अविरल जनसाहित्यमा आचार्यका एक दर्जन कविता

४ भाद्र २०८२

काठमाडौं, साउन १० गते शनिबार । ‘अविरल जनसाहित्य यात्रा’को १०१ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा पारसनाथ आचार्यका एक दर्जन कविता सुनिए ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने कोषाध्यक्ष गीता सापकोटाले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव आर.सी.न्यौपाने, निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र वरिष्ठ कवि जगन्नाथ आचार्य विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी दुलाल क्षेत्री, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, खेमराज निरौला, चन्द्रप्रसाद न्यौपाने, रक्तिम लामा, शशीनाथ आचार्य, साधुराम नेपाल, रत्न उप्रेती, प्रलेस काभ्रेका अध्यक्ष विदुर आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०४२ माघ ६ गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती ५ धुसेनीमा पिता जगन्नाथ आचार्य र माता सुन्तली आचार्यका सुपुत्रका रूपमा जन्मिएका पारसनाथ आचार्यका ‘प्रतीक्षाका पाइलाहरू’ कवितासङ्ग्रह, ‘संवादात्मक छन्दयात्रा’ संयुक्त कवितासङ्ग्रह र ‘प्रवासको पीडा’ खण्डकाव्य प्रकाशित छन्, भन्नुभयो।

समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०१ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा पारसनाथ आचार्यलाई प्रस्तुत गरिएको बताउनुभयो ।

कविनायक पारसनाथ आचार्यले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै एउटा ‘गजल’ ‘अहम् भुलेर एक भई’, ‘धमिरा छिरायौ’, र ‘विवशता’ शीर्षकका चारओटा शास्त्रीय छन्दका सुन्दर वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू दीनेश पाण्डेले शार्दूलविक्रीडित छन्दका ‘धोक्रो छ मेरै अझ काँधमाथि’ र खोज्ने गरौँ शासक’ शीर्षकका, शशीनाथ आचार्यले ‘ए सर्वहारा !’, शारदा पराजुलीले ‘उस्तै छ मेरो देश’, दिल कार्कीले ‘उही लुट्छ भोकाहरूकै’’, जमुना आचार्य कोइरालाले ‘युवाआह्‌वान’, राजन आचार्यले ‘किसान’ र राधिका भण्डारी सापकोटाले ‘आभा छरौँ शान्तिको’ शीर्षकका त्यस्तै सुन्दर, सरल, शालीन र सशक्त शास्त्रीय छन्दका वैचारिक कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णप्रसाद न्यौपानेले कविका कविताले उज्यालो भविष्यको सङ्केत गरेका छन् । आज वाचित कविता सरल, सम्प्रेष्य भएकाले व्याखया गरिरहनु पनि आवश्यक छैन । हामीले पाठ्यक्रम परिमार्जन गर्दा स्रष्टाका कृति आवश्यक पर्ने हुँदा फुटकर रूपमा रहेका कवितालाई कृतिको आकार दिन पनि म सल्लाह दिन्छु । वाचनकलाले विशेष आकर्षण पैदा गर्ने अनुभूति केही कविले वाचन गरेका कविताबाट पनि हामीले गरि नै हाल्यौँ । कवितामा रचनाकाल उल्लेख नभएकाले स्रष्टा परिमार्जित हुँदै गएको वा नभएको भन्ने खुट्याउन सकिने अवस्था रहेन । कतिपय कविता राजनीतिक दर्पणजस्ता पनि लाग्छन् । साहित्य नाराभन्दा पनि कलामूल्यले युक्त हुनुपर्ने पक्षलाई विचार गरी स्रष्टामा रहेको नवरसको प्रयोग गरी कवितालाई विविधतायुक्त बनाउनु आवश्यक देखिएको छ, भन्ने धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, सामाजिक रूपान्तरण अभियानमा सक्रिय सिन्धुपाल्चोकका स्रष्टा पारसनाथ आचार्यलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्राम्य विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझै र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने प्रखर शिल्पी पारसनाथ आचार्यका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ भन्नुहुँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: