विद्वत्रत्न प्रा.डा. गार्गी शर्मासँगका जीवन विशेष कुराकानी
पुरातन समयदेखि नै देवभूमि तथा तपोभूमिको रूपमा चिरपरिचित पावन धरा नेपालमा समयसमयमा विशिष्ट व्यक्तिहरूले जन्म लिएका छन् र आफ्नो अद्वितीय योगदानद्वारा यसलाई धन्य बनाएका छन् । त्यस्ता व्यक्तिहरूमध्ये गार्गी शर्मा पनि एक हुनुहुन्छ । वि.सं. २००५ साल फागुन २३ गते धर्म संस्कृतिको धरोहर मानिने प्रसिद्ध ऐतिहासिक सहर इन्द्रचोक काठमाडौँमा उहाँको जन्म भएको थियो । स्वर्गका राजा इन्द्रको नामबाट नामकरण गरिएको धार्मिक नगरी इन्द्रचोकमा जन्म लिन पाउनुलाई उहाँ आफ्नो अहोभाग्य ठान्नुहुन्छ । पिता नारदप्रसाद शर्मा र माता गोमा उपाध्यायका सुपुत्रीको रूपमा उहाँले यस धर्तीमा अवतरण गर्नुभएको थियो ।
प्रजातान्त्रिक आन्दोलनको लागि देशमा क्रान्तिको आगो दन्किरहेका समयमा नेपाली जनता शिक्षादीक्षाको प्यासले काकाकुल हुनुपरेको भए तापनि उहाँकी आमा गोमा उपाध्याय पढेलेखेकी शिक्षित महिला हुनुहुन्थ्यो । तिनै शिक्षित र गुणवती आमाको ममतामयी मातृवात्सल्य प्रेमको सागरमा डुबुल्की मार्दै उहाँको बाल्यकाल अगाडि बढेको थियो । उहाँका पिता बहुविवाह गरेर छुट्टै बस्नुभएकाले उहाँले बाल्यकालदेखि नै पिताबाट पाउनुपर्ने मायाको स्वाद चाख्न पाउनुभएन । पिताको साथ सहयोगबाट बञ्चित हुनुपरे तापनि जागिरे आमाको लालनपालनमा उहाँले कहिल्यै अभावको महसुस गर्नुपरेन । जसरी भगवान् कृष्णका जन्म दिने देवकी आमा र कर्म दिने यशोदा आमा थिए त्यसरी नै उहाँले पनि बाल्यकालदेखि नै जन्म दिने आमा गोमा उपाध्याय र कर्म दिने आमा पवित्रा आमाको अथाह माया पाउनुभयो । दुई जना आमाकै संस्कारयुक्त छत्रछायामा रहेर उहाँले आफ्नो बाल्यावस्था सुखपूर्वक नै व्यतीत गर्नुभयो ।
गार्गी शर्मा आमालाई आफ्नो जीवनको सबैभन्दा खास अर्थ राख्ने मान्छेको रूपमा चिनाउन चाहनुहुन्छ । नेपाली साहित्यमा समेत कलम चलाउनुभएको र सरकारी सेवामा आवद्ध उहाँकी आमाले उहाँलाई ‘शिक्षा नै जीवन सफल बनाउने साँचो हो’ भन्ने कुराले प्रभावित बनाउनुभएको थियो । त्यसैले गार्गी शर्माले शिक्षालाई आफ्नो जीवनको अभीष्ट लक्ष्य मान्नुभयो । उहाँले पढाइलाई बोझको रूपमा नभई मोजको रूपमा लिनुभयो । उहाँले आफ्नो स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेर मात्रै विवाहिक जीवनको यात्रा तय गर्नुभएको थियो । उहाँको लगनगाँठो भगीरथ काफ्लेसँग गाँसिएको थियो । सरकारी सेवामा संलग्न पतिको साथ, सहयोग र हौसलाबाट उहाँले विवाहपश्चात् नेपाली साहित्यमा विद्यावारिधि गर्ने आफ्नो इच्छालाई मूर्तरूप दिनसक्नुभएको थियो । आफ्ना पिताजीको मायाको आभास गर्न नपाएकी उहाँले जीवनसाथीसँग भने सधैँ अविस्मरणीय साथ, सहयोग र माया पाइरहनुभयो । उहाँका दुई छोरीहरूमध्ये जेठी छोरी गोपा काफ्ले दन्त चिकित्सक हुनुहुन्छ भने कान्छी छोरी ग्रीष्मा काफ्ले अस्ट्रेलियामा विशिष्ट श्रेणीको कर्मचारीको रूपमा काम गर्दै हुनुहुन्छ ।
पाटन क्याम्पस र विश्वभाषा क्याम्पसमा लामो समयसम्म प्राध्यापन कार्यमा संलग्न उहाँ नेपाली साहित्यमा विद्यावारिधि गर्ने दोस्रो महिला हुनुहुन्छ । त्यसैगरी नेपाली विषयको प्राध्यापक बन्ने पहिलो महिला हुनुहुन्छ । उहाँले २०१७ सालमा एसएलसी दिँदा उहाँकी आमाले पनि उहाँसँगै एसएलसी दिनुभएको थियो । जुन कुराले पढाइलाई उमेरले छेक्दैन भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको थियो । सानैदेखि साहित्य सिर्जनामा आमाको गहिरो छाप परेकाले उहाँलाई साहित्य सिर्जनामा विशेष रुचि लाग्छ । कलम चलाइरहँदा आफ्नी स्वर्गवासी आमा आफैँसँग भएजस्तो सुखानुभूति हुने कुरा आफ्नो साहित्यिक भलाकुसारीका सन्दर्भमा बताइरहँदा उहाँको अनुहारमा एकाएक जून उदाएको आभास हुन्छ ।
जन्म र कर्म दिने दुवै आमाले उहाँलाई बाल्यकालमा कहिल्यै कुनै प्रकारको अभाव खट्किन दिनुभएन । उहाँहरू दुवैका लागि गार्गी शर्मा पिठोमाथिको रातीगेडी हुनुहुन्थ्यो । उहाँ दुवै आमाको लाडप्यारमा हुर्कनुभयो । सुसंस्कारमा हुर्कनुभएकीले उहाँ बच्चा उमेरदेखि नै शान्त, सुशील, मृदुभाषी र मिलनसार हुनुहुन्थ्यो । पढाइमा पनि अब्बल हुनुभएकीले उहाँ साथीभाइ र गुरुगुरुआमाको माझमा प्रिय हुनुहुन्थ्यो । उहाँले आमाहरूले आफ्नो लागि गर्नुभएको मिहिनेत र त्यागलाई राम्रोसँग बुझ्नुभएको थियो । त्यसैले युवाअवस्थामा पनि उहाँलाई उत्ताउलोपनले कहिल्यै विचलित बनाएन । आमाको कडा अनुशासनमा रमाउन सिक्नुभएको उहाँले कहिल्यै गलत बाटोलाई रोज्नुभएन र गलत सङ्गतमा पनि फस्नुभएन । युवाअवस्थामा प्रायः मानिसमा देखापर्ने चञ्चलेपन उहाँमा कहिल्यै देखिएन । उहाँ युवाअवस्थामा सादा जीवनको भोगाइमै केन्द्रित हुनुभयो । ‘अरूले घोडा चढे भनेर आफूले धुरी चढ्ने’ भावको छायासमेत उहाँले आफूमा पर्न दिनुभएन । उहाँको ध्यान पढाइकै लागि मात्रै खिचियो । उहाँले एमए नगरीकन कुनै पनि पेसामा हात हाल्नुभएन । एमए सकिएपछि भने क्षेत्रपाटीको कन्या मन्दिर हाई स्कुलमा अङ्ग्रेजी शिक्षकको रूपमा पढाउन थाल्नुभयो । त्यतिबेला भने उहाँ दिउँसो एघार बजेदेखि पाँच बजेसम्म स्कुल र छ बजेदेखि आठ बजेसम्म ट्युसन पढाउनुहुन्थ्यो ।
‘ईख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन’ भनेर राम्रोसँग बुझ्नुभएकीले उहाँले आफूप्रति आमाको मनमा भएको भरोसालाई कहिल्यै पनि टुट्न दिनुभएन । उमेरमै पतिको साथबाट पर बस्नुपरेको उहाँकी आमालाई उहाँले सधैँ सुख दिने कुरामा दिलोज्यानले भएसम्म प्रयास गर्नुभयो । यसकारण व्ययस्क उमेरमा उहाँको ध्यान मोजमस्तीमा भन्दा पनि आमाहरूप्रतिको जिम्मेवारी र छोरीहरूको लालनपालनमा खिचिएको पाइन्छ ।
हुने विरुवाको चिल्लो पात भनेझैँ गार्गी शर्मा बाल्यकालदेखि नै साहित्यिक सिर्जनामा रमाउनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित हुने ‘फूलपाती’ पत्रिकामा ‘धनका गरिब कल्पनाका धनी महाकवि देवकोटा’ नामक समीक्षा प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएको थियो । त्यसपछि आफूमा रहेको लेखनकलालाई जागृत गराउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नुहुने आमाको महिमा गाएर उहाँले रत्नश्री पत्रिकामा ‘आमा’ नामक कविता प्रकाशित गर्नुभयो । त्यसपछि भने उहाँको साहित्यिक यात्रा अनवरत रूपमा अगाडि बढेको पाइन्छ । गोमा आमाबाट मैले धर्तीमा जन्म पाएँ भने ‘आमा’ नामक सिर्जनाले मलाई साहित्यमा जन्मायो भनेर उहाँ गर्वका साथ सबैलाई सुनाउनुहुन्छ । उहाँको पहिलो पुस्तकाकार कृति भने २०३५ सालमा प्रकाशित भएको ‘केही समीक्षा’ नामक पुस्तक हो । बहुमुखी प्रतिभाकी धनी उहाँ साहित्यका सबै विधामा कलम चलाउन खप्पिस हुनुहुन्छ । उहाँ सबै विधालाई उत्तिकै प्राथमिकता दिनुहुन्छ तर समीक्षा र संस्मरण लेखनमा भने उहाँको विशेष अभिरुचि छ । उहाँलाई बेलुकीको समयमा एकान्तमा बसेर लेखरचना सिर्जना गर्दा विशेष आनन्द आउँछ । उहाँ अध्ययन, यात्रा, दैनिक व्यवहार, भोगाइ जस्ता कुराले लेखनलाई ओजिलो बनाउने कुरामा विश्वास राख्नुहुन्छ । साहित्यलाई दुःख सुखको भारी बिसाउने चौतारीको रूपमा लिनुहुने शर्माले जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिमा पनि आफ्नो कलमलाई सुस्ताउन दिनुभएन । बरू उहाँ शोकलाई शक्तिमा बदल्दै आफ्ना लेखरचना सिर्जना गर्नुहुन्छ । जीवनले करिब चार बीस हिउँद छुनै लाग्दा पनि उहाँको साहित्यिक यात्रा ओइलाउनुको सट्टा झनै झर्झराउँदो भएर अगाडि बढिरहेको छ । हाल उहाँ लघुकथा, बालकथा र महाकाव्य लेखनमा दिनचर्या चलाइरहनुभएको छ । उहाँसँगको कुराकानीको सन्दर्भमा साहित्य किन लेख्नुपर्छ भनेर जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ, ‘समाजमा सकारात्मक परिवर्तन ल्याउन, मानसिक संवद्र्धन गर्न, दूषित मनस्थितिलाई सुन्दर बनाउन, शोकलाई शक्तिमा परिणत गर्न साहित्यले रामवाणको काम गर्ने हुनाले साहित्य लेख्नुपर्छ ।”
साहित्यले समाज र व्यक्तिलाई सुकोमल बनाउने सेतुको रूपमा काम गर्छ भन्ने विचारकी धनी गार्गी शर्मा कर्म दिने पवित्रा आमाको बारेमा शोककाव्य लेख्ने योजनामा अहिले कम्मर कसेर लाग्नुभएको छ । साहित्य सिर्जनाको साथै उहाँ घरव्यवहारका सबै काममा पारङ्गत हुनुहुन्छ तर उहाँलाई घरायसी कार्यभन्दा साहित्य सिर्जनामा जाँगर चल्छ ।
उहाँलाई दाल, भात, तरकारी विशेष रूपमा मनपर्ने भोजन हुन् । सारी र कुर्तामा सजिन रुचाउने शर्मालाई जीवनमा मनले चाहेजस्तो खान, लाउन नपाएको अहिलेसम्म थाहा नभएको कुरा उहाँ बताउनुहुन्छ । उहाँलाई सरस्वती माताको जसरी नै लक्ष्मी माताको कृपादृष्टि पनि मिलिरह्यो । उहाँ प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानमा घुम्न मन पराउनुहुन्छ भने साहित्यिक जमघटमा सामेल हुन रुचाउनुहुन्छ । शालीन, शिष्ट, उदार हृदयकी धनी उहाँलाई पछाडि कुरा नकाट्ने र द्वेध चरित्र नदेखाउने साथीहरू मन पर्छन् ।
जीवनलाई अमूल्य सपना मान्ने गार्गी शर्मालाई जीवनप्रति सबैभन्दा सन्तुष्टि लागेको विषय भनेको साहित्यमा प्रवेश गर्नु हो । उहाँ यो जगत्लाई सङ्घर्षको खेल मैदान र उद्देश्य पूरा गर्ने माध्यम मान्नुहुन्छ । जन्मलाई एउटा अदृश्य शक्ति मान्नुहुने उहाँलाई मृत्यु दुःखको अवसान जस्तो लाग्छ । उहाँ जीवनमा उत्साहवद्र्धक लक्ष्य राख्नुपर्ने कुरामा विश्वास राख्नुहुन्छ । उहाँ प्रेमलाई मानसिक स्वाभावको रूपमा लिनुहुन्छ । सबैसँग मिलिजुली भावनात्मक साइनो गाँस्ने कुरामा उहाँ विशेष जोड दिनुहुन्छ । उहाँ दुःखलाई सुखको परिभाषा गर्ने माध्यमको रूपमा हेर्नुहुन्छ । उहाँ आफूलाई जितेर दुःखबाट मुक्ति पाइने कुरामा जोड दिनुहुन्छ । उहाँ सुखलाई भने जीवनलाई भुलाउने बाटोको रूपमा परिभाषित गर्नुहुन्छ । आफ्नो काम कर्तव्य पूरा गरे मात्रै सुख पाइने कुरालाई उहाँ सदैव व्यवहारमा उतार्नुहुन्छ । उहाँ हाँसोलाई चाहिँ समयअनुसार अर्थ्याउनुहुन्छ । कुनै हाँसो व्यङ्ग्यका, कुनै हाँसो ईर्ष्याको, कुनै हाँसो सफलताको, कुनै हाँसो प्रेमको, कुनै हाँसो दुःख लुकाउने माध्यमको हुने कुरामा उहाँको बुझाइ छ । उहाँ आफू भने सबैको कल्याण भएको समयमा विशेष रूपमा हाँस्न रुचाउनुहुन्छ ।
गार्गी शर्मा खुसीलाई सफलता प्राप्तिपछिको मनको सन्तोषको रूपमा लिनुहुन्छ । आफ्नो अभिलाषा पूरा भएपछि सबैलाई खुसी प्राप्त हुने धारणा उहाँमा पाइन्छ । उहाँ रुवाइलाई मानसिक औषधिको रूपमा लिनुहुन्छ । जीवनमा खासै त्यति रुनु नपरेको भए तापनि आमा गोमा उपाध्याय र कर्म दिने पवित्रा आमा बित्दा भने ‘मानसिक रूपमा धेरै दुःखी भएर रोएको थिएँ’ भन्नुहुन्छ । उहाँ काम सिद्ध हुँदाको आस्था वा भरोसालाई विश्वास हो भनेर अर्थ्याउनुहुन्छ भने परेको बेलामा बोलीले नभई व्यवहारले साथ दिनेलाई उहाँ विशेष भरोसा गर्नुहुन्छ । उहाँ असफल भइन्छ कि भन्ने आशङ्कालाई डरको रूपमा लिनुहुन्छ र असफलतादेखि डर लाग्ने कुरामा भने स्वीकारोक्ति जनाउनुहुन्छ । समयलाई संसारको सबैभन्दा बलवान् शक्तिको रूपमा बुझ्ने उहाँलाई समयको अगाडि सम्पत्ति बाँचुन्जेलको सहारा जस्तो मात्रै लाग्छ । मर्दाखेरि कसैले पनि सँगै लिएर जान नसक्ने भएकाले सम्पत्ति जीवनका अभाव र खाँचो टार्न पुग्ने जति मात्रै भए पनि त्यो काफी हुन्छ भन्ने विचार उहाँमा पाइन्छ ।
गार्गी शर्मा आत्मविश्वासलाई आफ्नो सबैभन्दा बलियो पक्ष मान्नुहुन्छ र सबैलाई विश्वास गरिहाल्नुलाई चाहिँ आफ्नो कमजोरी ठान्नुहुन्छ । हुन त उहाँ जस्तो साहित्य साधक यो संसारमा विरलै होलान् तर उहाँ समयअनुसार अझै कतिपय काम गर्न नसकेको भन्दै जीवनमा गुनासो पोख्नुहुन्छ । उहाँ नारी विद्वत रत्नको रूपमा आफ्नो चिनारी बनिसक्दा पनि उहाँमा घमण्डको छायासमेत परेको छैन । उहाँ आफूलाई सामान्य मानिसको रूपमा चिनाउनुहुन्छ । हालसम्मको यात्रा असल, सफल, इज्जत र इमानको मार्गमा उन्मुख भएझैँ भविष्यमा पनि यही मार्ग पक्रेर अगाडि बढोस् भन्ने उहाँको चाहना छ ।
गार्गी शर्मा गीतलाई पनि साहित्यको पाटाको रूपमा लिनुहुन्छ । गीत सङ्गीतमा विशेष रुचि भए तापनि आफूलाई भने गीत गाउन नआउने कुरा उहाँ बताउनुहुन्छ । सङ्गीतलाई वाद्यवादनले भरिएको गीतको प्रस्तुति भनेर उहाँ परिभाषित गर्नुहुन्छ । बाजाको धुन मन पर्ने तर बजाउन नआउने उहाँलाई नृत्य गर्न पनि खासै नआउने कुरा बताउनुहुन्छ । शर्मा नृत्यलाई साहित्यको दृश्य भेदको रूपमा लिनुहुन्छ । गीत, सङ्गीत सुन्न र नृत्य हेर्न मन पर्ने भए तापनि बाल्यकालमा उहाँकी आमाले पढाइमा मात्रै उहाँलाई विशेष केन्द्रित गर्नुभएकाले उहाँको रुचि त्यतातिर नमोडिएको कुरा बताउनुहुन्छ । डा.शर्मामा खेलकुदप्रति भने केही दिलचस्पी देखिन्छ । उहाँलाई जीवनका लागि खेलकुद आवश्यक छ जस्तो लाग्छ र उहाँ स्वयम् पनि राजा महेन्द्रको राज्याभिषेकमा पी.टी. मा संलग्न हुनुभएको थियो । उहाँ इन्द्रचोकमा हुर्कनुभएकीले उहाँलाई जात्रामात्रा, मेलापात हेर्न रमाइलो लाग्छ । उहाँ फुर्सद मिलेसम्म त्यस्ता कुरामा सहभागिता जनाउनुहुन्छ । डा.गार्गीलाई हाम्रो रीतिरिवाज, चालचलन, धर्मसंस्कृतिलाई जीवन्त राख्नको लागि जात्रामात्रा र मेलापर्व आवश्यक छ, भन्ने लाग्छ । उहाँ धर्मलाई भगवान्प्रतिको आस्था, बाँच्न सिकाउने माध्यम र आध्यात्मिक भावनाको रूपमा हेर्नुहुन्छ । उहाँलाई पूजापाठ र व्रत परम्परा धान्न, मनको शान्ति र शारीरिक स्वस्थताको लागि गर्नुपर्छ जस्तो लाग्छ ।
गार्गी शर्मालाई समाजमा भएका मेलमिलाप, सरसहयोग, सरसापट जस्ता कुरामा विशेष खुसी लाग्छ भने अहिलेको अस्तव्यस्त जीवनशैली, बढ्दो व्यस्तता, स्वार्थले पराकाष्ठा नाघ्दै गएको परिवेशमा जिउँदोको ‘जन्ती र मर्दाको मलामी’ भन्ने कुरा नै एकादेशको कथा जस्तो बन्ने हुन् कि भन्ने कुराप्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । देश रहे मात्रै हाम्रो अस्तित्व रहने कुरामा शर्मा विश्वास राख्नुहुन्छ । अहिलेको राजनीतिमा मिसिदै गएको भ्रष्टाचारको रङले कतै देशको भविष्यलाई धरापमा पो पार्ने हो कि भन्ने आशङ्काले उहाँलाई सधैँ पिरोलिरहन्छ ।
आफ्नी आमाले आफूप्रति गर्नुभएको त्यागको गार्गी शर्माले सधैँ उच्च मूल्याङ्कन गरिरहनुभयो । त्यही भएर उहाँले आमालाई कहिल्यै एक्लो भएको महसुस गराउनुभएन । उहाँले आमाको इच्छा विपरीतको कदम पनि कहिल्यै चाल्नुभएन । यही कुरालाई उहाँ आफूले जीवनमा गरेको सबैभन्दा राम्रो कामको रूपमा लिनुहुन्छ । उहाँले जति आफ्नो पारिवारिक जीवनलाई महत्त्व दिनुभयो त्योभन्दा बढी समाजलाई पनि महत्त्वमा राख्नुभएको छ । आफूलाई समाजको अभिन्न अङ्गको रूपमा चिनाउनुहुने डा.शर्माले आफ्ना अनमोल साहित्यिक निधिमार्फत समाजलाई अतुलनीय योगदान दिनुभएको छ । उहाँ आफूले पनि समाजबाट धेरै कुरा पाएको बताउनुहुन्छ । जीवनको आरोहअवरोहको क्रममा उहाँको जीवनले अझै पनि केही काम गर्न बाँकी रहेकाले अनमोल समय गुमाएको अनुभूति उहाँलाई हुन्छ । यही दौरानको क्रममा उहाँलाई आजसम्म जीवनले नाम र धेरै साहित्यिक साथीहरू कमाएकोमा भने सन्तुष्टि पनि छ ।
नेपालको दोस्रो महिला महाकाव्यकारको रूपमा चिनिनुहुने गार्गी शर्माले हालसम्म २४ वटा कृतिहरू रचना गरिसक्नुभएको छ । उहाँका कृतिहरू सङ्ख्यात्मक र गुणात्मक दुबै तवरले उत्कृष्ट छन् । भ्रष्टाचारविहीन समाज निर्माण हुनुपर्छ र सबैमा मानवीय भावना हुनुपर्छ भन्ने मूल मन्त्रका साथ उहाँ आजसम्म पनि नेपाली साहित्यमा धेरैका प्रेरक व्यक्तित्व भएर लागिरहनुभएको छ । हाल नयाँ बजार म्हेपीलाई आफ्नो कर्मथलो बनाएर जीवनरथलाई हाँकिरहनुभएको शर्मा शिक्षा र साहित्य दुवै क्षेत्रमा बलियो स्तम्भ भएर उभिनुभएको छ । उहाँको साहित्यिक यात्रा नदी जसरी नै बगिरहोस् । आफ्नो नामको अर्थलाई सार्थक बनाउँदै आज उहाँ जुन बाटो हिँडिरहनुभएको छ त्यो बाटामा हिँडिएको यात्राले अझै सफलताको अध्याय थप्दै जाओस् । हार्दिक शुभकामना !
प्रस्तुति
गंगा खड्का ( शिक्षिका )
शुभन भण्डारी ( विद्यार्थी )
एलिना बमजन (विद्यार्थी )
दिक्षेन तितुङ ( विद्यार्थी )
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौँ ।
प्रतिक्रिया दिनुहोस्: