हे मित्र ! मानवजुनी अति मूल्यवान् छ
हल्ला गरेर कि घुरेरसमेत जान्छ
फर्की स्वयंतिर सचेत बनी नमाती
होऔँ सदा असल कर्म गरेर जाती ॥
सम्पत्तिको र पदको मद हो खराब
मस्तिष्कमा फगत भर्दछ तुच्छ भाव
हामी त्यतातिर कसै पनि जम्नुहुन्न
बेकार छट्टु गफमा पनि रम्नुहुन्न ॥
साहित्य नै अमृत हो जुन नासिँदैन
यो वर्तमान छ सदा जुन बिर्सिँदैन
लेखौँ सुरम्य रचना पद छानिछानी
यो जीवनी सफल हुन्छ भनेर जानी ॥
अभ्याससाथ प्रतिभा अझ चम्चमाओस्
व्युत्पत्तिबाट रचना क्रम सग्बगाओस्
ल्याई प्रतीक अनि विम्ब निसर्गदेखि
पारौँ मसी सफल सुन्दर काव्य लेखी ॥
अश्लीलभावतिर जान हुँदै हुँदैन
दुर्भावले हृदय तन्तु छुँदै छुँदैन
झल्काउँदै हृदयको चिर सौमनस्य
पोखेर सार्थक हुनेछ मसी अवश्य ॥
जे वाद होस् मनुजको हितमा रहोस् त्यो
आनन्दसाथ रसको पथमा बहोस् त्यो
लेखाइ सत्य शिव सुन्दरले सजाऔँ
शब्दैपिछे परमको अनुनाद पाऔँ ॥
पन्छाउँदै विकृतिपूर्ण र तुच्छ बोली
राखौँ भनाइ सुखदायक भाव घोली
आफ्नो मसी सदुपयोग गरेर पाना
त्यो लेखिएर अनमोल बनोस् खजाना ॥
छन्द : वसन्ततिलका ।
बूढानीलकण्ठ–४, कैलासकुञ्ज
काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: