानवीय संवेदना खाइदिने र मान्छेलाई नै विस्थापित गरिदिने भय तथा चुनौतीप्रति सजगता थप्ने लेखन र प्रकृतिको विनाशले निम्त्याउन सक्ने विनाशको सावधानीका लेखन आजको आवश्यकता बनेको छ । यसबाहेक पनि विज्ञान, प्रविधि, भौतिकता, पहिचान आदि थुप्रै विषयमा ध्यान दिएर लेखिनु जरुरी छ ।
विद्यार्थी : सामाजिक सञ्जाल र डिजिटल मिडियाको कारण ससाना बालबालिका र विद्यार्थीहरूको घट्दै गएको किताब पढ्ने बानीमा कसरी सुधार ल्याउन सकिन्छ जस्तो लाग्छ यहाँलाई ?
डा.अम्बिका : सामाजिक सञ्जाल र डिजिटल मिडियामा साहित्यलाई कसरी सहज पहुँचयुक्त बनाउन सकिन्छ भन्ने विषयमा राष्ट्रिय स्तरबाटै व्यापक बहस हुनु जरुरी छ । यस्तै विद्यालय तहमा पुस्तक कर्नर राखेर बालबालिकामा पठन संस्कृतिको विकास गरिनु उत्तिकै जरुरी छ ।
विद्यार्थी : अन्त्यमा, हजुरलाई भन्न मन लागेका कुनै कुरा छन्, जुन हामीले हजुरलाई सोध्न सकेनौँ भनौ भ्याएनौँ ?
डा.अम्बिका : खासमा नयाँ पुस्तालाई सिर्जनामा अभिप्रेरित गर्न एउटा अग्रज साहित्यकारका हिसाबले हजुरको राय तथा योजना के छ भनेर सोध्नुहुन्थ्यो कि जस्तो लागेको थियो । यश विषयमा हामी अब अनौपचारिक रूपमै कुरा गरौँला । यहाँहरूले आफ्नो कक्षा चलिरहेको केलामा पनि सर्जकसँग भलाकुसारीमा जोडिएर यति धेरै जिज्ञासा राखिदिनुभयो । सिर्जना र पठन संस्कृतिका बारेमा आफ्ना धारणा राख्ने मौका दिनुभयो । यहाँहरूलाई धेरै धेरै धन्यवाद ।
प्रतिक्रिया दिनुहोस्: