‘बाबा, बाबा, हामी घर कहिले पुग्छौँ ?’
‘पर्सि, पर्सि साँझसम्म पुग्छौँ, छोरी ।’ सानी छोरीलाई रमणको जवाफ हो यो ।
दुर्गाले बाबाको अनुहारमा पुलुक्क हेरी । ‘अनि बाबा, हामी आज के के गर्छौँ ?’ दुर्गाको कलिलो मनबाट अर्को प्रश्न आयो ।
रमणले जवाफमा भने ‘आज विजयादशमी, टीका । दशैँको मुख्य दिन । अब हामी त्यो ताल्चा विमानस्थलको तल्लोपट्टि रहेको घरमा जान्छौँ । टीका जमरा लगाएको हेर्छौँ । मौका मिले हामी पनि लगाउँछौँ, आशीर्वाद लिन्छौँ ।’
‘दिउँसो पिङ खेल्ने है बाबा ?’ छोरीको कुराले रमण मुसुक्क हाँसे । दुर्गाकी आमा सीता पनि नजिकै बसेर बाबा छोरीबिचको कुरा सुनिरहिन् ।
बिहानको नौ बज्यो । उनीहरू ताल्चा विमानस्थल नजिकैको डाँफे होटेलबाट निस्के । बाटोमा एकजना बूढीआमासँग भेट भयो । बूढीआमाले चिनेको जस्तै गरी सोधिन् ‘चिलगाडीमा तल जान्या हो ?’
रमणले भने ‘हो आमा, तर आज होइन भोलि ।’
‘ल राम्रासित जाऊ’ भनेर बूढीआमा आफ्नो बाटो लागिन् ।
बूढीआमाको कुरा सुनेर दुर्गा छक्क परिन् । उनको मनले आफैँलाई सोध्यो ‘चिलगाडी ? कस्तो गाडी हो यो ?’ यो कुरा बाबाबाट थाहा पाउँछु भन्नेमा दुर्गा ढुक्क थिइन् ।
सबैका पाइलाहरू तल ओर्लिँदै थिए । दुर्गाले कुरा उठाइहाली ‘चिलगाडी कस्तो हुन्छ बाबा ? त्यो चिल जसरी उड्छ, हो ?’
रमणले हाँस्दै भने ‘हो, त्यो उड्छ, मान्छे बोक्छ, सामान पनि बोक्छ । अब तिमी नै भन न त छोरी, त्यो कस्तो हुन्छ ?’
दुर्गाले दिमाग लगाइन्, वरिपरि आँखा घुमाइन् दाहिने काननेर औँलो राख्दै भनिन् ‘म पछि भन्छु है बाबा ?’
उनीहरू विमानस्थलमा पुगे । त्यहाँ बीस–बाइसजना मानिस बसिररहेका थिए । अर्को एउटा कुनामा एकजना छोरीमान्छे सातआठ वर्षको बालकलाई काखमा लिएर बसिरहेकी थिइन् । एकजना अधबैँसे छोरोमान्छेसँगै बसिरहेका थिए । दुर्गाले बाबा र आमाको हात समातिन् । तिनीहरू बसिरहेको ठाउँतिर डोर्याइन् । दुर्गालाई लाग्यो ‘त्यो भाइ पक्कै बिरामी हुनुपर्छ ।’
दुर्गा बाबालाई कर गर्न लागिन् ‘बाबा, त्यो भाइलाई के भएको रहेछ, सोध्नु न ।’ रमणले सोधखोज गरे । दुर्गाको अनुमान मिल्यो ।
एक्कासी ह्वाँआँआँ गर्दै हवाइजहाज आयो । धावनमार्गमा सरर्र दौड्यो । दुर्गा चिच्याइन् ‘हो यही हुनुपर्छ चिलगाडी ।’
‘हो, छोरी यही हो चिलगाडी । पुराना मानिसहरू अहिले पनि हवाइजहाजलाई चिलगाडी भन्छन् । कोही कोही त चरागाडी पनि भन्छन् ।’
हवाइजहाजबाट यात्रुहरू भटाभट निस्किए । सबैले आफ्ना–आफ्ना सामान लिए, बाटा लागे ।
जहाज चढ्न बसेकाहरू लाइन लागेर भित्र छिरे । जहाजका कर्मचारीले ती तीन जनालाई चढाएनन् । दुर्गालाई पीर पर्यो । जहाज उनीहरूलाई छोडेर उड्यो । रमण र दुर्गाले दुःख माने । रमणले त्यहीँ उभिरहेकी महिला प्रहरीसँग सोधे ‘किन उहाँहरूलाई जान नदिइएको ?’
अनुहार मलिनो पार्दै प्रहरीले भनिन् ‘त्यो बाबुलाई श्वासप्रश्वासको समस्या रहेछ । जहाजमा अक्सिजन कम हुन्छ रे । बिरामीलाई झन् गाह्रो पर्नसक्छ भन्दारहेछन् । तल गमगढीबाट एम्बुलेन्स आउँदै छ । अब त्यसैमा जान्छन् ।’
दुर्गाको मनमा नरमाइलो लागिरह्यो ‘बिरामीलाई गाडीमा लैजाँदा त धेरै ढिलो हुन्छ । त्यो भाइलाई कत्ति गाह्रो भइरहेको होला !’
उनीहरू हिँड्दैहिँड्दै विमानस्थलको डिलमा पुगे । आकाश पूरा खुलेको थियो । अग्ला पहाडहरू नजिकै उभिरहेका थिए । अलि पर सेताम्मे हिमालहरू देखिए । तलतिर ताल्चा गाउँ, रावलबस्ती । फाट्टफुट्ट साना राम्रा एकतले घरहरू । घरवरिपरि सयपत्री, रक्तकाली, मखमली र अरू धेरै थरिका फूलहरू । उनीहरू पनि हाँसिरहेको प्रकृतिसँगै रमाउँदै थिए । एकैछिनमा महेन्द्र रावलको घरमा पुगे । आँगनमा टीका लगाउन तयारी हुँदै थियो । भुइँमा दरी, राडी ओछ्याइएका थिए ।
त्यो तीन पुस्ताको परिवार । नब्बे वर्षको नजिक पुगेका महेन्द्रका बाबाआमा त्यहीँ राडीमा बसेका थिए । महेन्द्र र उनकी श्रीमती टीकाको बन्दोबस्त मिलाउँदै थिए । नयाँ पुस्ताका अन्दाजी बाह्र र दस वर्षका थिए पूजा र प्रकाश । थालीमा रातो अक्षता र पहेँलो जमरा थिए । अर्को थालीमा दक्षिणाको लागि नयाँ नोटहरू मिलाएर राखिएका थिए । बाँसको ढक्कीमा सयपत्री फूलका मालाहरू थिए । उनीहरू टीकाको शुभसाइतको पर्खाइमा थिए ।
अचानक नयाँ पाहुनाहरू आएका देखेर अचम्म माने । महेन्द्रले पाहुनालाई स्वागत गरे । पूजा र प्रकाशले नमस्कार गरे । पूजाले दुर्गाको हात समातेर दरीमा बसाइन् । उनीहरू पनि सँगै बसे । दुर्गा दङ्ग परिन् । सबैजना एकै परिवारजस्तै भएर बसे । एक अर्कामा चिनजान गरे । पूजा र प्रकाश काठमाडौँ एक विद्यालयमा कक्षा पाँच र छ मा पढ्दारहेछन् । उनीहरूको स्कुल पनि दुर्गाको स्कुलबाट नजिकै रहेछ । पूजा र दुर्गा एकैछिनमा मिल्ने साथी बन्न पुगे ।
‘टीकाको साइत भयो’, भन्दै महेन्द्रले शङ्ख फुके । रमणले दुर्गातिर फर्केर भने ‘अब अलिबढी ध्यान दिएर सुन र हेर है नानू !” दुर्गाले मुन्टो हल्लाएर ‘हुन्छ’ भनिन् । पहिला हजुरबाले हजुरआमालाई टीका, जमरा र माला लगाइदिए । त्यसपछि हजुरआमाले पनि आफ्ना श्रीमानलाई टीका, जमरा र माला लगाइन् ।
त्यसपछि महेन्द्रले बाबा र आमाको हातबाट टीका, जमरा, माला लगाए । महेन्द्रले पनि आमा र बाबालाई टीका, जमरा र माला लगाइदिए । दक्षिणा चढाएर ढोग गरे । महेन्द्रकी श्रीमती छायादेवीले पनि त्यसै गरिन् । अब पालो आयो दुर्गाका आमा र बाबाको । उनीहरूले पनि त्यहाँको चलन अनुसार टीका थाप्ने र लगाइदिने काम पूरा गरे । पूजा र प्रकाशले पनि टीका, जमरा, माला, आशीर्वाद र दक्षिणा थापे । उनीहरूले पनि हजुरआमा र हजुरबालाई टीका, जमरा र माला लगाइदिएर दक्षिणा पनि चढाएर, ढोगे । दुर्गाले पनि त्यसै गरिन् ।
दुर्गा र उनका आमा बाबाका लागि त्यो दशैँ छुट्टै स्वादको भयो । दुर्गालाई अचम्म लाग्यो । उनले मनमनै आफैँसित भनिन् ‘म फुच्चीले पनि बुढा हजुरआमा र हजुरबालाई टीका लगाउन पाएँ । यो चलन पो राम्रो लाग्यो मलाई त !’
केही समय टीका थाप्ने र लगाइदिने काम चलिरह्यो । ज्वाइँ, भानिज, आफन्त र गाउँलेहरूले आउने र जाने गरिरहे । टीका थाप्न आउनेहरूले टीका, जमरा, फूल, माला र दक्षिणा ल्याएका थिए । सबैले एउटै चलन देखाए ।
टीका लगाउने काम सकियो । खानाखाने तयारीमा लागे । रमणले खानाखान होटेलमा जाने कुरा गरे । महेन्द्र र पूजाले मानेनन् । सबैजनासँगै बसे, खाना खाए । सुरुमा भात रातो देखेर दुर्गा छक्क परिन् । ‘खाऊँ कि नखाऊँ’ भयो । पुलुक्क बाबालाई हेरिन् । बाबा खुसीले दङ्ग थिए । उनले दुर्गाको मनको कुरा बुझिहाले । उनले सबैजनालाई सुनाए ‘आज मार्सीधानको मिठो भात खाने सौभाग्य पाइयो ।’ पछि त दुर्गाले रातो भात थपीथपी खाइन् ।
‘रातोभात त्यहाँको विशेष खाना हो । मार्सीधानको भातसँग राजमाको दाल र टिमुरको अचार प्रसिद्ध छ ।’
चौँरीको दूध र दही । जे खायो, त्यही मिठो, खाइरहुँजस्तो ! पोसिलो पनि उस्तै ।
खानपिन सकिएपछि दुर्गाले कुनै वस्तु खोजेजस्तो गरिन् । पूजाले चाल पाइन् ‘शौचालय ?’ दुर्गाले मुन्टो हल्लाइन् । ‘अनि के खोजेकी त ?’ दुर्गाले अनुरोध गरिन् ‘पिङ .. पिङ खेल्न जाऊँ न ।’
पूजा मुसुक्क हाँसिन् । ‘हामी त दशैँमा पिङ खेल्दैनम् । पुस, माघमा किसानहरूलाई फुर्सद हुन्छ । स्कुलहरूमा पनि लामो विदा हुन्छ । हामी त्यही बेला पिङ हाल्छौँ र मज्जाले खेल्छौँ । ए साँच्ची ! हाम्रो रारा कस्तो लाग्यो नि ?’
‘ओहो धेरै ठूलो ! कस्तो सफा ताल ! मैले त हेरेकोहेर्यै गरेँ । हाम्रो रानीपोखरी त सानो छ ।’
‘दुर्गा, अब यतै बसौँ, हुन्न ?’
‘नाइँ !’
‘बाबा, आमा पनि यहीँ बस्नुहुन्छ नि । म बाबालाई भन्न लगाउँछु नि ।’
‘उहाँहरू मान्नुहुन्न होला ! अर्को साल पनि आउँछौँ नि ।’
पूजा र दुर्गाले सल्लाह गरे ‘हाम्रा बाबा र आमाहरूलाई मीत लगाउन भनौँ ।’
पूजा र दुर्गाले बाबाआमाहरूसँग कुरा राखे । दुवैतिरका आमा र बाबाहरू राजी भए । पूजा र दुर्गाले फूल, अक्षता तयार गरे । प्रकाशले माला ल्याए । दुवैतर्फका आमा र बाबाहरूले पालैसित टीका र माला लगाए । हजुरबा र हजुरआमाले आशीर्वाद दिए ।
महेन्द्रले अर्को दिनको योजना सुनाए ‘भोलि छायानाथ मन्दिर र जिल्ला सदरमुकाम गमगढीबजार जानुपर्छ ।’ यो कुराले दुर्गा र पूजा धेरै खुसी भए । रमण र सीताले मीत र मितिनीलाई काठमाडौँ आउन अनुरोध गरे ।
मार्पाक, धादिङ
हाल : मनमैजु, काठमाडौं।
Email : devraj.simkhada2@gmail.com


प्रतिक्रिया दिनुहोस्: