कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन अर्थात् यमपञ्चक हाम्रो घरआँगनमा आइसकेको छ । काग तिहारबाट सुरु भएर भाइटीकासम्म पाँच दिन मनाइने पर्व तिहार हो । कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरुहुने तिहार यस वर्ष कात्तिक २ गतेबाट सुरु भएर ६ गते भाइटीकाका दिन सकिने छ । यतिबेला घरघरमा लक्ष्मीको पूजा गर्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, झिलिमिली बत्ती बालेर रमाइलो गर्ने र दाजुभाइलाई तेल हाल्ने तथा टीका लगाउने यस पर्वका रमाइला पक्षहरू हुन् । तिहारको पर्वलाई दीपावली वा बत्तीको पर्व पनि भनिन्छ । हाम्रा पुराण र धर्मशास्त्रका अनुसार, यमराजले केही समय आफ्नो कामबाट विश्राम लिएर कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन बहिनी यमुना कहाँ गई बसेकोले यही समयमा यमपञ्चक अर्थात तिहार मनाउन थालिएको हो भन्ने भनाइ पनि छ ।
तिहारको पाँच दिन क्रमशः कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको रूपमा गाईको पूजा हुन्छ । लक्ष्मीपूजाको दिन नेवारी समुदायले आफ्ना शरीरको पूजा अर्थात् म्हः पूजा गर्छन् । यस दिन देउसीभैलो पनि खेलिन्छ । त्यसैगरी तिहारको चौथो दिन अर्थात् कार्तिकशुक्ल प्रतिपदाको दिनमा गोवद्र्धन पूजा गरिन्छ । यस दिन गोरुको पनि पूजा गरिन्छ । तिहारको अन्तिमदिन अर्थात् पाँचौं दिनमा भाइटीका गरिन्छ । यसरी तिहारका पाँचदिनमा पाँच किसिमका पूजाआजा र विभिन्न उत्सवहरू गरिन्छ । तिहारलाई सुन्दर, झिलिमिली र उज्यालो पर्वको रूपमा पनि लिइन्छ ।
कागले सबै प्रकारका सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा हामी पन्छीहरूको पूजा गर्छौं । कुकुरलाई स्वामीभक्त र इमानदार जन्तु मानिन्छ र घरपरिवार र हाम्रो सुरक्षा गरेबापत हामी कुकुरको पूजा गर्दछौँ । गाईको दूध, दही, मोही, नौनी, घ्यु, गहुँत आदिको सेवनबाट हुने फाइदाले परापूर्वकालदेखि नै गाईको पूजा गरिँदै आइएको छ । सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लक्ष्मीको पूजा गरिन्छ । गोरुले कृषि कर्म र अन्य व्यवसायमा पुर्याएको योगदानको कदरस्वरूप हामी गोरुको पूजा गर्दछौँ । भाइटीकाले दिदीबहिनी र दाजुभाइका बीच प्रेम, सद्भावना र निकट सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउँछ भन्ने विश्वास गरिन्छ । यस दिन दिदीबहिनीहरूले यमराज, सूर्य र अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने गर्दछन् । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्दै यमराजको आह्वान पनि गरिन्छ । दाजुभाइको जीवन बलियो, निरोगी, सुन्दर, दीर्घायु बनाउन भाइटीकाको पूजामा बिमिरो, ओखर, तिलको तेल, मखमलीको माला, दूबो, कटुस आदिको प्रयोग गरिन्छ । यी वस्तुहरूले दाजुभाइको जीवन बिमिरोजस्तै बलियो, ओखरजस्तै कडा, तेलजस्तै चिल्लो, मखमलीजस्तै ताजा, दूवोजस्तै मौलाइरहन रहोस् भन्ने कामना गरिन्छ ।
तिहार प्रकृतिको पूजा हो । मानवीय पूजा हो । जनावरको पूजा हो । पशुपन्छीको पूजा हो । जीवजन्तुको पूजा हो । आपसी प्रेम, सद्भाव र मायाममताको पूजा हो । तिहार हर्ष, उल्लास, मोजमस्ति र रमझमको प्रतीक हो, पूजा हो । समग्रमा सुख, शान्ति र आनन्दको पूजा हो । महान् पर्व हो, ठूलो चाड हो ।
शुभदीपावली, नेपाल संवत् (११४६), म्हपूजा, छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: